कुनै वेला साँघुरो सडक र सडककै छेउमा फुसको छाप्रो, त्यसभित्र ससाना पसल मात्रै देखिने सिराहाको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित ग्रामीण बजारहरूको स्वरूप यतिवेला फेरिएको छ । सडक डिभिजन कार्यालय लहान सिराहाले सिराहा–सप्तरी–उदयपुरको ग्रामीण बस्तीका सडक निर्माणमा तदारुकता देखाएपछि गाउँहरू विकासको मूलधारमा जोडिन थालेका छन् ।
बजारको स्वरूप फेरिएसँगै त्यस क्षेत्रका स्थानीयमा पहिलाको भन्दा बेग्लै खालको उत्साहसमेत देखिन थालिएको छ । ‘पहिला बजार क्षेत्रमा साँघुरो सडक र फुसको छाप्रो, त्यहीँभित्र सानासाना व्यवयासी मात्र थियो,’ लक्ष्मीपुरपतारी गाउँपालिकाका श्याम यादव भन्छन्, ‘तर, अहिले सडक फराकिलोसँगै बजारमा ठुल्ठुला पक्की भवन र ठुला पसल खुल्न थालेका छन् ।’ कुनै वेला दुर्गम मानिने सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकास्थित विद्यापति मार्गअन्तर्गत पर्ने छपरारी–पोखरभिन्डा–खुर्कियाही सडक छेउका बस्ती सुगम क्षेत्र बनेका छन् ।
लक्ष्मीपुरपतारी गाउँपालिकालाई केही वर्षअघिसम्म दुर्गम क्षेत्रका रूपमा मानिन्थ्यो, तर अहिले ती क्षेत्रले आफ्नो पुरानो पहिचान फेरेको छ । यतिवेला लक्ष्मीपुरपतारी क्षेत्र मधेश प्रदेशकै पर्यटकीय क्षेत्रका रूपमा विकास हुन थालेको छ । यसको प्रमुख कारण हो पूर्व–पश्चिम राजमार्गसम्म जोडिएको विद्यापति मार्ग सडकको कालोपत्र । पूर्व–पश्चिम राजमार्गलाई जोड्ने उत्तर दक्षिण ग्रामीण ती सडक कालोपत्र भएसँगै लक्ष्मीपुर पतारी क्षेत्रका स्थानीयवासीको अनुहारमा यतिवेला मुस्कान छाएको छ ।
पूर्व–पश्चिम राजमार्गस्थित छपरारीदेखि भारतीय सिमानाका बहरीसम्मको उक्त सडक स्तरोन्नतिसँगै सडक डिभिजन कार्यालय लहान सिराहाले सडक कालोपत्र गरेपछि स्थानीयलाई आवतजावतमा सहज मात्रै होइन, हिलो र धुलोबाट मुक्त भएका छन् । ‘छपरारी बजारदेखि बडहरीसम्मको पुग्न पहिला मोटरसाइकलमा डेढ घण्टासम्म लाग्दथ्यो,’ पोखरभिन्डा गाउँका स्थानीय सन्तोष साह भन्छन्, ‘तर, सडक कालोपत्र भएपछि अहिले मुस्किलले १५ मिनेटमै पुगिन्छ ।’
सडक डिभिजन कार्यालय लहानले सिराहा, सप्तरी र उदयपुर जिल्लाका जीर्ण सडकको स्तरोन्नतिसँगै कालोपत्रको कार्य तीव्र रूपमा अघि बढेसँगै दुर्गम मानिएका ग्रामीण क्षेत्र अहिले सुगम क्षेत्र बन्दै गएको छ । सडकहरू निर्माण भएपछि विकासले गति लिनुका साथै हजारौँ युवाले स्थानीयस्तरमै रोजगारीको अवसर प्राप्त गरेका छन् । ‘पहिला पहिला सडक जीर्ण हुदाँ सवारीसाधन त्यति नचल्दा गाउँमा उत्पादन भएको तरकारी सहज रुपमा लहान बजारसम्म पुर्याउन समस्या हुन्थ्यो,’ लक्ष्मीपुर पतारीका श्रवण महतो भन्छन्, ‘तर, अहिले थुप्रै संख्यामा अटोरिक्साहरू चल्न थालेपछि ती बालीहरू बजार पुर्याउन सकिरहेका छौँ ।’ यसबाट किसानसमेत उत्साहित भएको उनको भनाइ छ ।
वर्षाैँदेखि जीर्ण रहेको सो सडक स्तरोन्नतिसँगै कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ । १८ करोड ७४ लाख ९९ हजार नौको लागतमा २०७९ असार २३ मा ठेक्का सम्झौता गरी काम सुरु गरेको सिद्धबाबा अम्भुजा जेभी काठमाडौंले सडक स्तरोन्नति तथा कालोपत्रको काम गरिरहेको छ ।
०८२ असारसम्ममा उक्त सडकको काम सकिने समयावधि रहे पनि हालसम्म ९४ प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीका प्रतिनिधि सबइन्जिनियर नरेशकुमार मण्डलको भनाइ छ । उनका अनुसार गाउँ क्षेत्रमा १२ मिटर चौडाइ र गाउँ बाहिर १० मिटर चौडाइ सडक स्तरोन्नति गरिहेको छ भने गाउँ क्षेत्रमा नालासमेत निर्माण गरिएको छ ।
निर्माणाधीन विद्यापति मार्गको निर्माण कार्य अन्तिम चरणमा रहेको डिभिजन सडक कार्यालय लहानका प्रमुख डिभिजनल इन्जिनियर आशुतोष कर्णले बताए । प्रावधिक रूपमा केही भेरियसन गर्नुपर्ने भएकाले सडकको बाँकी कार्य छिट्टै अगाडि बढाइने उनको कथन छ । यस्तै सप्तरीको सुरुंगा नगरपालिका– ७ कदमहा चोक हुँदै चकदह, प्रमाणपुर र वडा नं १० पटेर्वा चोकसम्म निर्माणाधीन सडकको काम पनि तीव्र रूपमा भइरहेको छ । कुल आठ किलोमिटर पाँच सय मिटर लामो सो सडकमा हालसम्म करिब पाँच किलोमिटर सडक कालोपत्र गर्ने चरणमा पुगेको डिभिजन सडक कार्यालय लहानले जनाएको छ ।
गौरी पार्वती के एन्ड केजी जेभीले २०८१ मंसिर १७ गतेसम्म काम सक्ने गरी २०७९ मंसिर १८ मा ठेक्का सम्झौता गरेकामा रकम सुनिश्चित नगरिँदा केही ढिलाइ भए पनि अहिले काम तीव्र रूपमा भइरहेको निर्माण कम्पनीका प्रतिनिधि इन्जिनियर भूपेन्द्र सिफैलया बताउँछन् । उनले थपिएको म्यादअघि नै काम सकिने गरी निर्माणको काम अघि बढेको बताए ।
बलान नदीको छेउबाट निर्माण भइरहेको सो सडकले आवागमनमा सहजता मात्र नभई बलान नदीले बर्सेनि गर्दै आएको कटान र डुबानको समस्यासमेत समाधान हुने स्थानीयको बुझाइ छ । ‘हाम्रा लागि यो बाटो अत्यन्तै महत्त्वपूर्ण र बरदान नै बनेको छ,’ बैरवनका स्थानीय जिवछ यादव भन्छन्, ‘सडक निर्माण भएपछि गाडी गुडाउन पनि सहज हुन्छ र वर्षायाम बलान नदीले गर्ने कटान र डुबानबाटसमेत बचाउँछ, यो हाम्रा लागि ठुलो उपलब्धि हो,’ उनले भने । कुल २७ करोड आठ लाख १६ हजारको लागतमा निर्माण भइरहेको यस सडकको भौतिक प्रगति ३३ प्रतिशत रहेको निर्माण कम्पनीका प्रतिनिधि विश्व सुवेदीको भनाइ छ ।
यस्तै, उदयपुरको पुरानो सडकसँग सप्तरी लोकमार्ग दूरी छोट्याउन ०२५ सालमा ट्रयाक खोलिएको मोतीगढा–जोगीदहखण्ड निर्माणको कामले पनि तीव्रता पाएको छ । करिब १२ किलोमिटरको सो सडकलाई पनि कालोपत्र गर्ने गरी काम अघि बढेको डिभिजन सडक कार्यालय लहानका प्रमुख कर्ण बताउँछन् । कर्णका अनुसार नेपाल सरकारको निर्वाचन क्षेत्र रणनीतिक सडक योजनाअन्तर्गत संघीय संसद्को एउटा निर्वाचन क्षेत्रमा कम्तीमा २५ र बढीमा ४० करोड रुपैयाँसम्मको लागतमा सडकहरू निर्माण भइरहेका छन् ।
ती योजनाअन्तर्गत उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने सदरमुकाम गाईघाट जोड्ने जिल्लाकै पुरानो सडक मोतीगढा–जोगीदह खण्डमा कालोपत्र गर्न लागिएको छ । दुई लेनको सडक कालोपत्र गर्नेगरी रु. २८ करोड ४३ लाख ४६ हजारमा ठेक्का सम्झौता गरी धमाधम काम गरिरहेको छ । आवश्यक पर्ने रकम सुनिश्चित नगरिँदा त्रियुगा नगरपालिका वडा नं. १, २ र ३ तथा चौदण्डीगढी नगरपालिका १०, ९, २, ५ को सुन्दरपुर हुँदै सप्तरीको फत्तेपुर जोड्ने ३० किलोमिटर सडकअन्तर्गत मोतीगढा–जोगीदह–रुपनीसम्मको करिब १२ किलोमिटरको सडक आव ०८१/८२ को अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य पूरा हुन नसकेको निर्माण व्यवसायी मनिकुमार दाहालले बताए । उक्त सडकलाई दुई लेनको बनाएर कालोपत्र गर्ने गरी अघिल्लो आवमा आर्थिक वर्ष काम वर्ष सुरु गरेको थियो ।
डिभिजन सडक कार्यालय लहानका इन्जिनियर सञ्जीव साहका अनुसार सडक स्तरोन्नतिसँगै चौडा पार्ने र दायाँबायाँ नाली निर्माण, ठुला–साना गरी २२ वटा कल्भर्ट निर्माण सम्पन्न भई नाला निर्माण गर्नेलगायत काम भइरहेको छ । करिब २५ करोडभन्दा बढी लागत अनुमान रहेको सो योजनामा सरकारले चालू आवमा अढाई करोड मात्र बजेट उपलब्ध गराएको छ । रासस