कोशी प्रदेश प्रिमियर लिग : पाँचथर अन्तिम चारमा, लोहरुङ बाहिरियो

बिहिबार, १ फागुन, २०८१
डिजिटल संस्करण

धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगितामा समूह एबाट समूह विजेता हुँदै पाँचथरको पाँचथर युनाइटेड अन्तिम चारमा प्रवेश गरेको छ । बिहीबार धरान रंगशालामा सम्पन्न खेलमा संखुवासभाको लोहरुङ फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै पाँचथर समूह विजेता बनेको हो ।

समूह विजेता भएसँगै पाँचथर लिगको अन्तिम चारमा प्रवेश गरेको छ । पाँचथरका लागि विजयी गोल सन्तोष सम्बाहाम्फेले गरेका थिए । खेलको म्यान अफ द म्याच पाँचथरका बेघम गुरुङ घोषित भए । उनलाई नगद पाँच हजार पुरस्कार प्रदान गरिएको थियो । समूह एमा दुई टिम मात्रै भएकोले एकै खेलबाट समूह विजेताको टुंगो लागेको थियो । पराजित लोहरुङ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

बिहीबार नै समूह सीअन्तर्गत सम्पन्न खेलमा इलामको रेडहर्ष क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै धनकुटाको देउराली फुटबल क्लबले समूह विजेता हुने सम्भावना कायमै राखेको छ । समूह सीमा झापाको धाइजन चारआलीसँग पराजित भएको धनुकटा र एक खेल खेलेको धाइजनको समान तीन अंक भएको छ । भोलि हुने रेडहर्ष क्लब इलाम र धाइजन चारआली फुटबल क्लबबिचको खेलबाट समूह विजेताको टुंगो लाग्नेछ । यस समूहमा रहेका तीनवटै क्लबको दोस्रो चरणमा पुग्ने सम्भावना छ ।

भोलि सुनसरीको धरान फुटबल क्लब र खोटाङको बुइपा–११ बिच पहिलो खेल हुनेछ भने इलामको रेडहर्ष क्लब र झापाको धाइजन चारआली फुटबल क्लबबिचको दोस्रो खेल हुनेछ । तीन अंक भएको बुइपा र शून्य अंक भएको धरान दोस्रो चरण प्रवेशका लागि खेल्नेछन् । धरानले दुई गोलअन्तरमा बुइपालाई पराजित गर्दा मात्रै दोस्रो चरणमा पुग्नेछ भने बुइपा भने एक गोलअन्तरले पराजित हुँदा पनि दोस्रो चरणमा प्रवेश गर्नेछ ।

कोशी प्रदेश फुटबल संघको आयोजनामा ८ फागुनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरूको सहभागिता रहेको कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले जानकारी दिए । ११ जिल्लाका जिल्ला च्याम्पियन क्लबहरूलाई चार समूहमा विभाजन गरिएको छ । समूह विजेताहरूले लिगको उपाधिका लागि पुनः खेल्नेछन् ।

लिगको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनोटका लागि हुने अन्तरप्रादेशिक लिग खेल्न छनोट हुनेछन् । लिग विजेताले दुई लाख, उपविजेताले एक लाख ५० हजार, तेस्रो हुने टिमले एक लाख २५ हजार र चौथो हुने टिमले एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

सुझावित समाचार