लोकतन्त्रविरुद्ध तथ्यांकमा हेरफेर एवं नियन्त्रण

मंगलबार, ६ फागुन, २०८१
डिजिटल संस्करण
  • नागरिकको व्यक्तिगत तथ्यांक सरकार र मस्कजस्ता सहयोगीलाई दिन बाध्य बनाइए पनि यिनै नेतालाई जवाफदेही बनाउन आवश्यक सूचना दिइँदैन

जसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आक्रामक राजनीतिक रणनीति विगतमा देखेका छन्, तिनका लागि डोनाल्ड ट्रम्प दोस्रोपटक ह्वाइट हाउस फर्केपछि अमेरिकामा भइरहेका घटनाक्रम परिचित लाग्न सक्छन् । भारतमा हाम्रो अनुभवले अधिनायकवादी नेता पहिलोमा भन्दा दोस्रो कार्यकालमा थप खतरनाक हुन सक्ने देखाएको छ । यसको कारण स्पष्ट छ, किनभने दोस्रो कार्यकालसम्म आइपुग्दा यस्ता नेताले प्रणालीलाई कसरी आफ्नो पक्षमा मोड्ने, संस्थालाई कसरी आफ्नो स्वार्थअनुसार ढाल्ने र आफ्नो मार्गमा अवरोध पुर्याउने संस्थालाई कसरी कमजोर पार्ने भन्ने कला सिकिसकेका हुन्छन् । नतिजा यी नेता थप आक्रामक रूपमा आफ्ना एजेन्डा अघि बढाउन सक्षम हुन्छन् ।

मोदीको वासिंटन भ्रमणले उनी र ट्रम्पबिचको उल्लेखनीय समानता उजागर गर्छ । दुवै नेता अचानक र अनपेक्षित नीतिगत परिवर्तन गर्ने प्रवृत्तिका लागि परिचित छन्, जसले उनका विरोधी अन्योलमा पर्छन् र आगामी कदमबारे अनिश्चित बनाउँछ । उनीहरू आफूलाई ‘व्यवस्थामा उथलपुथल’ ल्याउने नेताका रूपमा चित्रित गर्न रुचाउँछन् । संस्था कमजोर पार्ने, परम्परागत राजनीतिक मान्यतालाई बेवास्ता गर्ने र लोकतन्त्रलाई कमजोर पार्ने कार्यमा संलग्न रही आफ्ना मनपर्ने स्वार्थ समूहलाई जोगाउने र तिनलाई लाभ पुर्याउने रणनीति अपनाउँछन् । महत्वपूर्ण के छ भने यी नेताको शासनशैली विभाजनकारी र असहिष्णु राजनीतिमा आधारित छ, जसको उद्देश्य सत्तालाई अझ केन्द्रीकृत बनाउनु र आफ्नो स्वार्थसँग गहिरो रूपमा जोडिएका धनाढ्य पुँजीपतिलाई थप धनी बनाउनु हो । र, यस प्रक्रियामा अधिकांश नागरिक उपेक्षित हुन्छन् । यसबाहेक दुवै नेताले जनमतलाई प्रभाव पार्न व्यापक रूपमा सञ्चारमाध्यमको उपयोग गर्छन्, जहाँ आफूअनुकूल भाष्य प्रवर्द्धन गरिन्छ र असहमति दबाइन्छ ।

यी रणनीति विश्वभरका अधिनायकवादी नेताका लागि मार्गदर्शक बनेका छन् । आधुनिक अधिनायकवादी नेता सतहमा जति फरक देखिए पनि एक–अर्काबाट सिक्छन् । तर, यो सिकाइ शासन सुधार्न नभई सत्तामा आफ्नो पकड बलियो बनाउनमा केन्द्रित हुन्छ । यो प्रक्रियाको केन्द्रमा तथ्यांक (डाटा) नियन्त्रण छ, जसले सार्वजनिक सूचनाको पहुँचलाई पुनः परिभाषित गरिरहेको छ । नागरिकलाई व्यक्तिगत तथ्यांक सरकार र मस्कजस्ता सहयोगीलाई दिन बाध्य बनाइँदै छ, तर यिनै नेतालाई जवाफदेही बनाउन आवश्यक सूचना दिइँदैन ।

