नेप्से परिसूचक ११ अंकले बढ्दा कारोबार रकम पनि बढ्यो

आइतबार, ११ फागुन, २०८१
डिजिटल संस्करण

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि बढेको छ । नेप्से परिसूचक ११.६६ अंकले बढेर दुई हजार ७५५.४० को विन्दुमा कायम भएको हो ।

आज ३२८ कम्पनीको दुई करोड १२ लाख ६ हजार कित्ता सेयर एक लाख आठ हजार ९१३ पटक खरिद–बिक्री हुँदा रु. ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार ६१२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ ०.०३, लगानी १.३३, जीवन बिमा ०.८६, उत्पादन तथा प्रशोधन २.७८, म्युचुअल फन्ड ०.०२, निर्जीवन बिमा ०.१३ र अन्य समूह ३.७२ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ ।

विकास बैंक ०.४८, वित्त ०.४५, होटेल तथा पर्यटन ०.५०, जलविद्युत् ०.५६, लघुवित्त ०.६६ र व्यापार समूह १.३२ प्रतिशतले घटेको हो । गार्डियन माइक्रो लाइफ इस्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने रिलायन्स फाइनान्स लिमिटेडको सेयर मूल्य ७.२४ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु. ९५ करोड ६४ लाख ५१ हजार ३६६ बराबरको नौ लाख ९० हजार ६७२ कित्ता सेयर किनबेच भएको छ ।
 

सुझावित समाचार