संखुवासभाको खाँदबारी नगरपालिका– ४ सेकाहामा रहेको मकालु बरुण बौद्ध गुम्बाले विश्वशान्तिकाे कामना गर्दै विश्वशान्ति पूजाको आयोजना गरेको छ । ‘हाम्रो चाहना, विश्वशान्तिको कामना, विश्वमा घटिरहेको हत्या, हिंसा, प्राकृतिक प्रकोप र आतंक, विद्रोहजस्ता विभिन्न दु:खहरूको अन्त्य भई विश्वमा शान्ति फैलियोस्, असहज परिस्थिति अन्त्य भई दिगो शान्ति स्थापना होस्’ भन्ने मूल नारासहित पूजाको आयोजना गरिएको हो ।
बिहीबार एक समारोहबिच विश्वशान्ति पूजाको औपचारिक रूपमा खाँदबारी नगरपालिकाका कार्यवाहक मेयर देवबहादुर मगरले पूजाको बत्ती बालेर उद्घाटन गरे। उनले समाजमा घटिरहेका नकारात्मक कुराहरूको अन्त्य गरी सकारात्मक सोच विचार आउने गरी मानिसहरूको मानसिक धारणा परिवर्तन हुन सकोस् भन्ने कामना गरिएको बताए । बुद्वको जस्तै शान्त रहने, सत्य बोल्ने र कुविचार हराउने यो पूजाबाट प्रेरणा मिलोस् भनी पूजाको सफलताको शुभकामना दिए ।
विश्वमा भइरहेको हत्याहिंसा र कुकर्महरूको अन्त्य भई शान्ति छाओस् भन्ने कामनासहित विश्वशान्तिको कामना गर्दै पूजाको आयोजना गरिएको मकालु बरुण बौद्ध गुम्बाका अध्यक्ष तेजबहादुर गुरुङले बताए । उनले यो पूजाले गाउँघरमा शान्ति छाउने र नकारात्मक कुविचारहरू हराएर जाने उद्देश्यका साथ आयोजना गरिएको बताए ।
बिहीबारदेखि सुरु भइ आउने सोमबारसम्म पाँच दिन दैनिक पूजापाठ हुनेछ । उक्त पूजामा विनोद लामालगायत १६ जना लामा गुरुहरूले पाठ र मन्त्रोचरण गर्नेछन् भने प्रमुख गोपाल लामा गुरु शनिबार गुम्बामा आइपुग्ने जनाइएको छ । उक्त पूजामा विशेषगरी बौद्ध धर्मको पवित्र ग्रन्थ प्रज्ञा, पारमिता, हुयमपति पाठ वाचन, मृत आत्माहरूको चिरशान्तिका लागि बृहत् च्योदधुर पूजा हुने गुम्बाका मकालु बरुण बौद्ध गुम्बाका अध्यक्ष गुरुङले बताए । गुम्बामा दैनिक बिहान ७ बजेदेखि बेलुकी पाँच बजेसम्म पूजापाठ हुने जनाएको छ ।
यो क्षेत्रमा बौद्धमार्गीहरूको बाहुल्य भएकाले गुम्बा बनाउने र पूजापाठ लगाउने प्रचलन छ । यस गुम्बाले ०६८ सालमा पनि पाँचदिने विश्वशान्ति पूजाको आयोजना गरेको थियो ।