युएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न माग

आइतबार, ११ फागुन, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिका सांसदहरूले अन्तर्राष्ट्रिय विकासका निम्ति अमेरिकी नियोग (युएसएड)मार्फत नेपालमा भएको खर्चको विवरण सार्वजनिक गरिनुपर्ने माग गरेका छन् । अर्थ समितिको आइतबार (फागुन ११) को बैठकमा सांसद गंगा कार्कीले युएसएडमार्फत नेपालमा भएको खर्चलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धोखाधडी (फ्रड) भनेको उल्लेख गरे । उक्त रकम कहाँ र कसरी खर्च भएको थियो भनेर सरकारले स्पष्ट पार्नुपर्नेमा उनले जोड दिए ।

‘युएसएडमार्फत नेपालको वित्तीय संघीयताका लागि अमेरिकाले दिएको रकमलाई त्यहाँका राष्ट्रपतिले नै फ्रड हो भन्नुभएको छ । अनौपचारिक रूपमा बुझ्दा उक्त रकम प्राकृतिक स्रोत तथा वित्त आयोगमार्फत खर्च भएको भन्ने जानकारी पाएको छु । यस विषयमा आयोगसँग जवाफ मागिनु पर्छ,’ सांसद कार्कीले भने ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी राष्ट्रपतिले कुन सन्दर्भमा युएसएडको सहयोगलाई ‘फ्रड’ भनेको भन्ने बुझ्नुपर्ने बताए । उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को अनुदानका निम्ति आफू अर्थमन्त्री हुँदा हस्ताक्षर भएको र त्यसलाई सबै दलले संसदबाट पारित गरेको विषय पनि उठाए । अर्थ समितिमा छलफलका क्रममा रहेका विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्ने पनि उनले बताए ।

सांसद सूर्यबहादुर थापा क्षेत्रीले अमेरिकी राष्ट्रपतिले बोलेको विषयमा समितिमा नभई संसदमा छलफल गरिनुपर्ने बताए । ‘ट्रम्पले भनेका विषयमा यहाँ छलफल आवश्यक छैन । यो समितिभन्दा पनि संसद्को विषय हो,’ उनले भने, ‘युएसएडले गरेको खर्च कुन समयको हो र के कार्यक्रममा खर्च भएको थियो भनेर अर्थ मन्त्रलयसँग विवरण माग गर्न सकिन्छ । यसबारे लिखित पत्राचार गरौँ र मन्त्रालयसँग विवरण मागौं ।’

अर्थ समितिको बैठक तोकिएको समयभन्दा ढिला बस्ने गरेको, कार्यसूचीभन्दा बाहिरका विषयमा बढी छलफल हुने गरेको तथा समितिका कामको प्रभावकारिता न्यून देखिएको विषय पनि उनले उठाए । रासस
 

सुझावित समाचार