बाँकेका तीन पालिकामा हात्तीपाइले रोगविरुद्धको आमऔषधि सेवन कार्यक्रम सुरु भएको छ। नेपालगन्ज, डुडुवा र नरैनापुर गाउँपालिकामा हात्तीपाइलेविरुद्धको आमऔषधि सेवन कार्यक्रम सोमबारबाट सुरु भएको हो।
यसअघिको आमऔषधि सेवनपछि सन् २०२४ मा गरिएको सर्वेक्षणमा यी तीन पालिकामा हात्तीपाइलेका बिरामी फेला परेपछि यस वर्ष फेरि आमऔषधि अभियान थालिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले बताए।
उनका अनुसार नेपालगन्जमा हात्तीपाइलेका १९ जना बिरामी फेला परेका छन्। नेपालगन्ज उपमहानगरपालिका २, ११, १३ र १७ वडामा एक–एकजना तथा वडा नम्बर ४ मा दुई, वडा नम्बर १५, १६, २१ मा तीन–तीन र १४ मा चारजना बिरामी फेला परेको बताए।
यसैगरी, डुडुवा गाउँपालिकामा ६ र नरैनापुर गाउँपालिकाका दुईजना नयाँ बिरामी फेला परेको उनले बताए। ‘तीन पालिकाबाहेक अन्य पाँच पालिकामा हात्तीपाइलेका नयाँ बिरामी पुष्टि भएका छैनन्। हात्तीपाइले रोगका बिरामी फेला नपरेका पालिकामा आमऔषधि सेवन अभियान सञ्चालनमा छैन,’ उनले भने।
उनले बाँकेमा कहिलै पनि औषधि नखानेको संख्या १५ दशमलव ३६ प्रतिशत भएको पनि बताए। ‘रोग निवारण गर्न कहिलै औषधि नखानेको संख्या १५ प्रतिशत हुनुपर्ने विश्व स्वास्थ्य संगठनको मान्यता छ,’ उनले भने, ‘सोही लक्ष्य पूरा गर्न बाँकेको तीनवटा पालिकामा आमऔषधि सेवन अभियान थालिएको छ।’