राष्ट्रिय सभाका सांसदहरू खाँदबारी—किमाथांका सडकको अनुगमन गर्न संखुवासभा आएका छन्। बुधबार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति र सदस्यहरु कोशी करिडोरको सडक अनुगमनका लागि संखुवासभा आएका हुन्।
समिति सभापति सोनाम गेल्जेन शेर्पा, सदस्यहरु किरणबाबु श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, दुर्गाकुमारी गुरुङ, मनरुपा शर्मा र राजेन्द्रलक्ष्मी गैरेसहित समितिका कर्मचारीहरु उपसचिव सरस्वती मरहठ्ठा र शाखा अधिकृत नारायणबहादुर कार्की सडक अनुगमन गर्न आएका उत्तरकोशी सडक कार्यालय प्रमुख रामबहादुर गुरुङले बताए। बुधबार हवाईजहाजबाट तुम्लिङटार हुँदै खाँदबारी आएपछि उत्तर-दक्षिण कोशी सडक कार्यालयमा स्वागत गरेर उत्तरी क्षेत्र किमाथांका प्रस्थान गरेका कार्यालय प्रमुख गुरुङले जानकारी दिए।
सांसदहरूको टोलीलाई बरुणसम्म आउने-जाने सम्पूर्ण व्यवस्थापन उत्तर-दक्षिण कोशी सडक कार्यालयले गरेको हो। उक्त टोली सडक कार्यालयबाट इन्जिनियरसहित तीनजनाको टोली पठाइएको कार्यालय प्रमुख गुरुङले बताए।
सांसदहरूले खाँदबारी–किमाथांका सडकअन्तर्गत भोटखोला गाउँपालिका–४ बरुण बजारसम्म पुग्ने जनाइएको छ। खाँदबारीबाट ८० किमि दूरीमा रहेको बरुणखोलासम्म सडक अनुगमन गरेर टोली फर्किनेछ। त्यहाँभन्दा माथि किमाथांकासम्म पुग्न सडकको अवस्था राम्रो नभएकाले बरुण खोलासम्म पुगेर बिहीबार खाँदबारी फर्किने र स्थलगत अवलोकनपछि खाँदबारीमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको कार्यालय प्रमुख गुरुङको भनाइ छ।
उत्तरदक्षिण कोशी करिडोरको स्थलगत अध्ययन भ्रमणको लागि संखुवासभा आएको समितिका सभापति शेर्पाले बताए। उनले राष्ट्रिय सरोकार भएको विषय समितिले हेर्ने भएकाले कोशी करिडोरअन्तर्गत खाँदबारी—किमाथांका सडकको अनुगमनको लागि आएको बताए। ‘खाँदबारीदेखि बरुण भ्यालीसमेत सडक हेरेर फर्किने, त्यसपछि चुरे संरक्षण क्षेत्रको अध्ययन भ्रमण गर्ने, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, मेट्रो रेलमार्गको कामको अनुगमन निरीक्षण गछौँ। त्यसपछि ११ फागुनमा काठमाडौं फर्किने कार्यक्रम तय भएको छ,’ उनले भने, ‘अध्ययन भ्रमणपछि समस्या र अफ्ठ्यारो भएका कुराहरू प्रतिवेदन बनाएर सरकारलाई पेस गछौँ, संसदमा कुरा उठाउँछौँ। काम गर्न दबाब दिँदै निकास निकाल्छौँ।’
खाँदबारीदेखि किमाथांकासम्म सडकको दूरी १६२ किमि छ। उक्त सडकको काम उत्तर-दक्षिण कोशी सडक कार्यालयले हेर्दै आएको छ। ०६६ सालमा कार्यालय स्थापना गरी काम अघि बढाइएको थियो। गत माघ १४ गते नेपाल सरकारका भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सडकको ‘ब्रेक थ्रु’ गरेका थिए।
खाँदबारीदेखि बरुण खोलासम्म ८० किमि नियमित सवारीसाधन आवतजावत हुन्छ भने त्यहाँभन्दा माथि यातायातको साधान आवतजावत गर्न सक्ने अवस्था छैन।