अमेरिकी करवृद्धिलाई लिएर डब्ल्युटिओमा चीनद्वारा विरोध

बुधबार, ७ फागुन, २०८१
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खतरामा पारेको वा पहिले नै लागू गरेको व्यापक करले मुद्रास्फीति, बजार विकृति र विश्वव्यापी मन्दीसमेत निम्त्याउने खतरा रहेको भन्दै चीनले विश्व व्यापार संगठन (डब्लुटिओ)मा विरोध जनाएको छ।

जनवरी २० मा सत्तामा फर्केपछि ट्रम्पले विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनलाई अमेरिका प्रवेश गर्ने उत्पादनमा थप १० प्रतिशत करको घोषणा गरेका थिए। ट्रम्पले गत हप्ता स्टिल र आल्मुनियममा २५ प्रतिशत नयाँ कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

‘आयातीत कारहरूमा थप अमेरिकी कर दर करिब २५ प्रतिशत हुनेछ,’ अप्रिल २ को आसपास सार्वजनिक गर्ने शुल्कको बारेमा नयाँ जानकारी दिँदै ट्रम्पले भनेका थिए।

विश्व व्यापार संगठनका लागि चीनका राजदूत ली चेङगाङले विश्व व्यापार संगठनको निर्णय लिने ‘जनरल काउन्सिल’को यस वर्षको पहिलो बैठकमा भने, ‘विश्वले करका लागि शृंखलाबद्ध झट्काको सामना गरिरहेको छ।’

‘अमेरिकाले विश्व व्यापार संगठनको नियमको ठाडो उल्लंघन गर्दै चीनलगायत आफ्ना व्यापारिक साझेदारहरूमाथि एकतर्फी र स्वेच्छाचारी रूपमा कर लगाएको वा धम्की दिएको छ। चीनले यस्ता कदमको कडा विरोध गर्दछ, उनले भने, ‘यी करसम्बन्धी निर्णयले आर्थिक अनिश्चितता बढाउँछ, विश्वव्यापी व्यापारमा बाधा पुर्याउँछ, र घरेलु मुद्रास्फीति, बजार विकृति वा विश्वव्यापी मन्दीको जोखिम पनि बढाउँछ।’

लीले अमेरिकी एकपक्षीयताले नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई ध्वस्त पार्ने खतरा रहेको बताए।

सुझावित समाचार