युक्रेन युद्ध अन्त्य गर्ने ट्रम्पको वाचा पूरा गर्न कठिन छ, असम्भव छैन

शुक्रबार, २ फागुन, २०८१
डिजिटल संस्करण
  • राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्ने सम्बन्धमा ठुल्ठुला अभिव्यक्ति दिएका छन् । तर, वास्तविक शान्ति सुनिश्चित गर्न विश्वव्यापी कूटनीति आवश्यक पर्छ । यो असम्भव छैन, तर यसका लागि कठिन मार्ग अवलम्बन गर्नुपर्नेछ ।

डाेनाल्ड ट्रम्पले सत्ता सम्हाले यता एकपछि अर्को कार्यकारी आदेश, नियुक्ति, भन्सार वृद्धि, धम्की र अन्य पहलमार्फत उथलपुथल ल्याइरहेका छन् । व्यस्तताबिच पनि उनले युक्रेनमा चलिरहेको युद्धको छिटै अन्त्य गर्ने वाचा गर्न पनि छुटाएका छैनन् । शुक्रबार मात्र उनले यस विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा भइसकेको बताए । यो गर्नैपर्ने काम हो र ट्रम्पसँग यस सम्बन्धमा कारगर रणनीति रहेको उनको दाबी छ । तर, युद्ध अन्त्य गर्ने उद्देश्य हासिल गर्न सजिलो भने छैन । प्रयास असफल भयो भने युद्ध थप चर्किन सक्छ । विशेष युक्रेनलाई पूर्ण उपेक्षाको रणनीति अपनाए वा रुसी सेनामाथि सीधै आक्रमण गर्ने विकल्प चुनेमा त्यस्तो स्थिति आउनेछ । 

युद्धले युक्रेन र रुस दुवैको अर्थतन्त्र, सेना र जनसंख्यालाई नराम्ररी प्रभावित बनाएको छ । हताहतको वास्तविक तथ्यांक दुवै पक्षले सार्वजनिक गरेका छैनन् । तथापि, विभिन्न प्रक्षेपणले मृत्युको संख्या लाखौँ हुन सक्ने देखाएका छन् । रुसको आक्रमणपछि युक्रेनको झन्डै एकचौथाइ हिस्सा अर्थात् एक करोड मानिस देश छाडेर पलायन भइसके । ‘युद्ध लामो र रक्तपातपूर्ण बन्ने दिशामा अघि बढेको छ । त्यसैले यसको अन्त्य अत्यावश्यक रहेको’ अमेरिकी विदेश सचिव मार्को रुबियोले हालै स्वीकार गरे । 

युद्ध अन्त्यका लागि ट्रम्पले यसका मुख्य घटकलाई वार्ताको टेबुलमा ल्याउन र त्यसपछि सम्झौतामा पुग्न मनाउनुपर्छ । युक्रेनले हाल युद्धभूमिमा सामना गरिरहेको हार र कठिनाइका कारण ऊ वार्ताका लागि केही नरम भएको छ । अब वार्ताका लागि रुसको पहलकदमी महत्वपूर्ण हुन्छ । युद्ध अन्त्य गर्ने योजनाबारे सोध्दा ट्रम्पले जनवरी २० मा ‘राष्ट्रपति पुटिनसँग कुरा गर्ने’ बताएका थिए । यसमा उनी सही छन् । रक्तपात अन्त्य गर्ने यो एक मात्र तरिका हो । तथापि, मस्कोलाई टेबुलमा ल्याउन र गम्भीर वार्तामा सरिक गराउन ट्रम्पले आफूसँग भएको सबै दबाबलाई प्रयोग गर्नुपर्छ । हुनत यसै उद्देश्यले उनले रुसलाई कडा आर्थिक प्रतिबन्धको धम्की दिइसकेका छन् । त्यस्तै, तेलको मूल्य घटाएर उनले पुटिनको युद्ध हाँक्ने मुख्य स्रोतमाथि प्रहार गरेका छन् । ट्रम्पले शान्ति स्थापनामा सहयोग गरेमा रुसलाई लागेका प्रतिबन्धमा राहत दिलाउने लोभ पनि देखाएका छन् ।

रोचक कुरा के भने ट्रम्प चीनले रुस–युक्रेन वार्तामा भूमिका खेलोस् भन्ने चाहन्छन् । यो एउटा चलाख कदम हो । चीनले रुसको युद्ध प्रयासलाई समर्थन गरेको र क्रेमलिनमाथि उसको प्रभाव भएकाले उसको संलग्नता उपयोगी हुनेछ । त्यसबाहेक, बेइजिङले युद्ध अन्त्य होस् भन्ने चाहेको बताउँदै आएको छ । तर, रुस–युक्रेन वार्तामा चीनलाई सहभागी गराउने विचार ट्रम्प प्रशासनका केही सदस्यको चीनविरोधी धारणका कारण संकटमा पर्न सक्छ । ट्रम्पको प्रशासनमा विदेशमन्त्री रुबियो पनि यसप्रति नरम छैनन् । यही एउटा कारणले यसको कार्यान्वयन कठिन छ ।

ट्रम्पले युरोपका अमेरिकी सहयोगीलाई पनि शान्ति पहललाई समर्थन गर्न मनाउनुपर्ने हुन्छ । अन्यथा तीमध्ये केहीले कूटनीतिक प्रयासलाई कमजोर पार्न सक्छन् । धेरै युरोपेली देश युद्धको समाधान उनीहरूको हितमा हुनेछ भन्ने स्विकार्छन् । तर, रुसविरुद्धको युद्धमा युक्रेनप्रतिको दृढ समर्थनका कारण तिनलाई कूटनीतिक समाधान समर्थन गर्न गाह्रो पर्न सक्छ । युक्रेन तल पर्ने खालको सहमतिलाई समर्थन गर्न नसक्ने तिनले बताउँदै आएका छन् । युरोपेली संघका लागि विदेश तथा सुरक्षा नीतिका उच्च प्रतिनिधि काजा कालासजस्ता नेताले यस विचारलाई लिएर शंका व्यक्त गरेका छन् । 

