कांग्रेस नेता डा. शेखर कोइरालाले दुईतिहाइको सरकारलाई संसद् छलेर अध्यादेश ल्याउनु जरुरत नभएको बताएका छन् । सोमबार जिपी कोइराला फाउन्डेसनले भक्तपुरमा आयोजना गरेको ‘राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा उनले संसद् छलेर अध्यादेशबाट देश चलाउने अभ्यास गलत भएको बताए ।
कोइरालाले राजनीतिक स्थायित्वका लागि आफूले नै कांग्रेस र एमालेबिच सहकार्यका लागि पहल गरेको, तर सरकारको कामले भने आफू सन्तुष्ट हुन नसकेको बताए । ‘अध्यादेशबाट देश चल्ने भनेको निरंकुशताको प्रस्थानविन्दु हो । हुन त कांग्रेस र एमालेको सरकार बन्नुपर्छ भनेर भन्ने पहिलो व्यक्ति म नै हो । ओलीजीसँग दुई–चार राउन्ड कुरा गरिसकेको थिएँ, त्यसपछि भनेको हो,’ उनले भने, ‘अध्यादेशबाट देश चलाउने कल्चर नै होइन, कांग्रेसको । डेमोक्रेसीमा भरसक हामीले संसद्बाटै नियम, कानुन, ऐन बनाउनुपर्छ । हामीले संसद् छलेर जान खोज्यौँ भने काम लाग्दैन । दुईतिहाइ बहुमत छ, छल्नुपर्ने जरुरत नै छैन ।
फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले कांग्रेस सरकारमा रहे पनि सन्तुष्ट हुने अवस्था नरहेको बताइन् । कांग्रेस नेतृत्व कमजोर हुँदा प्रधानमन्त्री केपी ओली हाबी भएको उनको भनाइ थियो । ‘आज यो देश कांग्रेसले होइन एमालेले हाँकिरहेको छ । ओलीजीले नेतृत्व लिएर देश हाँकिरहनु भएको छ । कांग्रेस स्याडोमा परेको छ,’ उनले भनिन्, ‘शेरबहादुरजीको कुनै विचार छैन, उहाँ काम नै गर्नुहुन्न । उहाँ दिनभरि के गर्नुहुन्छ भगवान् जानून् । उहाँले कांग्रेस हाँक्न सकिरहनुभएको छैन ।’