चालू आव २०८१/८२ को पहिलो सात महिनामा भने ३ सय ८६ परियोजनामा २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १८.३४ प्रतिशतले बढी हो । उद्योग विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकअनुसार गत आवको पहिलो सात महिनामा २४१ परियोजनामा २२ अर्ब ६८ करोड १५ करोड रुपैयाँ वैदशिक लगानी प्रतिबद्धता आएको थियो । गत आवभर भने ७० अर्ब दुई करोड सात लाखबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।
समीक्षा अवधिमा १७५ परियोजनामा दुई अर्ब ६२ करोड ८२ लाख रुपैयाँ लगानी ‘अटोमेटिक रुट’बाट स्वीकृत भएको छ । गत वैशाखमा सम्पन्न लगानी सम्मेलनको अवसरमा ५० करोड रुपैयाँसम्मको वैदेशिक लगानी अटोमेटिक रुटबाट स्वीकृत गर्ने व्यवस्था गरिएको थियो । यस्तै, समीक्षा अवधिमा २११ परियोजनामा २४ अर्ब २१ करोड ३४ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता कागजी प्रक्रियाबाट आएका छन् ।
तथ्यांकअनुसार समीक्षा अवधिमा तीन सय ७५ साना, सात मझौला र चार ठुला परियोजनामा विदेशी लगानी प्रतिबद्धता आएको छ । यसअनुसार उद्योग स्थापना भएमा १० हजार सात सय २६ जनाले रोजगारी पाउने विभागको भनाइ छ । विभागका अनुसार समीक्षा अवधिमा थप एक अर्ब ९४ करोड ५० लाख रुपैयाँबराबरको सेयर पर्चेज तथा सस्क्रिब्सन एग्रिमेन्ट भएको छ । यसैगरी, ४२ वटा प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता भएको विभागको भनाइ छ ।
लाभांशबाट बाहिरियो साढे आठ अर्ब
समीक्षा अवधिमा लाभांशबापत साढे आठ अर्ब रुपैयाँ बाहिरिएको छ । तथ्यांकअनुसार समीक्षा अवधिमा विदेशी लगानीकर्ताले आठ अर्ब ५३ करोड ७० लाख हजार रुपैयाँ लाभांश लगेका छन् । त्यसमा माघमा मात्रै ६ अर्ब ९२ करोड नौ लाख रुपैयाँ लाभांश लगेको देखिन्छ । गत आवको पहिलो सात महिनामा भने एक अर्ब ४१ करोड ६ लाख रुपैयाँ लाभांश बाहिरिएको थियो । गत आवभर भने १० अर्ब १८ करोड ७६ लाख रुपैयाँ लाभांश बाहिरिएको थियो । नेपालमा गरेको लगानीको नाफाबाट विदेशी लगानीकर्ताले सोबराबरको लाभांश लगेका हुन् ।
पर्यटन क्षेत्रमा उच्च आकर्षण
वैदेशिक लगानी प्रतिबद्धतामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा देखिएको छ । समीक्षा अवधिमा पर्यटन क्षेत्रका एक सय ६८ परियोजनामा १७ अर्ब ३२ करोड ७५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । कुल लगानी रकममा पर्यटन क्षेत्रको मात्रै ६५ प्रतिशत हिस्सा देखिएको छ ।
धेरै लगानी आकर्षण हुनेमा दोस्रो स्थानमा भने सेवा क्षेत्रमा रहेको छ । सेवा क्षेत्रका ४८ परियोजनामा पाँच अर्ब ६९ करोड ८७ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । तेस्रो स्थानमा भने उत्पादनमूलक क्षेत्र रहेका छन्, त्यहाँका २७ उद्योगमा दुई अर्ब १२ करोड २० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
यसैगरी, सूचना प्रविधि क्षेत्रका एक सय ३४ परियोजनामा ८० करोड ६८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । संख्याका आधारमा सूचना प्रविधि क्षेत्रमा पनि लगानीको आकर्षण उच्च देखिन्छ । यसैगरी, कृषिका ६ परियोजनामा ७४ करोड १० लाख रुपैयाँ, पूर्वाधार दुई परियोजनामा १२ करोड रुपैयाँ र ऊर्जाको एक परियोजनामा दुई करोड ५५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ ।