मापदण्डविपरीत एक्स्काभेटर लगाएर नदी दोहन

आइतबार, ४ फागुन, २०८१
डिजिटल संस्करण
  • ढुंगा, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन मापदण्ड, २०७७ मा स्पष्ट भनिएको छ– नदीमा एक्स्काभेटर र जेसिबी प्रयोग गर्न पाइँदैन, तर कैलालीको खुटिया नदीमा एक्स्काभेटर लगाएर चुरेको फेदीसम्मै दोहन भइरहेको छ 

कैलालीको गोदावरी नगरपालिका– ८ र ९ मा पर्ने खुटिया नदीमा अनियन्त्रित रूपमा ढुंगा, गिट्टी, बालुवाको दोहन भइरहेको छ । मापदण्डविपरीत नदीमै एक्स्काभेटर र जेसिभी प्रयोग भइरहँदा पनि गोदावरी नगरपालिकासहित सरोकारवाला निकाय मौन छन् । 

जबकि ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन मापदण्ड, २०७७ अनुसार नदीमा एक्स्काभेटर र जेसिबी प्रयोग गर्न पाइँदैन भने क्रसर उद्योग सञ्चालन गर्दा पनि राजमार्गको राइट अफ वेबाट पाँच सय मिटर दूरी तथा खोला वा नदीकिनारबाट पाँच साय मिटर दूरी कायम गरिएको छ । 

खुटिया नदीमा चुरेको फेदीनजिक तटीय क्षेत्रमा उत्खनन तथा संकलन गर्न निषेध गरिएको छ । तर, चुरे फेदीसम्मै पुगेर ढुंगा, बालुवाको उत्खनन र संकलन भइरहेको छ । 

दैनिक दर्जनौँको संख्यामा पुग्ने ट्याक्टर, टिपरलगायत ढुवानीका साधनले प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) नगरिएका ठाउँबाट समेत ढुंगा–बालुवाको उत्खनन तथा संकलन गरिरहेका हुन् । खुटियामा एक्स्काभेटर र डोजरले खनेर ठाउँठाउँमा ठुल्ठुला खाल्डा बनाएका छन् । बर्सेनि अनियन्त्रित रूपमा भइरहेको दोहनले नदीको फैलावट क्षेत्र बढ्दै गई आसपासका बस्तीसँगै पूर्व–पश्चिम राजमार्गमा पर्ने पुल पनि जोखिममा परेका छन् ।

गोदावरी नगरपालिका– ८ स्याउलेका स्थानीय खुटिया नदी कटान रोकथाम संरक्षण संघर्ष समितिका संयोजक गोपाल देउवाले गोदावरी नगरपालिकाका जनप्रतिनिधि, ठेकेदारलगायतको मिलेमतोमै खुटियामा अन्धाधुन्ध रूपमा दोहन भइरहेको आरोप लगाए । ‘नदीमा एक्स्काभेटर र जेसिबी लगाएका हुन्छन् । कुन ठाउँबाट उठाउन पाउने, कहाँ नपाउने भन्ने अनुगमन भएको छैन, जहाँ पायो त्यहीँ उत्खनन भइरहेको छ,’ देउवाले भने, ‘मिलेमतोविना यसरी खुलेयाम दोहन हुनै सक्दैन ।’ उनले कुन ठाउँबाट कति मात्रामा उत्खनन गर्ने भन्ने कुनै मापदण्ड पालना नभएको बताए ।

स्थानीय चेतबहादुर रोकायाले बर्सेनि अयन्त्रित रूपमा दोहन भइरहँदा नदीको क्षेत्र फैलँदै गई खुटिया र बल्मी शिविरको बस्ती कटानको जोखिममा परेको बताए । उनले जथाभावी खनेर ढुंगा, बालुवा निकाल्दा नदीको धार परिवर्तन हुँदै गएकाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत खुटिया पुलसमेत जोखिममा परेको बताए । ‘दैनिक दर्जनौँ गाडी आएर जहाँ पायो त्यहीँबाट ढुंगा, बालुवा खनेर लैजान्छन्,’ रोकायाले भने, ‘अरू दुई–चार वर्ष यसैगरी दोहन भइराख्ने हो भने न वारिपारिका बस्ती रहन्छन्, न पुल ।’ 

नियन्त्रणमा लिइएका सवारीसाधन जरिवानामा छाडियो
जिल्ला समन्वय समितिले आइतबार गरेको अनुगमनका क्रममा खुटियामा आइइई नगरेका ठाउँबाट ढुंगा, बालुवा उत्खनन गरिरहेका २९ वटा ढुवानीका साधनलाई नियन्त्रणमा लिएको थियो । ती साधन जरिवाना गरेर छोडिएको छ । अनुगमनपछि पनि अनियन्त्रित दोहन नरोकिएको स्थानीयले बताएका छन् ।

