कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिस्टहरूसँग लड्नुपर्नेमा आफैँभित्र लडाइँ गर्दा थाकिसकेको बताएका छन्। ‘एक-आपसमा लड्दै छौँ, के देखाउन के बुझाउन हो? यो कुरालाई मनन गर्न जरुरी छ,’ आइतबार रुपन्देहीमा आयोजित कार्यक्रममा उनले भने, ‘हामी कांग्रेस बलियो छ भन्छौँ, यसरी बलियो हुँदैन, बलियो हुन एक ढिक्का भएर अगाडि बढ्न जरुरी छ।’
उनले एक्लै चुनाव लड्नका लागि जनताको तागत लिएर कांग्रेस अगाडि बढ्दै आएको चर्चा गरे। अब आपसमा लडाइँ बन्द गर्नुपर्ने उनले जोड दिए। एमाले, माओवादी, जसपाहरूसँग लड्नुपर्नेछ। यस्तोमा कांग्रेस एक-आपसमा लड्न नहुने उनले बताए। महाधिवेशन सकिएपछि महाधिवेशनका तिक्तताहरू पालेर बस्न नहुने पनि बताए। अब तिक्तता पालेर बसे कांग्रेस कमजोर हुने भन्दै तिक्तता त्यागेर कांग्रेसलाई थप बलियो बनाउन लाग्नुपर्नेमा उनले जोड दिए।
कांग्रेस नेता कोइरालाले मुलुक बनाउनका लागि युवाहरूमा सोच परिवर्तन र मुलुकमा सुशासन स्थापित गर्न जोड पनि दिए। ‘हामी नेपाली हौँ, नेपाल बनाउँछौँ भन्ने सोच युवामा हुनुपर्यो, यहाँबाट गएका युवाले कतार, दुबई, मलेसिया बनाए। हामी हाम्रै देश बनाउन किन सक्दैनौँ,’ कोइरालाले भने।
उनले राष्ट्रियता र लोकतन्त्रको पहरेदार कांग्रेस रहेको र जनतासँग जोडिएर काममा लाग्न कार्यकर्ताहरूलाई निर्देशन पनि दिए। ‘कांग्रेस कमजोर छैन, अरू पार्टीलाई सधैँ सिकाउँदै आएको छ,’ उनले भने।
कार्यक्रममा अर्का नेता बालकृष्ण खाणले कांग्रेसले सबैलाई समेटेर अगाडि बढ्दै आएको भन्दै कांग्रेसको विकल्प कांग्रेस नै रहेको बताए।