साइकल सिटी भैरहवाले बुद्ध ज्ञान साइकल यात्रा–०८१ दोस्रो संस्करण फागुनमा गर्ने भएको छ। गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँगै बुद्धसँग सम्बन्धित रुपन्देही, नवलपरासी र कपिलवस्तका पुरातात्विक बुद्धस्थललाई समेटेर १६ र १७ फागुनमा बुद्ध ज्ञान साइकल यात्रा गर्न लागेको साइकल सिटी भैरहवाका अध्यक्ष सूर्यकुमार सारूमगरले बताए।
लुम्बिनीको पर्यटन प्रवर्द्धन, स्वास्थ्य, पर्यावरण र व्यापार व्यवसाय वृद्धिका लागि गत वर्षदेखि साइकल सिटी भैरहवाले बुद्ध ज्ञान साइकल यात्रा गर्न लागेको हो। १६ र १७ फागुनमा हुने साइकल यात्रामा सार्क मुलुकका साइकिलिस्टसहित दुई सय सहभागी हुने अध्यक्ष सारूमगरले बताए।
१६ फागुनमा भैरहवाबाट सुरु हुने साइकल यात्राको पहिलो दिन नवलपरासीको रामग्राम हुँदै रुपन्देहीको देवदहको पण्डितपुर, बुद्ध मावली भवानीपुर, बौद्धकालीन पाकरी रुख हुँदै तिलोत्तमा नगरपालिकाको वनबाटिका, बुटवलको जितगढी किल्ला हुँदै भैरहवासम्म हुनेछ ।
यसैगरी, दोस्रो दिन भैरहवाको बसडिलवास्थित शिवमन्दिरबाट सुरु भई शुद्धोदन गाउँपालिकामा रहेको बुद्धकालीन भुवनेश्वर मन्दिर, गैडहवा गाउँपालिकाको गैडहवा ताल, यशोधरा पार्क हुँदै कपिलवस्तुको मानव निर्मित जगदीशपुर ताल, सग्रहवा, राजा शुद्धोदनको प्राचीन दरबार तिलौराकोट, कुछन्द बुद्धले ज्ञानप्राप्त गरेको स्थान गोटिहवा, कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा, भगवान बुद्ध र उनको छोरा पहिलोपटक भेट भएको स्थान कुदान हुँदै भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आएर समापन गरिने कार्यक्रम संयोजक शैलेन्द्र श्रेष्ठले जानकारी दिए।
आन्तरिक र बाह्य पर्यटकको नजरमा लुम्बिनीबाहेकका अन्य बुद्धसँग जोडिएका स्थान सधैँ ओझेलमा परेको हुनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुई सय साइकिलिस्टलाई सहभागी गराएर साइकल यात्रा गराउन लागेको अध्यक्ष सारूमगरले बताए।
सहभागी साइकिलिस्टहरूले पहिलो दिन करिब ९० किलोमिटर र दोस्रो दिन ८५ किलोमिटर दूरी तय गरेर बुद्धसँग सम्बन्धित विभिन्न स्थानको अवलोकन भ्रमण र जानकारी प्राप्त गर्नेछन्। सहभागी साइकिलिस्टहरू १५ फागुनमा भैरहवा आएर बस्नेछन्। समापनको दिन १७ फागुनमा लुम्बिनी बस्ने गरी कार्यक्रम तय गरिएको छ।