पूर्वी पहाडी जिल्ला संखुवासभाको मकालु गाउँपालिकाको आयोजनामा हुन लागेको मकालु महोत्सव तथा दक्षिण एसियाली साहित्यिक सम्मेलन आजदेखि सुरु हुँदै छ ।
मकालु हिमाल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा मकालु महोत्सव तथा मकालु प्लाटिनम जुब्ली र दक्षिण एसियाली साहित्यिक सम्मेलनको आयोजना गर्न लागिएको हो ।
१७ फागुनसम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दीछिरिङ शेर्पाले बताए । अध्यक्ष शेर्पाले आन्तरिक तथा बाह्य पर्यटकको वृद्धिका लागि महोत्सवको आयोजना गरिएको बताए ।
‘गत वर्षदेखि मकालु गाउँपालिकाले मकालु महोत्सवको आयोजना गर्दै आएको छ,’ उनले भने, ‘गत वर्ष सञ्चालन गरिएको महोत्सव तथा प्रचारप्रसारका कारण मकालु हिमाल आरोहण गर्नेको संख्या पनि बढेको छ ।
अघिल्ला आर्थिक वर्षहरूमा एक करोड राजस्व संकलन हुन मुस्किल थियो, तर मकालु महोत्सवकै प्रभावले गत आर्थिक वर्षमा करिब एक करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो वर्ष दुई करोड राजस्व संकलन गर्ने लक्ष्य छ ।’