के गंगाले आफूलाई आफैँले शुद्ध बनाउँछ ?

बिहिबार, १५ फागुन, २०८१
डिजिटल संस्करण
  • ब्याक्टेरियालाई मार्ने ब्याक्टेरियोफेज भाइरसको उपस्थिति गंगाको कुनै चमत्कारी गुण नभई बरु ब्याक्टेरियल प्रदूषणको लक्षण हो

सन् १८९६ मा बेलायती जीवाणु वैज्ञानिक अर्नेस्ट ह्यांकिनले गंगा किनारमा स्थानीयले माटोका भाँडामा पानी भर्दै गरेको देख्थे । यो दृश्य देखेर उनले हैजाको महामारी नफैलियोस् भन्ने कामना गरेका थिए । यसका लागि अनुसन्धान गर्दै जाँदा उनले गंगाको पानीले केही घण्टामा हैजाका जीवाणु नष्ट गरेको अद्भूत तथ्य पत्ता लगाएका थिए । तर, गंगाको पानी नमिसाइएका पानीका स्रोतमा हैजाका जीवाणु फस्टाउँथे । उत्सुक भई ह्यांकिनले पानीलाई छान्ने र तताउने परीक्षण गरे र कुनै अदृश्य जैविक तत्व रहेको अनुमान लगाए । गंगाले आफूलाई शुद्ध राख्न सक्ने क्षमताले परम्परागत धारणालाई चुनौती दिएको थियो । पर्याप्त प्रमाण हुँदाहुँदै पनि यो अवधारणालाई गंगाको धार्मिक मान्यता मात्र ठानियो । तीन दशकपछि मात्र यो खोजलाई ब्याक्टेरियोफेज अर्थात् ब्याक्टेरियालाई मात्र नष्ट गर्ने भाइरसका रूपमा मान्यता दिइयो । २१औँ शताब्दीमा आधुनिक अनुसन्धानले ह्यांकिनको त्यसवेलाको आशंकालाई पुष्टि गर्यो । 

हालैका अध्ययनले हरिद्वारदेखि वाराणसीसम्मका गंगाको पानीका नमुनामा ब्याक्टेरियोफेजको उपस्थिति पाएका छन् । यी अध्ययनमा पानीजन्य रोगका सामान्य रोगाणुलाई लक्षित गर्ने ब्याक्टेरियोफेज असाधारण रूपमा धेरै मात्रामा पाइएका छन् । केही वैज्ञानिकले त घातक एन्टिबायोटिक–प्रतिरोधी ब्याक्टेरियालाई निष्क्रिय पार्न ब्याक्टेरियोफेजकै संकलन गरेका थिए । जब फेज थेरापी (ब्याक्टेरियोफेजको प्रयोग गरेर रोग निको पार्ने विधि) पहिलोपटक पत्ता लगाइयो, गंगालाई एक खोज नगरिएको भण्डारका रूपमा देखेर अनुसन्धानकर्ता उत्साहित भए । तर, पानीमा ब्याक्टेरियोफेज तब मात्र हुन्छन्, जब तिनले सिकार गर्ने गरी ब्याक्टेरिया प्रचुर मात्रामा उपलब्ध हुन्छन्, अर्थात् ब्याक्टेरियोफेज ब्याक्टेरियाविना अस्तित्वमा रहँदैनन् । सरल भाषामा भन्नुपर्दा ब्याक्टेरियालाई मार्ने यी भाइरसको उपस्थिति गंगाको कुनै चमत्कारी गुण नभई बरु ब्याक्टेरियल प्रदूषणको लक्षण हो । यसबाहेक गंगाको जीवाणुरोधी विशेषता केवल ब्याक्टेरियोफेजकै कारण मात्र नभई यसको विशेष भूरासायनिक गुणमा पनि आधारित छ ।

हिमालयका ढलान र गंगा नदी तथा यसका सहायक नदीमा एक अदृश्य प्रक्रिया निरन्तर चलिरहन्छ । यसलाई पहिलोपटक नोबेल पुरस्कार विजेता ह्यारोल्ड उरीले व्याख्या गरेका थिए । उनले एउटा सरल लाग्ने समीकरण प्रस्तुत गरेका थिए, जहाँ कार्बनडाइअक्साइड क्याल्सियमयुक्त सिलिकेट चट्टानसँग प्रतिक्रिया गरेर चुनढुंगा बनाउँछ र सिलिकेट छुट्टिन्छ । यो प्रतिक्रियाले भूगर्भीय समयक्रममा पृथ्वीको तापमान नियन्त्रण गर्ने यन्त्र (प्लानेटरी थर्मोस्ट्याट)जस्तै काम गर्छ । यस प्रक्रियाले वातावरणबाट कार्बनडाइअक्साइड हटाएर समुद्रको पिँधमा थन्क्याउँछ । ‘गहिरो स्थानमा कार्बन गाड्ने प्रक्रिया’ भनिने यस थन्क्याइले कार्बनलाई वातावरणमा पुनः फर्किनबाट रोक्छ, जसले वायुमण्डलीय कार्बनडाइअक्साइडको स्तर र विश्व तापमान वृद्धि नियन्त्रण गर्न मद्दत गर्छ ।

यो प्रक्रिया हिमालयमा सबैभन्दा स्पष्ट देखिन्छ, किनभने यसका युवा अवस्थाका र छिटो क्षयीकरण हुने चट्टानका सतहले रासायनिक क्षय (केमिकल वेदरिङ) लाई उपयुक्त वातावरण प्रदान गर्छ । वातावरणमा रहेको कार्बनडाइअक्साइडका कारण थोरै अम्लीय बनेको वर्षाले हिमालयका पाखा माझ्छ र चट्टानका कण गंगा नदी हुँदै अन्ततः बंगालको खाडीका गहिरा क्षेत्रमा पुग्छ । त्यहाँ कार्बन खनिजमा परिणत भएर दीर्घकालीन रूपमा भण्डारण हुन्छ । यो एक विशाल र सुस्त गतिमा चल्ने चक्रको हिस्सा हो, जसले करोडौँ वर्षदेखि पृथ्वीको तापमान नियन्त्रण गर्दै आएको छ ।

सिद्धान्ततः यस प्रक्रियाले जलवायुलाई स्थिर बनाउने काम गर्छ र बंगालको खाडीमा मात्र स्थलीय जैविक कार्बनको २० प्रतिशत समुद्री पिंधमा पुग्छ । तर, यस प्रक्रियालाई प्रदूषण, वनविनाश, अव्यवस्थित सहरीकरण र बाँधले अवरोध पार्न सक्छ । गंगाको भूपरिवेश एकदम जटिल छ । यसको रासायनिक संरचना हिमालयका चट्टान र थिग्रोद्वारा निर्धारण हुन्छ । उच्च पहाडमा क्याल्सियम, म्याग्निसियम र बाइकार्बोनेट बढी हुने मानिन्छ, जसले कार्बोनेट क्षयको संकेत गर्छ । तर, नदी तलतिर झर्दा सोडियम, पोटासियम र अत्यधिक बाइकार्बोनेटको मात्रा बढी हुन्छ, त्यसमाथि क्षारीय माटो एवं भूजलले सिलिकेटको क्षय गराउँछ । प्रत्येक नदीको माटो र थिग्रो अद्वितीय हुन्छन् र तिनले विभिन्न सिलिकेट–समृद्ध खनिजलाई समेट्छन् । यी खनिजले ब्याक्टेरियाको वृद्धि रोक्छन्, अर्थात् ती मारिन्छन् वा तिनको पुनरुत्पादन घट्छ । नदीको मार्गमा यसले विभिन्न सिलिकेट एकाग्रता उत्पन्न गर्छ । र, एकाग्रता जति बढी हुन्छ, ब्याक्टेरियाको गणना त्यति नै कम हुन्छ ।

सन् २०२४ को अध्ययनले गंगामा घुल्ने सिलिकन (डिएसआई) र सिलिकन आइसोटोप नदीमा जम्मा हुन्छन्, तर तिनको प्रभाव समथर र मैदानी भूमिमा घट्छ । हिमाली क्षेत्रमा केही सिलिकेट फलामको अक्साइड र कार्बोनेटसँग मात्रै जोडिएको हुन्छ । जब गंगा गोमतीसँग मिल्छ, त्यहाँ थप सिलिकन र अन्य पत्थर थपिन्छन् । यसक्रममा सिलिकेट एकाग्रता अधिकतम स्तरमा पुग्छ । जब मलमूत्र नदीमा मिल्काइन्छ, कृषि र उद्योग प्रदूषण बढ्छ र यी सिलिकेटसँग जोडिन्छन् । जब सिलिकेट मध्य गंगामा पुग्छन्, तब यी पूर्ण रूपमा छरिन्छन् । अधिकांश सिलिकेट जैविक अणु अर्थात् ब्याक्टेरिया वा मलसँग जोडिन्छ । यो स्थिति औद्योगिक कालभन्दा पहिले थिएन । सहर र उद्योगको वृद्धिसँगै गंगाको सिलिकेट क्षमता घटेको छ । यिनले कार्बनडाइअक्साइड सोस्नुको सट्टा अब मानवीय फोहोरलाई सोसिरहेको छ ।

गंगा नदी अब पहिलेझैँ आफैँलाई शुद्ध गर्न सक्दैन । यसमा रहेका सिलिकेट घटेका छन् र ब्याक्टेरियोफेज पनि मन्द हुँदै गएका छन् र मानवीय फोहोर अत्यधिक बढेको छ । नदीलाई पुनः स्थापित गर्नु केवल वातावरणीय संरक्षण मात्र नभई यो निरन्तर कार्बन सोस्ने इन्जिनलाई उपेक्षाबाट बचाउन पनि महत्वपूर्ण छ ।

(लाल प्राकृतिक इतिहास विधामा कलम चलाउने बायोकेमिस्ट हुन्) 
द प्रिन्टबाट 

 

सुझावित समाचार