तोरणलाई १२ वर्षपछि उपाधि

शनिबार, १७ फागुन, २०८१
डिजिटल संस्करण

सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत पाँचौँ प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि तोरणविक्रम शाहीले १२ वर्षपछि जितेका छन् । ५ अन्डर ६७ को स्कोरमा समग्रमा १८ अन्डर २७० सहित अत्यन्त रोमाञ्चक शैलीमा नीरज तामाङलाई तोरणले एक स्ट्रोकले हराए ।

उनले १२ वर्षपछि घरेलु टुरमा उपाधि जितेका हुन् । यसअघि सन् २०१३ मा यही प्रतियोगिताको उपाधि जितेका थिए । उनले नगद एक लाख ५० हजार प्राप्त गरे । उनको करिअरको यो तेस्रो उपाधि हो । च्याम्पियन तोरणले जत्तिकै ५ अन्डर ६७ स्कोर गरेका नीरज समग्रमा १७ अन्डर २७१ सहित दोस्रो भए । उनले नगद एक लाख प्राप्त गरे ।

नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले आज दिनकै उत्कृष्ट ७ अन्डर ६५ को स्कोर निकाले । समग्रमा १३ अन्डर २७५ सहित तेस्रो भए । यो स्कोरमा उनले एमेच्योरतर्फको उपाधि जिते । उनले राहुललाई ९ स्ट्रोकले हराए । समग्रमा ३ अन्डर ६९ स्कोर गर्दै समग्रमा ५ अन्डर २८३ सहित सञ्जय लामा चौथो भए । प्रोतर्फ तेस्रो हुँदै उनले ७५ हजार प्राप्त गरे । एमेच्योर राहुल समग्रमा पाँचौँ भए । उनले समग्रमा ४ अन्डर २८४ को स्कोर निकाले । एमेच्योरतर्फ उनी दोस्रो भए ।

दिनेश प्रजापति समग्रमा ३ अन्डर २८५ सहित छैटौँ भए । उनले आज इभन पार ७२ को स्कोर गरे । प्रोतर्फ चौथो भएका उनले ६३ हजार हात पारे । नेपाल नम्बर एक भुवन नगरकोटीले आज ३ ओभर ७५ खेल्दै समग्रमा १ अन्डर २८७ स्कोर गर्दै सातौँ भए । प्रोतर्फ पाँचौँ हुँदा ५३ हजार आफ्नो नाममा लेखाए ।

जयराम श्रेष्ठले आज बिर्सनलायक ८ ओभर ८० को स्कोर गर्दा समग्रमा ३ ओभर २९१ सहित समग्रमा आठौँ भए । प्रोतर्फ उनी छैटौँ हुँदा ४६ हजार नगर पुरस्कार प्राप्त गरे । 

See More On

सुझावित समाचार