ट्रम्प यी सबै पक्षलाई वार्ताको टेबुलमा ल्याउन सफल भए भने त्यसपछि उनले विवादास्पद मुद्दाको सामना गर्नुपर्नेछ । पहिलो त भविष्यमा युक्रेनको रणनीतिक अभिमुखीकरण के हुनेछ भन्ने आधारभूत प्रश्नका जवाफ खोज्नुपर्नेछ । ऊ तटस्थ रहने, पश्चिमउन्मुख हुने वा दुवैको बिचको बाटो लिने भन्ने विकल्प बहसमा छन् । युक्रेन पश्चिममुखी हुने भन्ने अडान लिए रुसले युद्धविराम नस्विकार्न सक्छ । त्यस्तै युक्रेनले त्यस्तो आशा प्रदान नगर्ने कुनै पनि सम्झौताको विरोध जनाउन सक्छ ।

भविष्यमा रुसी आक्रमण हुँदैन भन्ने कुनै प्रकारको सुरक्षा ग्यारेन्टी समावेश नभएको सम्झौतालाई युक्रेनले अस्वीकार गर्ने निश्चित छ । त्यो ग्यारेन्टी प्रदान गर्ने विभिन्न तरिका छन् । त्यसमा युक्रेनलाई नेटोमा ल्याउनेदेखि लिएर बहुराष्ट्रिय सुरक्षा बल प्रदान गर्नेसम्म विकल्प छन् । त्यस्तै रुसले पुनः आक्रमण गरेमा किभलाई दिइँदै आएको सैन्य सहयोग दोब्बर गर्ने वाचा पनि यसै विकल्पमा पर्छ । यद्यपि, उत्तम विकल्पमा सर्वसम्मति हासिल गर्न कठिन हुनेछ । किनकि, युक्रेनका लागि के उत्तम हो भन्नेमा युरोप, अमेरिका, युक्रेन र रुसबिच फरक–फरक मत देखिन्छ । 

यसबिच, अन्य धेरै जटिल मुद्दा पनि सम्बोधन गर्नुपर्ने हुन्छ । उदाहरणका लागि रुसले कब्जा गरेका क्षेत्रमा बसोवास गर्ने युक्रेनीको स्थिति के हुने अथवा ती क्षेत्रकै स्वामित्वको प्रश्न पनि सम्बोधन गर्नुपर्नेछ । युरोपको सुरक्षा संरचनाको दूरगामी पुनर्संरचना गर्नुपर्ने भन्ने रुसको लामो समयदेखिको अवास्तविक मागले सम्झौतामा पुग्न ट्रम्पलाई धेरै कूटनीतिक मार्ग प्रयोग गर्न बाध्य पार्नेछ । उनीसँग यस अत्यन्त जटिल र चुनौतीपूर्ण कूटनीतिक कदमलाई चालेर टिक्ने धैर्यता छ कि छैन भन्ने निश्चित छैन ।

ट्रम्पले युक्रेनप्रति घातक उपेक्षाको नीति अँगाल्न सक्छन् । विशेषतः किभले कडा मोलमोलाइको रणनीति अपनायो वा पुटिनले युद्ध जित्दै छन् भन्ने ट्रम्पलाई लाग्दा उनी हार्ने घोडामा दाउ लगाउनबाट टाढिन सक्छन् । यस अवस्थामा ट्रम्पले हिंसाका लागि रुसको आलचेना गरे पनि उसको अग्रगमन रोक्न मौन रहने नीति लिन सक्छन् । अझ ठुलो खतरा ट्रम्पले वार्ता गरेपछि पुटिनसामु हार खाए भन्ने आउनेछ । उदाहरणका लागि, मानौँ पुटिनले सार्वजनिक रूपमा ट्रम्पको शान्ति योजना अस्वीकार गरे वा वार्ता चलिरहेको समयमा ठुलो आक्रमण गरे । 

ट्रम्पले सन् २०२० मा इरानका शीर्ष जनरल कासिम सुलेमानीको हत्याको आदेश दिन हिचकिचाएका थिएनन् । उनले कुनै अवस्थामा युक्रेनमा रहेका रुसीहरूविरुद्ध अमेरिकी फौज परिचालन नगराउलान् भनेर ठोकुवा गर्न सकिँदैन । त्यसो भए विश्वका दुई आणविक शक्तिबिच आमनासामना हुनेछ । त्यसपछि विश्वको शान्ति नै जोखिममा पर्नेछ । युक्रेन–रुसबिचको दुःखद युद्ध वार्ताको बाटोमा मोडिनेछ कि छैन भन्ने विषय अर्को एक वा दुई महिनामा निश्चित भइसक्नेछ । ट्रम्पले यस अवधिभित्र युद्धविराम हुन सक्ने परिकल्पना गरेका छन् । तर, त्यो असम्भव छ । तथापि, उनको प्रशासन उनीहरू शान्तिको सफल प्रयासका लागि आवश्यक पर्ने कूटनीतिक कदम सुरु गर्न गम्भीर छ कि छैन भन्ने स्पष्ट गर्नुपर्छ । उनीहरू गम्भीर नै होलान् भन्ने आशा मात्र गर्न सकिन्छ । अमेरिकाका लागि, युक्रेनका लागि र विश्वका लागि यो युद्ध अन्त्य गर्न धेरै ढिलो भइसकेको छ ।

– द गार्जियनबाट

See More On

सुझावित समाचार