हेटौँडा गोरु तस्करी प्रकरण : प्रहरी चौकी इन्चार्जसहित तीनजना जिल्ला तानिए

मंगलबार, ६ फागुन, २०८१
डिजिटल संस्करण

बंगलादेशमा २५ वटा गोरु तस्करी प्रकरणमा हेटौँडा उपमहानगरपालिका– १५ स्थित रातोमाटे प्रहरीचौकीका इन्चार्ज कुमार फुँयालसहित तीनजना प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ । गोरु तस्करी प्रकरणमा छानबिनका लागि चौकी इन्चार्ज फुँयालसहित प्रहरी सहायक हवल्दार विपिन कुशवाहा र प्रहरी जवान केशर शाहीलाई जिम्मेवारीबाट हटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनले तीनजनालाई छानबिनका लागि जिम्मेवारीबाट हटाएर जिल्ला तानेको बताए । 

प्रहरी उपरीक्षक खड्काका अनुसार चौकीको इन्चार्जका रूपमा प्रहरी सहायक निरीक्षकलाई पठाउने गरी निर्णय भएको छ । गोरु तस्करी प्रकरणमा प्रक्रियागत रूपमा छानबिन कार्य थालिएको उनले बताए । आइतबार चितवनतिरबाट हेटौँडा हुँदै पथलैयातर्फ गोरु बोकेर जाँदै गरेको ट्रकलाई पशु सेवा कार्यालय मकवानपुरले बाराको पथलैयाबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले नै स्कर्टिङ गरेर तस्करी भइरहेको गोरुसहितको बाप्र०३–००१ ख १४२४ नम्बरको ट्रक रातोमाटे चौकीबाट भगाएर चुरियामाई नाका कटाइएको थियो । 

जिल्ला पशु सेवा कार्यालय मकवानपुरले गोरुसहितको ट्रकलाई पाँच हजार रुपैयाँ जरिवानासहित छाडेको छ । गोरु ढुवानीकर्ता भीष्म राईलाई सम्पर्कमा ल्याएर कार्यालयले मापदण्डविपरीत गोरु ल्याएको भन्दै कानुनबमोजिम पाँच हजार रुपैयाँ जरिवाना गरेको कार्यालयका प्रमुख ब्रजकिशोर ठाकुरले बताए । उनका अनुसार राईलाई ट्रकसहितका गोरु ल्याएको स्थानमै लगेर छाड्ने गरी निर्देशन दिइएको छ । 

बंगलादेश लैजाने तयारी हुँदै थियो गोरु
पशु सेवा कार्यालय मकवानपुरका प्रमुख ब्रजकिशोर ठाकुरले आइतबार राति नियन्त्रणमा लिएको २५ वटा गोरु झापा हुँदै बंगलादेश लैजाने तयारी भइरहेको दाबी गरेका छन् । ट्रक नियन्त्रणमा लिएर कागजातहरू छानबिन गर्दा गोरु बोकेको ट्रकको भेटेरिनरी प्रमाणपत्र नक्कली भेटिएको उनले बताए । 

‘२५ वटा जर्सीक्रस गोरु कृषि प्रयोजनका लागि झापा लगिँदै गरेको कागजपत्रमा उल्लेख छ । भेटेरिनरी प्रमाणपत्रमा आँबुखैरेनी, तनहुँका भीम राईले लक्ष्मी चौपाया सप्लायर्समार्फत झापाको हेमादेवी सप्लायर्सलाई गोरु बिक्री गरेको देखिन्छ,’ उनले भने, ‘सो कार्यका लागि डा. टीकाराम न्यौपानेले भेटेरिनरी प्रमाणपत्र जारी गरेका छन् ।’ छानबिनका क्रममा ती गोरु सर्लाहीको नवलपुरमा लगेर दुई दिन राख्ने र अर्को ट्रकमा हालेर झापा हुँदै बंगलादेश पठाउने योजना रहेको ठाकुरको दाबी छ ।

लक्ष्मी चौपाया सप्लायर्स, मकवानपुर– १६ हेटौँडाको नाममा बिजक जारी गरिएको र प्रतिगोरु पाँच हजार रुपैयाँको खरिद बिल बनाएर कृषि प्रयोजन भनेर देखाइएको उनले बताए । ट्रकले हेटौँडा उपमहानगरपालिकाको पशुहाट सेवा शुल्कबापत २५ वटा गोरुका लागि तीन हजार रुपैयाँ बुझाएको छ । 

सुझावित समाचार