खडेरीले सुक्न थाले हिउँदे बाली

बिहिबार, १५ फागुन, २०८१
डिजिटल संस्करण
  • जाजरकोटको कुल कृषियोग्य जमिनमध्ये ४९ प्रतिशतमा मात्रै सिँचाइ सुविधा
  • कुल १६ हजार ६ सय ९८ हेक्टर खेतीयोग्य जमिनमध्ये आठ हजार पाँच सय २४ हेक्टर अझै पनि सिँचाइ सुविधाबाहिर 

फागुन पहिलो साता बितिसक्दा पनि पानी नपरेपछि खेतबारीको तरकारी र गहुँबाली सुक्न थालेको छ । लामो खडेरीका कारण जिल्लाका धेरै पानीका मुहान सुक्न थालेका छन् भने डढेलोले वन–जंगल पनि उजाड देखिएका छन् ।  

हिउँदमा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौलगायत हिउँदे बालीको पनि उत्पादनमा समस्या भएको किसानको गुनासो छ । हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदे बाली खेतबारीमै सुक्न थालेको छेडागाड नगरपालिका– १ का लालबहादुर बुढाले बताए । ‘वर्षा र हिमपात नभएपछि सिँचाइको अभावले गहुँ, जौलगायतका हिउँदे बाली खेतमा सुकेका छन् । अहिले खडेरी परेको छ, बारीमा गहुँ सुकिसक्यो, यस्तै भए भोकमरीले मरिने भयो ।’

अहिले किसानका बारीमा गहुँ पाक्ने समय भएको छ । तर, तरकारी र फलफूलका बिरुवा मर्न थाले । हिउँदमा पनि हिमशृंखलामा काला पत्थर देखिन थालेका छन् । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्ष परेको स्थानीयवासीको चिन्ता छ । 

जाजरकोटमा कृषियोग्य जमिन २५ हजार तीन सय ८४ हेक्टर छ । यसमध्ये ६५.७८ प्रतिशत अर्थात् १६ हजार ६ सय ९८ हेक्टर जमिनमा खेती गरिएको छ । तथापि, खडेरी तथा सिँचाइको अभावका कारण जिल्लामा खाद्य संकट गहिरिँदै गएको छ । कृषि उत्पादनतर्फ जाजरकोटमा गहुँ, मकै, जौ, फापर गरी कुल ७२ हजार ७७ मेट्रिकटन अन्नबाली उत्पादन भएको छ । तर, जिल्लामा खाद्य अभाव चार हजार दुई सय ३९ मेट्रिकटन पुगेको छ । 

सरकारले बर्सेनि सिँचाइका योजना ल्याए पनि किसान भने आवश्यक समयमा पानी नपाउँदा खडेरीको चपेटामा परेका छन् । कृषियोग्य जमिनमध्ये ४८.९५ प्रतिशत अर्थात् आठ हजार एक सय ७४ हेक्टरमा मात्र सिँचाइ सुविधा उपलब्ध रहेको कृषि विकास कार्यालय, जाजरकोटको भनाइ छ । यसमध्ये वर्षभर सिँचाइ हुने जमिन ६३.५३ प्रतिशत मात्र छ भने बाँकी ३६.४७ प्रतिशतमा आंशिक मात्र सिँचाइको सुविधा पुगेको छ । कुल १६ हजार ६ सय ९८ हेक्टर खेतीयोग्य जमिनमध्ये आठ हजार पाँच सय २४ हेक्टर जमिन अझै पनि सिँचाइ सुविधाबाहिर छ ।

कुशे गाउँपालिका– ५ का किसान शिवराज थापाले सरकारले सिँचाइका लागि बजेट छुटाउने गरे पनि व्यावहारिक रूपमा खेतमा पानी नपुग्ने बताए । उनले भने, ‘फलस्वरूप, हाम्रा बालीनाली सुक्दै जान्छन् ।’ अर्का किसान रमेश विक पनि भन्छन्, ‘हामीले लगाएको बाली खडेरीका कारण समयमै विकास हुन सकेको छैन । यसले खाद्य संकटलाई झन् गम्भीर बनाउनेछ ।’ वर्षा नहुँदा किसानको जीविका नै संकटमा परेको र खेत बाँझै छाड्नुपर्ने अवस्था आउन थालेको उनको गुनासो छ । उनले भने, ‘सरकारको योजना राम्रो सुनिन्छ, तर कार्यान्वयन कमजोर छ ।’

जुनीचाँदे गाउँपालिका– ११ का स्थानीय किसान खड्गबहादुर शाही भन्छन्, ‘राज्यले अहिलेसम्म हामीलाई हेरेको छैन । नेताहरू सिँचाइका लागि कुरा गर्दा आश्वासन मात्र दिन्छन् । गाउँमा आएका केही बजेट कमिसनका भरमा सकिन्छ । गुणस्तरीय काम हुँदैन । हामीले रोपेको बाली खडेरीले सुक्यो । अब खानका लागि भारत जानुपर्ने अवस्था आउँदै छ ।’

सिँचाइको अभावले उत्पादन घट्नुका साथै रोग–किरा लाग्ने समस्यासमेत देखापरेको छ । गत आर्थिक वर्षमा गएको भूकम्पका कारण जिल्लाको उत्पादनमा गिरावट आएको कृषि कार्यालय प्रमुख नारायण सापकोटाले बताए । उनले भने, ‘हामीले जिल्लामा सिँचाइको सुविधा विस्तार गर्ने प्रयास गरिरहेका छौँ, तर अझै धेरै काम गर्न बाँकी छ ।’

सूचना अधिकारी नवीनराज आचार्यका अनुसार गत आर्थिक वर्ष खाद्य संकट केही कम भए पनि ०८१/८२ मा खाद्य संकट थप गहिरिएको छ । स्थानीय किसानको समस्या झन् जटिल हुँदै गएको छ ।

जिल्लामा गहुँ १० हजार तीन सय ७० हेक्टर, जौ सात सय हेक्टर, तोरी पाँच सय हेक्टर, मसुरो ६ सय २० हेक्टर क्षेत्रफलमा खेती गरिएको सूचना अधिकारी आचार्यले बताए ।  कृषि प्राविधिक जगत बानियाँका अनुसार जाजरकोट क्षेत्रमा असोज महिनापछि राम्रो वर्षा भएको छैन । 

सुझावित समाचार