नेपाली चिया निर्यातमा अवरोध गर्ने भारतको तयारी

मंगलबार, ६ फागुन, २०८१
डिजिटल संस्करण

अक्सनको बहानामा भारतीय पक्षले नेपाली चिया निर्यातमा अवरोध गर्ने तयारी गरेको छ । हरेक वर्ष करिब चार अर्बभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने चिया निर्यातमा झमेला हुन सक्ने देखिएको छ । भारतले भन्सार नाकामा खाद्य सुरक्षा र अन्य विषय देखाई झन्झटिलो र चिया निर्यातलाई निरुत्साहित गर्ने गतिविधि गरेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्यराज पराजुलीले बताए । 

भारतीय सांसदहरूले भारतीय अक्सनमार्फत नेपाली चिया आयात गर्नुपर्ने माग राखेको र कानुन नै बनाउने तयारी भइरहेको उनले बताए । यस्ता गतिविधिको अन्तर्य नेपाली चिया भारत निकासीमा रोक्नु रहेको उनको भनाइ छ । ‘भारतीय अक्सनमार्फत जाँदा अक्सन हाउस (वेर हाउस)मा राख्नुपर्छ । त्यहाँ ल्याबमा परीक्षण गर्नुपर्छ । उनीहरू टी बोर्डको ल्याबमा लगेर परीक्षण गर्ने भन्छन् । त्यहाँ पास गर्छन् कि गर्दैनन् भन्ने मुख्य कुरा हो । उनीहरूले नेपालको चिया रोक्न खोजेका छन् । पास गरिदिएनन् भने त भारतबाट नेपाल ल्याउन मिल्दैन । त्यो अवस्थामा त्यहीँ नष्ट गर्नुपर्छ,’ उनले भने, ‘त्यो त सीधै हामीलाई चिया भारत नल्याउनु भनेको हो । भारतले जसरी हुन्छ, अवरोध गर्न खोजिरहेको छ । नेपाली चिया जसरी पहिला गइरहेको थियो, त्यसरी नै जानुपर्छ भन्ने हाम्रो माग हो ।’ 

भारतीय सरकारले यस्तो तयारी थालेपछि नेपालका चिया उत्पादकले सरकारसँग गुहार मागेका छन् । चिया क्षेत्रको समस्या समाधान गर्न उद्यमीले प्रधानमन्त्री केपी ओलीलाई पनि केही दिनअघि भेटेका छन् । खास गरेर  नेपाली चिया निर्यातमा देखिएका समस्या समाधानका लागि सरकारलाई आग्रह गरिएको अध्यक्ष पराजुलीले बताए । ‘भारत सरकारले कोलकातामा रहेको केन्द्रीय खाद्य प्रयोगशालाबाट परीक्षण गरी त्यसैका आधारमा भारतीय क्रेतालाई अनुमति दिने व्यवस्था गरेबमोजिम सहज र निर्बाध रूपमा चिया भारत निकासीको पहल गर्न सरकारलाई आग्रह गरेका छौँ,’ उनले भने, ‘नेपालमा रहेको खाद्य तथा गुण नियन्त्रण विभागअन्तर्गतको प्रयोगशालाको परीक्षण रिपोर्टलाई भारतीय पक्षले मान्यता दिनुपर्ने गरी पहल थाल्न आग्रह गरेका छौँ । यी विषय चिया उत्पादन हुने सिजन सुरु हुनुपूर्व उच्चस्तरीय समितिमार्फत भारतीय पक्षसँग वार्ता गरेर टुंगो लगाउन हामीले नेपाल सरकारलाई आग्रह गरेका छौँ ।’ 

उनले प्रधानमन्त्रीलाई भेटेपछि केही आस पलाएको बताए । प्रधानमन्त्री ओलीले उच्चपदस्थ कर्मचारीलाई विनाअवरोध चिया निर्यात हुने वातावरण बनाउन निर्देशन दिएको बताए । ‘फागुनदेखि चियाको सिजन सुरु हुन्छ । अब १५ दिनमा सरकारले समस्या समाधान गरेन भने हाम्रो चियामा अवरोध हुन सक्छ,’ अध्यक्ष पराजुलीले भने । 

यद्यपि, चिया तथा कफी विकास बोर्डले भने भारतले नेपाली चिया भारतीय अक्सनमार्फत जानुपर्ने व्यवस्था गर्न लागेको विषयमा औपचारिक जानकारी कतैबाट नआएको जनाएको छ । बोर्डका निर्देशक तथा प्रवक्ता डा. दीपक खनालले चिया उत्पादक संघका अध्यक्ष पराजुलीले जानकारी दिए पनि भारतीय पक्षबाट कुनै जानकारी नआएको बताए । चिया उत्पादक संघका अनुसार नेपालमा २८ हजार हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । यसको ९५ प्रतिशतभन्दा बढी कोशी प्रदेशमा उत्पादन हुन्छ । उत्पादनको आधा चिया नेपालमा खपत हुन्छ भने आधाबराबर विभिन्न देशमा निर्यात हुने गरेको छ । देशभर करिब १७ हजार साना किसान चिया कृषक र एक सय ५० भन्दा बढी ठुला उद्योग रहेको चिया उत्पादक संघले जनाएको छ । 

अक्सन सेन्टर सञ्चालनको माग
एक दशकअघि चिया तथा कफी विकास बोर्डले चियाको अक्सन सेन्टर स्थापना गरेको थियो । चियाको पारदर्शी व्यापारका लागि सरकारले आर्थिक वर्ष ०७१/७२ को बजेटमा चिया अक्सन सेन्टर सञ्चालन गर्ने घोषणा गर्यो । चिया तथा कफी विकास बोर्डले ०७२ मा अक्सन सेन्टर सञ्चालनका लागि चिया उद्यमी सुरेश मित्तलको संयोजकत्वमा ११ सदस्यीय अक्सन कमिटी बनायो । एक वर्षपछि बिर्तामोडमा कार्यालय सञ्चालनका लागि घर पनि भाडामा लिइयो । पूर्वाधार तयार, सम्भाव्यता अध्ययनलगायतका लागि राज्यकोषबाट करिब एक करोड रुपैयाँ पनि खर्च भयो । तर, अक्सन सेन्टर भने सञ्चालनमा आउन सकेन । बरु एक वर्ष चलेर भाडाको कार्यालय नै बन्द भयो । ‘सरकारले चिया क्षेत्रले तिरेको १५ प्रतिशत करबाट ५० प्रतिशत फिर्ता दिँदै आएको थियो । चिया विशेष क्षेत्र भएकाले उद्यमीले ६० प्रतिशत मागे । सरकारले त्यही ५० प्रतिशत पनि कटौती गर्यो,’ बोर्डका निर्देशक तथा पूर्ववक्ता डा. दीपक खनालले भने, ‘चिया बिक्री तत्कालै हुँदैन । अक्सन सेन्टरको वेर हाउसमा हुँदा उद्यमीले श्रमिकलाई ज्याला, विद्युत्, सिँचाइलगायतको खर्च हुन्छ । अक्सनमा रहेको चियालाई धितो मानेर ऋण दिनुपर्ने माग गरे । तर, पूरा नभएपछि कार्यविधि बनिसकेको अवस्थामा अक्सन सेन्टर बन्द भयो ।’ 

सुझावित समाचार