गोदावरी नगरपालिकाले खुटिया नदीबाट ढुंगा, बालुवाको रोयल्टी संकलनका लागि यस वर्ष करिब ६ करोड रुपैयाँमा बाबाजी कन्स्ट्रक्सनसँग सम्झौता गरेको छ । ठूलो रकममा टेन्डर हुने भएकाले ठेकेदारले जसरी पनि पैसा उठाएर आम्दानी गर्न मनलाग्दी उत्खनन हुँदा पनि आँखा चिम्लिने गरेको छ । मेयर वीरेन्द्र भट्टले खुटियामा अनियन्त्रित दोहन भएको स्विकारे । आइइई नगरेका ठाउँबाट समेत उत्खनन भइरहेको पाइएपछि ठेकेदार कम्पनीलाई जरिवाना गरिएको र त्यसलाई रोक्न लगाएको उनले बताए । ‘आइइई नभएका ठाउँमा समेत उत्खनन भएको देखियो, ट्याक्टरचालकले जहाँ पायो त्यहीँबाट लैजाने रहेछन् । ठेकेदार कम्पनीले पनि यहीँ ठाउँबाट उठाऊ भनेको देखिएन,’ अनियन्त्रित दोहन रोक्न चुनौती रहेको उल्लेख गर्दै मेयर भट्टले भने, ‘जति गर्दा पनि नियन्त्रण हुँदैन ।’ 

चुरेको फेदी भएर बग्ने खुटिया बर्खामा उर्लिन्छ । हिउँदयाममा भने नदीमा पानी हुँदैन । जिल्ला समन्वय समितिका उपप्रमुख खगराज भुसालले खुटियामा आइइई नभएका ठाउँमा समेत मेसिन लगाएर ढुंगा, बालुवा संकलन भएको पाइएको बताए । ‘तटबन्धको मुनि समेत खनेर ढुंगा, बालुवा संकलन गर्ने गरिएको रहेछ । आइइई नगरेका ठाउँमा ढुंगा, बालुवा निकालेर ठुलाठुला खाल्डा पारिएका छन्,’ उनले भने । जिल्ला समन्वय समितिले भने गोदावरीका मेयर र उपमेयरलाई बोलाएर उत्खननको नियमित अनुगमन गर्न भनेको छ ।

उत्खननबाट वार्षिक ६ करोड आम्दानी, तर तटबन्ध र जोखिमका बस्तीमा हुँदैन लगानी 
गोदावरी नगरपालिकाले खुटिया नदीबाट ढुंगा, बालुवाको रोयल्टी संकलन गर्न यस वर्ष ६ करोडमा ठेक्का लगाएको छ । आम्दानी भने ढुंगा, बालुवा संकलन हुने क्षेत्रमा भइरहेको कटान नियन्त्रणका लागि हुन सकेको छैन । खुटियाको कटान बढ्दै गई नदीवारिपारिका खुटिया शिविर र बल्मी शिविर जोखिममा परेका छन् । कटान नियन्त्रण गर्न बृहत् रूपमा तटबन्ध निर्माणको काम भने भएको छैन । 

नदीको छेउछाउबाट अनियन्त्रित दोहन हुँदा कटानले नदीको फैलावट चाक्लिँदै गएको छ । ‘यही नदीबाट नगरपालिकाले लाखौँ आम्दानी गर्छ, तर कटान नियन्त्रणका लागि गतिलो तटबन्ध बनाइदिँदैन,’ गोदावरी– ९ बल्मी शिविरकी तुलसी रोकायाले भनिन्, ‘नदी बस्तीमा फर्केर हाम्रो वास नै उठ्लाजस्तो भइसक्यो ।’ अर्का स्थानीय शारदा धामीले नदीको डरले बर्खामा डरैडरले बस्ने गरेको बताइन् । 

स्थानीयका अनुसार तत्कालीन सात दलको निर्णयका आधारमा दुई दशकअघि चुरेका बाढीपीडित बल्मी शिविरमा बस्न थालेका हुन् । कतिपय परिवार त्यसअघि पनि त्यहाँ बस्थे । आम्दानीको केही हिस्सा लगाएर पक्की तटबन्ध निर्माण गरिदिन स्थानीयले माग गरेका छन् । 

अनियन्त्रित दोहन नियन्त्रण र तटबन्ध निर्माणको माग लिएर नगरपालिकादेखि प्रदेश सरकारसम्म गुहारे पनि सुनुवाइ नभएको स्थानीय सन्तोष आउजीले गुनासो गरे । ठेकेदार र नगरपालिकालाई जसरी पनि पैसा उठाउनमा मात्र सरोकार रहेको उनले बताए ।

‘पहिले यसरी उत्खनन हुन्थेन, बस्ती पनि जोखिममा थिएनन्, अहिले बस्तीनजिकै नदी पुगेको छ । पुलका दुवै किनारतिर कटानको जोखिम छ,’ आउजीले भने, ‘यसैगरी मनलाग्दी नदीमा खन्ने काम भइरहे दुई–चार वर्षमा नदीछेउछाउसँग जोडिएका धेरै बस्ती उजाडिन्छन् ।’ खुटिया पुलबाट करिब दुई किलोमिटर दक्षिणमा रहेको झोलुङे पुलको एउटा कुना गत बर्खामा भएको कटानले नदीको बिच भागमा परेको उनले बताए ।

‘नगरपालिकाले बर्सेनि ८–१० लाखको लगानीमा बनाउने स–सानो तटबन्ध बाढीले एकैपटक बगाएर लैजान्छ,’ संघर्ष समितिका संयोजक देउवाले भने, ‘ठुलो लगानीमा बृहत् तटबन्ध बनाउन र अनियन्त्रित दोहन रोक्न दबाब दिँदै आएका छाैँ ।’ नगर प्रमुख भट्टले संघीय सरकारको जनताको तटबन्ध कार्यक्रमसँग समन्वय गरेर खुटिया पुल र सँगै जोडिएका बस्तीमा पक्की तटबन्ध निर्माणको पहल आफूले गरिरहेको बताए ।

सुझावित समाचार