रुसी र अमेरिकी अधिकारीहरूबिच बिहीबार इस्तानबुलमा भेटवार्ता भएको छ। दुई देशबिचको सम्बन्ध पुनर्स्थापना गर्ने उद्देश्यका साथ दूतावासको समस्या समाधानका लागि वार्ता भएको रुसी सञ्चारमाध्यमले जनाएका छन्।
युक्रेनमा रुसी आक्रमण सुरु भएयता दुई आणविक शक्ति सम्पन्न मुलुक रुस र अमेरिकाबिच यसै महिना भएको पहिलो उच्चस्तरीय बैठकपछि अमेरिकी महावाणिज्यदूतको निवासमा वार्ता भएको हो।
वार्तामा दुवै पक्षको कूटनीतिज्ञको सहभागिता भएको बताइए पनि सहभागीको परिचय दिइएको छैन। रुसको सरकारी तास एजेन्सीले रुसी प्रतिनिधिमण्डलमा ‘विदेश मन्त्रालयका प्रतिनिधि’ रहेको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना सत्तामा आएदेखि नै मस्कोसँगको सम्बन्धलाई पुनर्स्थापित गर्ने प्रयास गरेका छन्। उनले रुसी समकक्षी भ्लादिमिर पुटिनलगायत क्रेमलिनका अधिकारीहरूसँग तीन वर्षमा पहिलोपटक उच्चस्तरीय वार्ता सुरु गर्ने पहल थालेका हुन्।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबिच फेब्रुअरी १८ मा साउदी अरबको राजधानी रियादमा भेटवार्ता भएको थियो। मस्कोले तीन वर्षअघि आफ्नो छिमेकीमाथि गरेको सैन्य आक्रमणको निन्दा हुन नदिन संयुक्त राष्ट्रसंघमा सोमबार भएको मतदानमा संयुक्त राज्य अमेरिकाले दुईपटक रुसको पक्ष लिएको थियो।
इस्तानबुलमा भएको वार्ताको उद्देश्य पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनका क्रममा दूतावासका कर्मचारीलाई एकअर्काबाट निष्कासन गरेपछि आफ्ना कूटनीतिक नियोगको कामलाई सामान्य बनाउने हो।
नेटो सदस्य टर्कीले युक्रेनमा शत्रुता अन्त्य गर्न वार्तामा भूमिका खेल्न चाहेको छ। टर्कीले सन् २०२२ मार्चमा मस्को र किभबिच दुईपटक प्रत्यक्ष वार्ताको आयोजना गरेको थियो।