युरोपेली नेताहरू युक्रेनलाई समर्थन बढाउन तत्पर

आइतबार, १८ फागुन, २०८१
डिजिटल संस्करण
युरोपेली नेताहरू युक्रेनलाई समर्थन बढाउन तत्पर

बेलायती प्रधानमन्त्री केइर स्टार्मर (बायाँ) र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की (दायाँ)। तस्बिर : गेटी इमेजेज्

किभ र वासिङ्टनबिचको आश्चर्यजनक ‘झडप’पछि युक्रेनका लागि सुरक्षा सहयोग र समर्थन बढाउन खोज्दै संकट वार्ताका लागि आइतबार लन्डनमा एक दर्जनभन्दा बढी युरोपेली नेताहरू भेला हुँदै छन्।

युक्रेनका सहयोगीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको वार्तामा किभलाई कमजोर पार्न लागेको बढ्दो चिन्ताको सामना गर्न आफ्नो दृढ प्रतिबद्धतालाई जोड दिइरहेका छन्। ह्वाइट हाउसबाट निकालिएको भोलिपल्ट युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शनिबार डाउनिङ स्ट्रिटमा न्यानो स्वागत गरिएको थियो।

उनले क्यामेराको सामुन्ने बेलायती प्रधानमन्त्रीलाई दुईपटक अँगालो हाले र रुसको आक्रमणबाट तीन वर्षभन्दा बढी समयदेखि बचाउ गर्दै आएको रक्षा क्षमता बढाउन ऋण सुरक्षित गरे। ‘म युद्धको सुरुआतदेखि नै अत्यधिक समर्थनका लागि बेलायतका जनता र सरकारलाई धन्यवाद दिन्छु,’ जेलेन्स्कीले भने, ‘हामी यस्ता रणनीतिक साझेदारहरू पाएर र सबैका लागि सुरक्षित भविष्य कस्तो हुनुपर्छ भन्नेबारे एउटै दृष्टिकोण साझा गर्न पाउँदा खुसी छौँ।’

सुरक्षा शिखर सम्मेलनमा युरोपेली सहयोगीहरूको समूहमा सामेल हुनुअघि उनले आइतबार राजा चार्ल्स तृतीयलाई भेट गर्ने कार्यक्रम छ। यस बैठकले फ्रान्स, जर्मनी, डेनमार्क र इटालीका साथै टर्की, नाटो र युरोपेली संघ (इयू)लगायत महादेशीय युरोपका नेताहरूलाई एकसाथ ल्याउँदै छ।

बेलायती प्रधानमन्त्री केइर स्टार्मरले भने, ‘अब युक्रेनका लागि सर्वोत्तम परिणाम सुनिश्चित गर्न, युरोपेली सुरक्षाको रक्षा गर्न र हाम्रो सामूहिक भविष्य सुरक्षित गर्न एकजुट हुने समय हो।’ डाउनिङ स्ट्रिटले आइतबारको शिखर सम्मेलनले फेरि ‘स्थायी शान्ति प्रदान गर्ने बलियो स्थायी सम्झौताको’ आवश्यकतालाई जोड दिने र ‘बलियो सुरक्षा ग्यारेन्टीका लागि योजना बनाउने अर्को कदमहरू’बारे छलफल गर्ने बताएको छ।

संयुक्त राज्य अमेरिकाले नाटोलाई निरन्तर समर्थन गर्नेछ कि छैन भन्नेबारे चिन्ता बढ्दै गर्दा बेलायतमा हुने यो भेलाले युरोपेली रक्षा सहकार्य बढाउने आवश्यकतालाई पनि सम्बोधन गर्नेछ।

शनिबार जेलेन्स्कीको काफिला लन्डनमा पुग्दा समर्थकहरूको भिडले जयजयकार गरेको थियो। स्टार्मरले ७५ मिनेटको बन्द ढोका वार्ताअघि जेलेन्स्कीलाई भने, ‘तपाईंलाई यहाँ डाउनिङ स्ट्रिटमा धेरै धेरै स्वागत छ।’

उनीहरूले युक्रेनको रक्षा क्षमतालाई समर्थन गर्न दुई अर्ब २६ करोड पाउन्ड (दुई अर्ब ८४ करोड डलर) ऋण सम्झौताको पनि अनावरण गरे। यसलाई सार्वभौम रुसी सम्पत्तिको नाफाबाट फिर्ता तिर्नुपर्ने बताइएको छ। ‘यो रकम युक्रेनमा हतियार उत्पादन गर्न निर्देशित गरिनेछ,’ जेलेन्स्कीले भने, ‘यो साँचो न्याय हो–जसले युद्ध सुरु गर्यो उसले यसको मूल्य चुकाउनुपर्छ।’

लन्डनमा रहँदा उनले  ‘यस्ता रणनीतिक साझेदारहरू पाउन र सबैका लागि सुरक्षित भविष्य कस्तो हुनुपर्छ भन्ने समान दृष्टिकोण साझा गर्न पाउँदा खुसी भएको बताए। त्यसको केही घण्टाअघि मात्र जेलेन्स्कीलाई ह्वाइट हाउसमा ‘चिच्याएर’ बोल्न रोकिएको थियो।

ओभल अफिसमा क्यामेराहरू घुमिरहँदा ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रिसाएर जेलेन्स्कीलाई ‘कृतज्ञ’ नभएको र आफूहरूले प्रस्ताव गरेको युद्धविरामका सर्तहरू अस्वीकार गरेको आरोप लगाए। ट्रम्पले उनलाई कृतज्ञता नदेखाएको र तेस्रो विश्वयुद्धको सम्भावनामा जुवा खेलेको आरोपसमेत लगाए।

ट्रम्पले युक्रेनका लागि वासिङ्टनको वर्षौँदेखिको समर्थनमा अचानक परिवर्तन गरेर किभ र युरोपेली सहयोगीहरूलाई चिन्तित बनाएका छन्। हालै पदभार सम्हालेका रिपब्लिकन राष्ट्रपति ट्रम्पले आफूलाई पुटिन र जेलेन्स्कीबिचको मध्यस्थकर्ताका रूपमा प्रस्तुत गरेका छन् र पुटिनसँग सम्बन्ध सुधार गर्ने क्रममा किभ र युरोपलाई किनारा लगाएका छन्।

ओभल अफिसमा ट्रम्पले आफूले सार्वजनिक रूपमा रिपोर्ट गरिएकोभन्दा बढी पुटिनसँग ‘धेरै अवसरमा कुराकानी गरेको’ बताए। गत हप्ता वासिङ्टनमा स्टार्मरसँगको भेटपछि ट्रम्पले युक्रेनमा द्वन्द्व अन्त्य गर्ने सम्झौतामा ‘धेरै प्रगति’ भएको र वार्ता महत्त्वपूर्ण चरणमा रहेको बताएका थिए।

ह्वाइट हाउसको झगडापछि माफी माग्न अस्वीकार गरे पनि जेलेन्स्कीले ‘कठिन संवादका बाबजुद’ युक्रेन र संयुक्त राज्य अमेरिका ‘रणनीतिक साझेदार रहनेछन्’ भनी जोड दिँदै अझै पनि ट्रम्पले चाहेको युक्रेनको खनिज सम्पदामा सम्झौता गर्न तयार रहेको संकेत गरेका छन्। ‘तर, हामीले हाम्रा साझा लक्ष्यहरू साँच्चै बुझ्नका लागि एक–अर्कासँग इमानदार र प्रत्यक्ष हुन आवश्यक छ,’ युक्रेनी नेताले एक्समा लेखेका छन्।

सुझावित समाचार