ढिलो भइसक्यो अति धनीहरूमाथि सम्पत्ति कर लगाउन

अभिजात वर्गको बढ्दो राजनीतिक पकडमाथि अंकुश लगाउने विभिन्न उपायमध्ये सरल माध्यम हो, सम्पत्ति कर

बुधबार, १४ फागुन, २०८१
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको पुनरागमन केहीलाई अझै सपनाजस्तो लागेको हुन सक्छ । तर, यो वास्तविकता हो । उनी र उनका ‘ब्रोलिगार्क (कुलिन दाजुभाइ)’ ले विश्वभर ल्याउने खतरा झन् वास्तविक हो । गत महिना ट्रम्पले उनका अर्बपति दाजुभाइलाई साक्षी राखेर अमेरिकाको ४७औँ राष्ट्रपतिको शपथ लिएका थिए । जबकि, उनका राजनीतिक समर्थक भने शपथ ग्रहण समारोह भएको भवनबाहिर खुला ठाउँमा चिसोले कामिरहेका थिए । यही एक दृश्यले मात्रै पनि राष्ट्रपतिका रूपमा ट्रम्पका लागि कसले महत्व राख्छ भन्ने कुराको संकेत गर्छ । शपथ ग्रहण समारोहमा ट्रम्पका नजिक थिए, विश्वका सबैभन्दा धनी तीन व्यक्तिहरू– इलन मस्क, जेफ बेजोस र मार्क जुकरबर्ग । तीमध्ये पनि मस्क ट्रम्पसँग निकै नजिक छन् । उनले ट्रम्पलाई जिताउन व्यक्तिगत रूपमा २७ करोड ७० लाख डलर खर्च गरेका थिए । यो लगानी मस्कका लागि फलदायी साबित भएको छ, किनकि ट्रम्पको जितयता उनको सम्पत्ति १७० अर्ब डलरले बढोत्तरी भइसक्यो ।

भनाइ नै छ, पैसा भनेको बल हो । अहिले विश्वमञ्चमा यही भनाइ चरितार्थ भइरहेको छ । सबैलाई थाहा भएकै कुरा हो कि ट्रम्पलाई जिताउन मस्कले खेलेको भूमिकाका कारण उनलाई सरकारी दक्षता हेर्ने नयाँ विभाग वा छोटकरीमा डोजको नेतृत्व दिइएको छ । (मस्कले विगतमा यही नामको क्रिप्टोकरेन्सी प्रवद्र्धन गरेका थिए ।) सम्पन्न परिवारमा जन्मे हुर्किएका मस्क अहिले राष्ट्रपति ट्रम्पलाई अमेरिकाले कसरी नगद जोगाउने भन्नेबारे सल्लाह दिइरहेका छन् । ट्रम्पको सल्लाहकार समूहमा अधिकारीका रूपमा अरू पनि एक दर्जन अर्बपति छन् । ट्रम्प यसरी अर्बपतिबाट घेरिँदा विश्व भने अति धनी र बाँकी जनसंख्याबिच बढ्दो खाडलको सामना गरिरहेको छ । सम्पत्ति अब वित्तीय मूल्यको विषय मात्र रहेन । यो त अब लोकतन्त्र, समाज, अर्थतन्त्र र सम्पूर्णको ग्रहको नियन्त्रणको विषयमा विस्तार भएको छ । ट्रम्पले गरेका नियुक्ति आफैँमा असमानता र चरम धनले हामी सबैलाई कसरी हानि पुर्‍याउँछ भन्ने कुराको पछिल्लो उदाहरण हुन् ।

