नेपाल विद्यार्थी संघले सरकारले ल्याएको सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी विधेयकविरुद्ध प्रदर्शन गरेको छ। संघका नेता-कार्यकर्ताले बुधबार विधेयकविरुद्ध माइतीघरमा प्रदर्शन गरेका हुन्।
विधेयकमा रहेका प्रावधानले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको अधिकार र गोपनीयताको अधिकारलाई गम्भीर रूपमा खतरामा पार्ने देखिएको संघका केन्द्रीय सदस्य विजय ढुंगानाले जानकारी गराए। विधेयकमा राखिएका व्यवस्थाहरू खुला छलफल गरेर संशोधन गर्नुपर्ने उनले माग राखे।
विधेयक अभिव्यक्ति स्वतन्त्रताको हकविरुद्ध रहेको भन्दै प्रतीकात्मक विरोध गरिएको थियो।प्रदर्शनमा कांग्रेसको सूचना लेखेको प्लेकार्डसहित विद्यार्थीहरूले विरोध गरेका थिए। राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र स्वतन्त्रताका सूचकका रूपमा चार ताराको व्याख्या गर्ने गरिएको छ। चारवटा मध्ये एउटा तारालाई अभिव्यक्ति स्वतन्त्रताका रूपमा परिभाषित गरिन्छ। साथै, ‘डियर केपी बा समृद्ध नेपालमा बोल्न पाइन्न र?’ ‘नियमन चाहिएको हो, नियन्त्रण होइन,’ ‘प्रश्नसँग डराएको सरकार’लगायतका नारासहित विरोध गरिएको थियो।
सामाजिक सञ्जाल विधेयकमा विवादास्पद विषयहरूमा वास्तविक पहिचान दर्ता गर्न बाध्य बनाउने, ‘अश्लील’ र घृणा शब्दहरूको परिभाषा अस्पष्टता, सरकारलाई इन्टरनेट प्रयोगकर्ताहरूको गतिविधिमा निगरानी, दण्डहरू अनुपातहीन, कारबाही गर्ने अधिकार अदालतबाहिर हुनुलगायत रहेको संघले जनाएको छ।