बृहत् दोलखा महोत्सव सुरु, बागमतीका मुख्यमन्त्री लामाद्वारा उद्घाटन

बुधबार, ७ फागुन, २०८१
डिजिटल संस्करण

पर्यटकीय जिल्ला दोलखामा मंगलबारदेखि बृहत दोलखा महोत्सव सुरु भएको छ । जिल्ला सदरमुकाम चरिकोट स्थित टुँडिखेल मैदानमा सुरु भएको  महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका छन् । महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले अब विकाससँगै समुन्नत समाज र प्रयाप्त रोजगारी स्थापना गर्न बागमती प्रदेश सरकार त्यसतर्फ केन्द्रित भएको बताए । उनले प्रदेशका हरेक स्थानीय तहमा औधोगिक ग्राम स्थापना भइसकेको र अब तल्लो तहमा पनि रोजगारी सृजना हुने बताएका छन् । 

दोलखा उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको महोत्सव फागुन १८ गतेसम्म सञ्चालन हुने दोलखा उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवले आन्तरिक उत्पादनको प्रवर्द्धनका साथै जिल्लाको सुस्ताउँदो व्यापार व्यवसायलाई थप चलायमान बनाउने अपेक्षा गरिएको जनाइएको छ ।महोत्सव उद्घाटन समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका अर्थमन्त्री कुन्दनराज काफ्ले , राष्ट्रिय सभाका सदस्य घनश्याम रिजाल , प्रदेश सांसद भरत केसी , कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलगायत दोलखाका स्थानीय तहका जनप्रतिनिधि एवं अन्य सहभागी वक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए । 

महोत्सवमा १४० वटा स्टल राखिएकोमा स्थानीय उद्यमिको ६२ वटा स्टल छुट्याइएको संघले जनाएको छ । दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्र श्रेष्ठले जिल्लाको कृषि, उद्यम उत्पादनलाई प्रवर्द्धन,आन्तरिक तथा बाह्य पर्यटकको प्रवर्द्धनमा महोत्सवले टेवा पुर्याउने जनाएका छन् । जिल्लाको व्यापार, व्यवसाय र बजारलाई चलायमान बनाउनुका साथै जिल्लाका स्थानीय उत्पादनहरुको प्रदर्शन गरी प्रचार प्रसार तथा बिक्री वितरण गरिने, धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रवर्द्धन गर्ने महोत्सवको मुख्य उदेश्य रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

दोलखा महोत्सवमा झाँकीको प्रदर्शनीका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रर्दशनी रहनेछ। महोत्सवमा ६० वर्षमाथिका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, विद्यार्थीहरु र ८ वर्ष मुनिका बालवालिकालाई कार्यक्रममा विशेष छुट सहितको प्याकेज सञ्चालन गरिने संघका महासचिव सुरेस उप्रेतीले  जानकारी दिए । आयोजकका अनुसार महोत्सवमा उत्कृष्ट कृषक तथा उद्यमीहरुलाई पुरस्कृत गरिनेछ ।

महोत्सव उद्घाटन समारोहका अवसरमा वरिस्ठ कलाकार मदनदास श्रेष्ठ , दोलखाली पत्रकार समाजका अध्यक्ष एवं नयाँ पत्रिकाकर्मी ज्ञानेन्द्र कार्की , पत्रकार दिल बहादुर केसी, भमि आयोग दोलखाका अध्यक्ष राकेश श्रेष्ठ , खेलकुद अध्यक्ष आशिष् घिसिङ, समस्याग्रस्त सहकारी छानबिन आयोगका सदस्य धुर्व आचार्य , रामबहादुर खड्का  लगाएत दर्जनौं व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।

सुझावित समाचार