ऐतिहासिक मदार बाबा मेला फागुन ५ देखि सुरु हुँदै

मेलामा मदिराजन्य वस्तु विक्री वितरण र प्रयोगमा प्रतिबन्ध

शुक्रबार, २ फागुन, २०८१
डिजिटल संस्करण

नवलपुरको विनयी त्रिवेणीमा हरेक वर्ष आयोजना हुँदै आएको ऐतिहासिक मदार बाबा मेला यस वर्ष फागुन ५ गतेदेखि सुरु हुने भएको छ। हिन्दु र मुस्लिम समुदायबिचको धार्मिक सहिष्णुता र आपसी सदभावको प्रतीक मानिने यो मेला विशेषगरी नवलपुरको मदारिया पहाडमा अवस्थित मदार बाबा (मदर हसन)को मदारमा लाग्ने गर्दछ।

यहाँ नेपाल र भारतका लाखौँ हिन्दु तथा मुस्लिम धर्मावलम्बीहरूले मदारबाबाको दर्शन गर्न आउने गर्छन्। नेपाल र भारतका विभिन्न स्थानबाट हजारौँ भक्तजन तथा दर्शनार्थीहरू मेलामा सहभागी हुने गर्छन्। धार्मिक आस्था, सांस्कृतिक विविधता र व्यापारिक गतिविधिहरूको संगमस्थलका रूपमा परिचित यस मेलामा विशेष रूपमा धार्मिक अनुष्ठान, सांस्कृतिक कार्यक्रम र विभिन्न व्यापारिक स्टलहरू रहनेछन्।

मदारबाबा मेलाको मिति हिजरी पात्रोअनुसार निर्धारण गरिने भएकाले हरेक वर्ष मेलाको मिति फरक पर्ने गर्छ। स्थानीय प्रशासन, मजार व्यवस्थापन समिति तथा सरोकारवाला निकायहरूको छलफलपछि यस वर्ष फागुन ५ गतेदेखि मेलाको औपचारिक सुरुवात गर्ने निर्णय भएको हो।

दुई जिल्लाको सीमामा पर्ने भएकाले मेलालाई व्यवस्थित र सुरक्षित बनाउन नवलपुर तथा नवलपरासीका सुरक्षा निकायहरूले संयुक्त रूपमा सुरक्षा योजना बनाएका छन्। मेलामा कुनै अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षा संयन्त्रहरू विशेष सतर्कता अपनाउँदै मेलास्थलको सुरक्षा व्यवस्था कडा पार्ने भएका छन्।

नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलका अनुसार मेलाको समयमा भिड व्यवस्थापन, शान्ति–सुरक्षाको सुनिश्चितता र आकस्मिक उद्धारका लागि सुरक्षाकर्मीहरूलाई आवश्यक निर्देशन दिइएको छ । मेलास्थल वरपर निगरानी बढाइने, सिसिटिभी क्यामेरा जडान गरिने तथा शान्तिसुरक्षाका लागि विशेष गस्ती परिचालन गरिने उनले बताए।

धार्मिक एवं सांस्कृतिक महत्त्व बोकेको मदारबाबा मेला व्यापारिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ । मेलामा स्थानीय व्यवसायीहरूले व्यापार गर्दै आएका छन् भने नेपाल–भारत सीमा क्षेत्रका व्यवसायीहरूले पनि आफ्नो उत्पादन बिक्री गर्दै आएका छन्।

स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने यस मेलाले क्षेत्रीय एवं धार्मिक पर्यटनको विकासमा महत्त्वपूर्ण योगदान दिने विश्वास गरिएको छ। धार्मिक श्रद्धालुहरूका लागि मात्र नभई सांस्कृतिक अध्ययन गर्नेहरूका लागि पनि यो मेला आकर्षणको केन्द्र बन्ने गरेको छ।

मदारबाबा मेलाले धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र आपसी भाइचारा अभिवृद्धि गर्ने मात्र नभई नवलपुर तथा नवलपरासी आसपासका क्षेत्रहरूमा सामाजिक तथा आर्थिक गतिविधि प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

त्यसैगरी, शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपुरले सूचना जारी गरी मदारबाबा मेलामा मदिराजन्य वस्तु बिक्री–वितरण तथा प्रयोगमा रोक लगाएको छ । सूचनामा यस्ता कार्य गरेको–गराएको भेटिए कडा कारबाही गरिनेसमेत उल्लेख छ।

त्यसैगरी, मेलास्थलको सुरक्षाका लागि पश्चिम नवलपरासी र पूर्वी नवलपरासीका गरी सशस्त्र प्रहरी नेपाल प्रहरीलगायतका टोलीसहित चार सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए। उनले मेलाको सुरक्षाका लागि दुवै जिल्लाको सुरक्षा अधिकारीहरूको संयुक्त बैठक बसिसकेको र दुवै जिल्लाबाट संयुक्त रूपमा सुरक्षा व्यवस्था मिलाउने पनि बताए।

सुझावित समाचार