ट्रम्पले राजकुमार ह्यारीलाई निर्वासन नगर्ने

आइतबार, २७ माघ, २०८१
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजकुमार ह्यारीको आप्रवासन स्थितिमाथि प्रश्न गर्दै चलिरहेको मुद्दाका बाबजुद उनलाई संयुक्त राज्य अमेरिकाबाट निर्वासन नगर्ने बताएका छन्।

शुक्रबार न्युयोर्क पोस्टसँगको अन्तर्वार्तामा ट्रम्पले ह्यारीविरुद्ध कुनै कारबाही नगर्ने स्पष्ट पारेका हुन्। ‘म त्यसो गर्न चाहन्नँ,’ ट्रम्पले भने, ‘म उहाँलाई एक्लै छोडिदिन्छु । उहाँकी श्रीमतीसँग पर्याप्त समस्या छ । उहाँकी श्रीमती भयानक हुनुहुन्छ ।’

यो बयान ह्यारीको भिसासम्बन्धी कानुनी चुनौतीहरूका बिच आएको हो । विशेषगरी हेरिटेज फाउन्डेसनले उनको भिसा आवेदन प्रक्रियामा विगतको गैरकानुनी लागुपदार्थ प्रयोगबारे खुलासा नगरेको सम्भावनाबारे चिन्ता व्यक्त गरेको रिपोर्टमा उल्लेख छ ।

न्युयोर्क पोस्टले ट्रम्पले ह्यारीका अलग भएका जेठा दाजु राजकुमार विलियमप्रति प्रशंसा व्यक्त गर्ने मौका पनि लिएको र उनलाई ‘एक महान् युवा’ भनेका उल्लेख गरेको छ।

दुईजनाले सन् २०२४ डिसेम्बरमा नोट्रे–डाम क्याथेड्रलको पुनः उद्घाटनका क्रममा पेरिसमा गोप्य रूपमा भेट गरेका थिए। उक्त भेट ह्यारी र उनकी श्रीमतीसँग ट्रम्पको तनावपूर्ण सम्बन्धको विपरीत थियो।

ड्युक र डचेस अफ ससेक्स मेघन मर्केल लामो समयदेखि ट्रम्पको मुखर आलोचक रहँदै आएका छन्। मर्केलले अघिल्लो सार्वजनिक बयानहरूमा ट्रम्पलाई ‘विभाजनकारी’ र ‘महिलाविरोधी’ भनेकी थिइन् भने ट्रम्पले नियमित रूपमा ह्यारीको उपहास गर्दै राजकुमार मेघनद्वारा ‘नियन्त्रित’ भएको दाबी गरेका थिए। ‘मलाई लाग्छ बिचरा ह्यारी मेघनको पूर्ण नियन्त्रणमा हुनुहुन्छ,’ अघिल्लो अन्तर्वार्ताको ट्रम्पको टिप्पणी न्युयोर्क पोस्टले उल्लेख गरेको छ।

हेरिटेज फाउन्डेसनले होमल्यान्ड सेक्युरिटी विभागविरुद्ध दायर गरेको मुद्दाले ह्यारीको अमेरिकी भिसा आवेदनमा ह्यारीको आत्मकथा ‘स्पेयर’मा कोकिन, गाँजा र साइकेडेलिक्सलगायतका लागुपदार्थको विगतको प्रयोगबारे गरिएको स्वीकारोक्तिलाई उद्धृत गर्दै उनको इमानदारीमाथि प्रश्न उठाएको छ।

हेरिटेज फाउन्डेसनका नाइल गार्डिनरले भने, ‘संयुक्त राज्य अमेरिकामा आवेदन दिने जोसुकैले आफ्नो आवेदनमा सत्य बोल्नुपर्छ र राजकुमार ह्यारीको मामलामा यो स्पष्ट छैन,’ न्युयोर्क पोस्टले उल्लेख गरेको छ।

ह्यारी र मेघन बेलायती शाही परिवारबाट बाहिरिएपछि सन् २०२० मा क्यालिफोर्नियामा सरेका थिए र यसलाई रूपमा ‘मेगजिट’ भनिन्छ। त्यसपछि बाइडेन प्रशासनबाट विशेष व्यवहार पाएको हुन सक्ने बताइएको छ।

सुझावित समाचार