माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारले ल्याएको अध्यादेश संसदबाट पारित नहुने बताएका छन् । माओवादी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङको दोस्रो नगर अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले अध्यादेशको विषयमा सत्ता पक्षकै नेताहरू एक मत नरहेको बताए ।
पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले निर्वाचनमा लड्ने, जित्ने र सरकार बनाउने मात्र माओवादीको कार्यदिशा नभएको प्रष्ट पारे । ‘माओवादी जनताको पार्टी हो । जनताको हक, अधिकार र सुविधाका लागि सरकार, सदन र सडकमा लडिरहन्छ,’ उनले भने, ‘माओवादीले क्रान्ति छाडेको छैन । प्राप्त उपलब्धीहरूको रक्षा गर्दै सामाजिक रुपान्तरणका लागि लडिरहन्छ ।’
नेता श्रेष्ठले माओवादीको ध्यान सरकार ढाल्ने र बनाउनेमा नभइ राष्ट्रिय स्वाधिनता तथा संविधानको रक्षा, शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न र सामाजिक रुपान्तरणमा केन्द्रित रहेको बताए । माओवादी सरकारमा हुँदा देशमा सुशासन कायम गर्ने अभियान थालेको नेता श्रेष्ठले दाबी गरे । ‘हाम्रो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले देशमा सुशासन कायम गर्न अभियान थालेको थियो । त्यो सरकारमा म उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा धेरै राम्रा कामहरु सुरु गरेका छौँ,’ उनले भने, ‘हामीले गरेको कामले संसारभर प्रशंसा भइरहेको छ । पूरा कार्यकाल काम गर्न नपाए पनि अहिले शीर ठाडो गरेर हिँड्ने वातावरण सिर्जना भएको छ ।’
दिक्तेलीसथत जिल्ला समन्वय समितिको समिक्षालय हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले अहिलेको सरकार भ्रष्टचारीको संरक्षक बनेको दाबी गरे ।
उद्घाटन कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्यहरू समिता कार्की अस्मिता र दुर्गाजयन्ती राई, केन्द्रीय सदस्य ध्रुब बुढाथोकी धिरेन लगायतले सम्बोधन गरेका थिए । खबरदारी सभा समेत भनिएको कार्यक्रममा एकीकृत समाजवादी खोटाङका जिल्ला सदस्य हर्कराज राई, वडा सदस्य एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका पार्टी अध्यक्ष वीरेन्द्र राई लगायत विभिन्न पार्टी परित्याग गरेका दर्जनबढी नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् ।