भारतमा मोदी सरकारले राष्ट्रिय तथ्यांक प्रणालीलाई व्यवस्थित रूपमा कमजोर पार्दै यसलाई हतियारका रूपमा प्रयोग गरेको प्रस्ट देखिन्छ । सरकारले पहिले स्वतन्त्र रहेको राष्ट्रिय तथ्यांक आयोगको राजनीतीकरण गर्यो र केन्द्रीय तथ्यांक कार्यालयको कार्यविधि परिवर्तन गरेर आर्थिक वृद्धिको आँकडा बढाउने प्रयास गर्यो । यसबाहेक सन् २०१७–१८ को उपभोग सर्वेक्षण अचानक रद्द गरियो र यसका पछाडि ग्रामीण भारतमा उपभोग घट्दै गएको र बढ्दो गरिबीका तथ्यांक खुलासा गरिनु रहेको बताइन्छ । सन् २०२४ को चुनावअघि सरकारले सन् २०२२–२३ मा खर्च सर्वेक्षणको विधि पुनः परिवर्तन गर्दै गरिबी दर पाँच प्रतिशतमा झरेको दाबी गर्दै ‘तथ्यपत्र’ सार्वजनिक गरेको थियो । विश्वसनीय तथ्यांकप्रतिको सरकारको डर यति गहिरो छ कि सन् २०२१ मा गरिनुपर्ने जनगणना अझै स्थगित छ, जसले भारतको आधिकारिक जनसंख्या र आर्थिक तथ्यांक सन् २०११ कै पुरानो अवस्थामा छ । सरकारी योजनाका समीक्षा प्रतिवेदन दबाइन्छन्, उदाहरणका लागि गंगा सफाइ परियोजनाको मूल्यांकन कहिल्यै सार्वजनिक गरिएन । त्यसैगरी कोभिड–१९ महामारीमा सरकारले विश्व स्वास्थ्य संगठनको स्वतन्त्र मृत्युदर अनुमानलाई अस्वीकार गर्दै वास्तविक मृत्युसंख्या स्वीकार गरेन ।

स्वास्थ्य मन्त्रालय र अन्तर्राष्ट्रिय जनसांख्यिकी विज्ञान संस्थान (आइआइपिएस) द्वारा गरिएका राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणलाई पनि तारो बनाइएको छ । पोषणस्तर र सरसफाइ सेवामा कमी देखाउने प्रतिवेदन जारी भएपछि आइआइपिएसका निर्देशकलाई अप्रासंगिक कारण देखाई राजीनामा दिन बाध्य पारियो । सरकारले आफूले रुचाएको भाष्यविरुद्ध गएमा तिमीहरू जोखिममा पर्छौ भनेर शोधकर्तालाई स्पष्ट सन्देश दिएको देखिन्छ । भारतीय राष्ट्रिय कंग्रेस सरकारले पारित गरेको एक ऐतिहासिक पारदर्शिता कानुनी प्रावधान सन् २००५ को सूचना अधिकार ऐनलाई पनि कमजोर पारिएको छ । मोदी सरकारले महत्वपूर्ण पद रिक्त राखेका छन् र केवल तिनै व्यक्तिलाई नियुक्त गरेको छ, जो राजनीतिक दबाबमा काम गर्छन्, नतिजा अधिकांश याचिका उत्तरहीन बन्छन् । 

सरकारका जवाफदेहीबाट बच्नका गरिएका प्रयास प्रायः सफल भएका छन् । तर, शासकत्वको सट्टा प्रचारलाई प्राथमिकता दिएर यसले भारतका आर्थिक र सामाजिक वास्तविकतालाई नकारेको छ, नतिजा प्रभावकारी नीतिगत निर्णय लिन कठिन बनाएको छ । यसैबिच आधार कार्डको विस्तारले भारतीयलाई पहिलेभन्दा बढी व्यक्तिगत तथ्यांक दिन बाध्य पार्दै छ र कार्ड अब बैंक खाता, कर विवरण, मोबाइल नम्बर, यात्रा रेकर्ड र ठुला कारोबारसँग जोडिएको छ । यो प्रणालीले पहिले नै विनाशकारी परिणाम निम्त्याएको छ । उदाहरणका लागि औँठाछाप नमिल्ने प्रकरणमा लाखौँ भारतीय तलब, खाद्यभत्ता र अन्य आवश्यक सेवा प्राप्त गर्नबाट वञ्चित छन् ।

तर, यी जोखिमका बाबजुद भारतले अझै तथ्यांक सुरक्षाका लागि कुनै खाका लागू गरेको छैन । निरीक्षणविनै हुने तथ्यांकमा अनधिकृत पहुँच अत्यधिक छ । र, ठुला प्रविधि कम्पनी, जसका हातमा पहिल्यै ठुलो व्यक्तिगत तथ्यांक छ, यिनले सरकारसँग गठजोड बनाएका छन् र त्यसका परिणाम विनाशकारी हुन सक्छन् । निश्चित रूपमा अमेरिकाले भारतको राजनीतिक मार्गदर्शन अनुसरण नगर्न सक्छ, किनभने यसको संस्था विशेषतः न्यायपालिकाले केही हदसम्म सुरक्षा दिन सक्छन् । यी भारतमा झैँ कमजोर छैनन् । तर, अधिनायकवादको वृद्धिसँगै हामीले तथ्यांकलाई लोकतन्त्रविरोधी हतियारका रूपमा प्रयोग गर्ने सरकारको प्रयासलाई चिनेर प्रतिरोध गर्नुपर्छ ।

(घोष म्यासाचुसेट्स अम्हेरेस्टकी अर्थशास्त्रकी प्राध्यापक हुन्) 
प्रोजेक्ट सिन्डिकेटबाट

 

सुझावित समाचार