वडाध्यक्षले माफी मागेपछि कर्मचारी काममा फर्के

बिहिबार, ८ फागुन, २०८१
डिजिटल संस्करण

रुपन्देहीको रोहिणी गाउँपालिकाको कार्यपालिका बैठकमै कर्मचारीमाथि आक्रमण भएको विषयमा वडाध्यक्षले माफी मागेपछि कर्मचारी काममा फर्केका छन् । जिल्ला प्रशासन कार्यालयमा दुवै पक्षलाई राखेर  बुधबार भएको छलफलमा वडा नं. २ का अध्यक्ष करम हुसेन खानले माफी मागेका थिए । आत्मालोचनासहित उनले माफी मागेपछि प्रशासन कार्यालयमा सहमति भएको थियो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अयोध्याप्रसाद भण्डारीले वडाध्यक्षले माफी मागेपछि सहमति जुटेको बताए । सहमतिपछि कर्मचारीहरू बिहीबार  काममा फर्केका हुन्।

यहाँ वडाध्यक्षले कर्मचारीमाथि हातपात गरेको भन्दै कर्मचारीहरूले मंगलबार काम ठप्प पारेका थिए। सोमबारको बैठकमा हात हालाहालको स्थिति सिर्जना भएको थियो । शिक्षा समिति गठनका विषयमा विवाद भएपछि वडाध्यक्षले शिक्षा शाखा प्रमुखमाथि भौतिक आक्रमण गरी घाइते बनाएको आरोप लगाएका  कर्मचारीहरू दोषीलाई कारबाही हुनुपर्ने माग राख्दै विरोधमा उत्रिएका थिए।

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधुप्रसाद घिमिरेमाथि वडा नं. २ का अध्यक्ष करम हुसेन खानले हातपात गरेको कर्मचारीहरूको आरोप थियो। वडाध्यक्षले गालीगलोजसहित हातपात गरी घाइते बनाएको तथा बारम्बार कर्मचारीहरूलाई गालीगलोज गर्ने गरेको भन्दै विज्ञप्ति जारी गरेका गाउँपालिकामा कार्यरत कर्मचारीहरूले मंगलबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएका थिए । दोषीमाथि कारबाही नहुँदासम्म काममा नफर्कने  अडान लिएपछि मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफल विनानिष्कर्ष टुंगिएको थियो  ।

 गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले समेत मंगलबार विज्ञप्ति जारी गर्दै कर्मचारीमाथि आक्रमण गर्ने वडाध्यक्ष खानलाई कारबाही गर्न माग गरेका थिए।
 वडाध्यक्ष खानले भने आफूले हातपात नगरेको दाबी गर्दैै आएकोमा बुधबारको छलफलमा माफी मागेका हुन् । 

सुझावित समाचार