सन् २०२४ मा अर्बपतिहरूको सम्पत्ति अघिल्लो वर्षकोभन्दा तीन गुणा छिटो दरले बढेको तथ्यांकले देखाउँछ । अक्सफामको विश्लेषणले आगामी दशकभित्र पाँचजना व्यक्ति डलरमा ट्रिलियनियर (१० खर्ब डलरभन्दा बढी सम्पत्ति भएका) बन्ने देखाएको छ । यसबिच, विश्वव्यापी रूपमा गरिबी न्यूनीकरणमा देखिँदै गएको प्रगति रोकिएको छ । असमानता नियन्त्रणबाहिर गइसकेको छ । पद सम्हालेको पहिलो दिन डोनाल्ड ट्रम्पले कैयौँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । ती प्रत्येक हस्ताक्षर हालसम्म हासिल भएका प्रगतिलाई उल्टो फर्काउने खालको थियो । त्यसपछि डाभोसमा भएको ‘विश्व आर्थिक मञ्च’को वार्षिक भेलामा सहभागी हुन आएका राष्ट्र प्रमुख, राजनीतिज्ञ र व्यापारिकलाई भिडियोमार्फत सम्बोधन गरे । सम्बोधनलाई उनले चेतावनीपूर्ण माग र धम्की पेस गर्न प्रयोग गरे । म गरिबी र सम्पन्नता दुवै देखे–भोगेको मनिस हुँ । तर, अहिले मेरोजस्तो विपन्न पृष्ठभूमि भएका मानिसले मैले पाएजस्तो वर्ग उत्थानको अवसर पाउन छाडेका छन् । किनकि, धन केही व्यक्तिको हातमा अति केन्द्रित हुन थालेको छ । नातावाद बढिरहेको छ । असर बाँकी विश्वले भोग्दै छ । 

कम्तीमा केही व्यक्ति यसको आलोचनामा उत्रिएका छन् । गत महिना लगभग ४०० करोडपति तथा अर्बपतिहरूले डाभोसमा नेताहरूलाई अति धनीमाथि कर लगाएर अत्यधिक धनमाथि अंकुश लगाउन आग्रह गर्दै एउटा पत्रमा हस्ताक्षर गरे । र, आफ्नो बिदाइ भाषणमा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले खतरनाक कुलीनतन्त्रले आकार लिइरहेको चेतावनी दिए । यो हामी सबैका लागि, विशेषगरी हाम्रा निर्वाचित प्रतिनिधिका लागि खतराको घण्टी हुनुपर्छ ।

विश्वभरका सरकारले हाल देखिएका धनाढ्यको राजनीतिक पकडमाथि अंकुश लगाउनुुपर्छ । यसको एक सरल समाधान, अति धनीहरूको कर हो । यिनले अहिले पैसाभन्दा धेरै कुरा व्यवस्थापन गर्न थालेका छन् । उनीहरूले हामीले के पढ्छौँ, के हेर्छौं, हामीलाई दिइएको जानकारी र अन्ततः, हामी कसरी मतदान गर्छौं भन्ने कुराको समेत व्यवस्थापन गर्छन् ।

गत वर्ष युरोपेली संघका कर पर्यवेक्षकले गरेको एक प्रक्षेपणले अर्बपतिमाथि दुई प्रतिशत मात्र कर लगाउँदा हरेक वर्ष २५० अर्ब डलर उठाउन सकिने देखाएको थियो । यो कर विश्वका करिब तीन हजार मानिसमाथि लाग्नेछ । तिनका लागि यस करबाट कटौती हुने रकम ठुलो हुँदैन । तर, बाँकी जनसंख्याका लागि यसले ठुलो अर्थ राख्छ । यसले अधिक धनमाथि लगाम लगाउँछ । साथै विश्वव्यापी समस्या बन्दै गएको असमानताविरुद्धको संघर्षमा सघाउ पुर्‍याउँछ ।

अति धनाढ्य अभिजात वर्गले आफ्नो निहित स्वार्थको रक्षा गर्न र नाफा बढाउन चुनावी नतिजा प्रभावित गरिरहेको छ । यस तथ्यले हामी धन अतिवादको युगमा छौँ भन्ने देखाउँछ । हाम्रा नेतामा राजनीतिमाथि धनाढ्यको पकड घटाउने साहसको कमी छ । तिनले खासमा धनाढ्यलाई नभएर आम सर्वसाधारण मानिसलाई प्राथमिकता दिनुपर्ने हो । अझै यो प्रवृत्ति थप अघि बढिरहन सक्दैन । हामीले यथार्थमाथि नजर लगाएर ट्रम्पले खराब अवस्थालाई झन् कसरी खराब बनाउँदै छन् भन्ने कुरा बुझ्न जरुरी छ । त्यसपछि हामीले के गर्ने हो संकल्प गर्न सक्छौँ ।

(चर्चित स्कटिस अभिनेता कोक्सले पछिल्लो समय एचबिओमा प्रसारित ‘सक्सेसन’मा निभाएको धनाढ्य पात्रको भूमिकाको निकै प्रशंसा भएको थियो ।)

– द गार्जियनबाट
 

सुझावित समाचार