अपर म्याग्दी–१ को बाँध निर्माण सुरु

बुधबार, ७ फागुन, २०८१
डिजिटल संस्करण

म्याग्दीको धवलागिरि गाउँपालिका– ४ खाम्लामा ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी– १ जलविद्युत् आयोजनाको बाँध निर्माण सुरु गरिएको छ। म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो। गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले आज बुधबार बाँधको ढलान गर्ने कार्यको शुभारम्भ गरे।

गाउँपालिका अध्यक्ष पुन, पूर्वअध्यक्ष थमसरा पुन, धवलागिरि–४ का वडाध्यक्ष यामप्रसाद घर्तीमगरलगायत जनप्रतिनिधि र स्थानीय अगुवाको उपस्थितिमा बाँध निर्माण कार्यको शुभारम्भ गरिएको हो। जग्गा व्यवस्थापनको काम सकेर म्याग्दी नदीको दायाँतर्फ ढलान गरेर औपचारिक रूपमा बाँधको पक्की संरचना निर्माण सुरु गरिएको आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए।

‘०८० चैत १९ मा सम्झौता र ०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एन्ड कन्ट्याक्टरले पहाड काटेर बाँध निर्माणस्थल तयार पारिसकेको छ,’ उनले भने, ‘०८३ फागुन २१ गते विद्युत् उत्पादन गर्ने लक्ष्यसहित बाँधसँगै सुरुङ र विद्युतगृह निर्माणको कामलाई तीव्रता दिएका छौँ।’

०८१ भदौ १२ गतेदेखि धवलागिरि–४ छहरीमा सुरु भएको १९८.९० मिटर लामो अडिट नम्बर २ को सुरुङ खनेर थप ५३० मिटर मुख्य सुरुङ निर्माण भइसकेको आयोजनाका प्रबन्ध–निर्देशक लक्ष्मण न्यौपानेले बताए। पाँच किलोमिटर सात सय मिटर सुरुङमध्ये केही दिनमा बाँध र मालिका गाउँपालिका– ७ भारवाङको आउटलेट तर्फबाट पनि खन्न सुरु गर्ने तयारी गरिएको उनले बताए।

सानिमा बैंकको नेतृत्वमा ६ वटा बैंकको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको सेयरमार्फत जुटाइने रु. ११ अर्ब २३ करोड २७ लाख ६ हजारको लागतमा निर्माण हुने आयोजनाको विद्युतगृह मालिका– ७ भारवाङमा रहनेछ। भारवाङदेखि १.५ किलोमिटर १३२ केभी क्षमताको प्रसारणलाइन बनाएर नेपाल विद्युत् प्राधिकरणले मालिका– ७ डाँडाखेतमा निर्माण गरिरहेको १३२ केभी क्षमताको सबस्टेसनमा यस आयोजनाबाट वार्षिक औसत ३१५.०१ गिगावाट घण्टा विद्युत् केन्द्रीय लाइनमा जोडिनेछ।

बाँध निर्माणस्थलनजिकै १०० मिटर लामो र १५ मिटर अग्ला तीनवटा पानी थिग्य्राउने पोखरी निर्माण गर्न जग्गा व्यवस्थापन भइरहेको छ । हालसम्म १६.५ प्रतिशत भौतिक प्रगति भएको छ। ‘रन अफ द रिभर’ प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युतगृहको उचाइ १९६ मिटर रहेको छ । आउटलेटबाट पानीलाई विद्युतगृहमा खसाल्न ६९२ मिटर पेनस्टक पाइप जडान गरिने भएको छ।

ऊर्जा इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सोलुसन प्रालि परामर्शदाता रहेको यस आयोजनाको मेकानिकल र इलेक्ट्रो मेकानिकल ठेकेदार छनोटको प्रक्रियामा रहेको छ । अपर म्याग्दी– १ को प्रवर्द्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालिमा आबद्ध छ।

भारवाङदेखि बाँध निर्माणस्थलसम्म नौ किलोमिटर पहुँचमार्ग निर्माण गरिसकेको आयोजनाले सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि विनियोजन गरेको रु. ६ करोड २० लाख बजेटबाट प्रभावित क्षेत्रमा सडक निर्माण, शिक्षा, स्वास्थ्य, मठमन्दिरका लागि हालसम्म रु. एक करोड नौ लाख १५ हजार सहयोग गरेको जनाएको छ।

सुझावित समाचार