दुध बेचेर मासिक एक लाख बचत

आइतबार, १८ फागुन, २०८१
डिजिटल संस्करण

०६७ सालमा बागलुङ नगरपालिका–५ मालिकाबाट तीनवटा भैँसी लिएर बागलुङ बजारको उपल्लाचौरस्थित आमबोट झरेका नन्दलाल सापकोटा अहिले ३५ भैँसी र सात गाईको मालिक छन् ।

बागलुङ– ४ उपल्लाचौर आमबोटमा केही आफ्नो र केही भाडाकाे गरी १५ रोपनी क्षेत्रफलमा ‘सापकोटा गाईभैँसी फार्म’ स्थापना गरेका उनी यो क्षेत्रकै सफल पशुपालक किसानमा चिनिँदै आएका छन् ।

निरन्तर पशुपालनमा लागेपछि एक दिन सफल भइन्छ भन्ने उदाहरण १४ वर्षदेखि व्यावसायिक पशुपालनमा लागेका सापकोटा बनेका छन् । बागलुङ बजारछेउमै रहेको गाईभैँसी फार्ममा अहिले दैनिक १६० लिटर दुध उत्पादन हुँदै आएको छ । सापकोटाले उत्पादन गरेको दुध आफैँ बजारीकरण गर्छन् ।

‘भारतको मेघालय क्षेत्रमा रोजगारीका लागि पुग्दा नेपालीले गाई पालेर दुध बिक्री गर्दै आएको देखेको थिएँ, त्यहीँबाट मैले गाईभैँसीपालनमा चासो दिएको थिएँ । ०६७ मा जन्मथलो मालिकाबाट तीनवटा भैँसी र एउटा गाई लिएर आमबोट आएपछि दुईवटा भैँसी थपेर फार्म स्थापना गरेँ, अहिले फार्मको पूर्वाधारसहित एक करोड लगानी पुगिसक्यो,’ उनले भने, ‘निरन्तर मिहिनेत र पशुपालन व्यवसायको अनुभवका कारण आज सफल भएको छु, अहिले पाँचजनालाई प्रत्यक्ष रोजगारी दिन सफल भएको छु ।’

व्यवसायी सापकोटाले गाई तथा भैँसीको खरिद–बिक्रीसमेत गर्दै आएका छन् । उनको फार्ममा ५२ सम्म गाईभैँसी भएको सुनाए । उनका दुईवटा ठुला गोठमा गाईभैँसी  छन् । दैनिक १६० लिटर दुध उत्पादनपश्चात् बजारीकरण गर्दै आएका सापकोटा मासिक पाँचदेखि ६ लाखसम्मको आम्दानी र मासिक एक लाखसम्म बचत गर्दै आएको बताउँछन् ।

पशुपालनमा आम्दानी भए पनि खर्च धेरै हुने उनको अनुभव छ । पशुपालनमा जोखिम बढी हुने भएकाले लामो अनुभव र प्राविधिक सहयोगले मात्र सफल भइने सापकोटाको भनाइ छ ।

उनले उत्पादन र निरन्तरताका आधारमा अनुदान दिँदा मात्र वास्तविक किसानले लाभ लिने बताए । उनले बागलुङ बजारसहित पर्वत र म्याग्दीबाट समेत दुधको माग आउने बताए । अहिले बजारमा दुधको मूल्य १२० रुपैयाँ प्रतिलिटर छ । उनी रोजगारीका सिलसिलामा १० वर्ष भारतको मेघालयमा समेत गएका थिए ।

सुझावित समाचार