मगर समुदायको बाहुल्य रहेको पाल्पामा आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । मगर जातिको पहिचान, भाषा–संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ-संस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेका हुन् ।
नेपाल मगर संघको स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइने गरिन्छ । आदिवासी जनजाति समुदायअन्तर्गत रहेका देशैभरका मगर समूह, संघ–संस्थाले यो दिवस मनाउँदै छन् । मगरहरूको सांगठनिक पर्वका रूपमा यो दिवसलाई लिने गरिन्छ । जिल्लाका विभिन्न स्थानमा आज भव्य सांस्कृतिक झाँकी प्रदर्शनसहितका सांस्कृतिक कार्यक्रम हुँदै छन् ।
नेपाल मगर संघ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गर्दै छन् । आज जिल्लाको रामपुर माथागढी, तिनाउ, निस्दीलगायतका स्थानमा भव्य सांस्कृतिक कार्यक्रम हुँदै छन् । यहाँका १० वटै स्थानीय तहले आज सार्वजनिक बिदासमेत दिएका छन् ।
जिल्लामा ५४ प्रतिशतभन्दा धेरै मगरको बसोबास रहेको छ । ०३९ फागुन १५ गते नेपाल लांघली परिवार संघको प्रथम अधिवेशन सम्पन्न भएको सम्झनामा मगर समुदायले मगर दिवसको रूपमा मनाउन सुरु गरेका हुन् । मगर स्थापना दिवसको अवसरमा सबै जिल्लाको जिल्ला मगर संघ, नगर र गाउँपालिकास्तरीय मगर संघसँगै विदेशमा रहेका मगरसँग आबद्ध संघ–संस्थाले मगर स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने नेपाल मगर संघले जनाएको छ ।
पाल्पामा मगरी कला, संस्कृति निकै लोकप्रिय रहेका छन् । यहाँको मगरी कलासंस्कृति झार्मे, सालेजो, कौडा, मारुनी, ठुलो नाच, झ्याउरे संस्कृतिमा मगरसहित सबै समुदाय रमाउने गरेका छन् । पाल्पाका सबै स्थानीय तहदेखि वडा-वडा टोल–टोलमा समेत मगर एकता दिवस भव्यताका साथ मनाउने नेपाल मगर संघ पाल्पाकी अध्यक्ष शान्ति झेडी थापाले जानकारी दिइन् ।
नेपाल मगर संघ केन्द्रीय समितिको मातहतमा अहिले सातवटै प्रदेशमा प्रदेश समिति, ७७ जिल्लामध्ये ६८ जिल्लामा जिल्ला समिति, ७५३ स्थानीय तहमध्ये ५३० गाउँपालिका/नगरपालिकामा स्थानीय तहमा समिति गठन भइसकेको छ ।
अहिले नेपाल मगर संघमा विभिन्न क्षेत्रगत, पेसागत र थरगत संस्था आबद्ध भई क्रियाशील भइरहेका छन् । संघले मगरलाई गोलबन्द गर्नका लागि जहाँ मगर त्यहाँ मगर संघ, जहाँ मगर संघ त्यहाँ मगरात स्वायत्तता भन्ने सांगठनिक नारा बनाएर सांगठनिक अभियान बनाएर अगाडि बढाएको छ ।