क्लाउड पुँजी मोडेलले सार्वजनिक बहसलाई विषाक्त बनाउनेछ, जसले लोकतान्त्रिक संस्थालाई कमजोर पार्न
पश्चिम युद्धको तयारीमा छ । जर्मन सरकारले नागरिकलाई नजिकको बंकर पत्ता लगाउन मद्दत गर्ने एप विकास गर्दै छ । स्विडेनमा ‘यदि संकट वा युद्ध आउँछ भने के गर्ने’ शीर्षकको ३२ पृष्ठ लामो पुस्तिका प्रकाशित गरिएको छ भने फिनल्यान्डमा युद्धको सामना कसरी गर्ने भनेर बनाइएको दस्ताबेज लाखौँपटक डाउनलोड गरिएका छन् । प्रतिष्ठित पत्रपत्रिकाले युद्ध रणनीति प्रकाशित गरिरहेका छन्, जसमा रुसले चीनको समर्थनमा नर्वेको आर्कटिक टापु कब्जा गर्ने सम्भावना चित्रित गरिएका हुन्छन् । युरोपियन युनियनका शीर्ष अधिकारी युरोपको दीर्घकालीन न्यून लगानी प्रवृत्तिलाई सुधार्ने उपाय भनेकै हतियार उद्योग हो भन्न थालेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड र पनामा नहर कब्जा गर्ने बताइरहेका छन् । यी सबैबिच ताइबान, फिलिपिन्स र साउथ चाइना सीमा संकट निम्तिरहेको छ ।
ट्रम्प र उनका राजनीतिक प्रतिद्वन्द्वी प्रायः कुनै पनि विषयमा सहमत हुँदैनन् । तर, उनीहरू एक कुरामा भने एकमत छन,् अर्थात् अमेरिका थुसिडाइडसको पासोमा फसिरहेका छन् । यसलाई हार्वर्ड विश्वविद्यालयका ग्राह्म एलिसनले परिभाषित गरेका हुन् । उनका अनुसार यो त्यस्तो अवस्था हो, जहाँ एक स्थापित महाशक्ति उदीयमान शक्तिसँग (चीनसँग) संघर्ष गर्न बाध्य हुन्छ । त्यसैगरी पश्चिमी राष्ट्र ओइडिपस पासोमा फस्ने जोखिम मोलिरहेका छन्, अर्थात् संकट रोक्ने प्रयासकै कारण संकट झन् गम्भीर हुने सम्भावना छ । ग्रिक किंवदन्तीका पात्र ओडिपसले आफ्ना पिता लाइअसको हत्या गरेका थिए, जबकि ओइडिपस आफूले आफ्नै पिताको हत्या गर्ने भनेर दिइएको श्राप असफल बनाउन कठोर उपाय अपनाएका थिए, तर अन्ततः त्यही उपायले श्रापलाई साकार बनाइदियो । यी दुवै पासोमध्ये कुनै एकले पनि विनाशकारी युद्ध निम्त्याउन सक्छ ।
यसैबिच हामी क्रमशः क्लाउड पुँजी (प्रयोग भइरहेका डिजिटल उपकरणका तथ्यांक राख्ने प्रणाली) को नियन्त्रणमा छौँ, अर्थात् अन्तरजडित मेसिन, जसले हाम्रो चाहनालाई आकार दिन्छ, त्यसलाई बजारबाहिर हामीलाई नै बेच्ने गरी एल्गोरिदम चलाइन्छ । औद्योगिक मेसिनभन्दा फरक क्लाउड पुँजीले हाम्रो व्यवहार परिवर्तन गर्न सक्ने शक्ति राख्छ, जसले यसका मालिक अर्थात् हाम्रा प्रविधि–सामन्तलाई अभूतपूर्व प्रभुत्व दिन्छ । यसले थुसिडाइडस र ओडिपस पासोलाई चार प्रमुख ढंगले थप गम्भीर बनाउँछ ।
पहिलो, आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सँगको संयोजनले क्लाउड पुँजीले लक्षित विनाशका लागि व्यापक रूपमा हतियार प्रयोग गर्ने झन्झट घटाउँछ । एआईयुक्त अनुहार पहिचान प्रणाली भएका माइक्रोड्रोनलाई सहरी क्षेत्रमा पठाएर निश्चित लक्ष्य नष्ट गर्न गम्भीर बमवर्षक प्रयोग गर्नुभन्दा धेरै सस्तो पर्छ । त्यसैगरी, नेताका लागि यस्ता आक्रमणको नैतिक औचित्य प्रस्तुत गर्नु थप सहज बन्छ ।
दोस्रो सामाजिक सञ्जाललाई सामथ्र्य दिने क्लाउड पुँजीले अधिकतम आम्दानी सुनिश्चित गर्न संलग्नता ‘इंगेजमेन्ट’ वृद्धि गर्ने गरी आफूलाई अनुकूल बनाउँछ । यसको सबैभन्दा सजिलो उपाय भनेको हामीलाई उत्तेजित, क्रोधित र एक–अर्काप्रति आक्रामक बनाउनु हो । यो व्यावसायिक मोडेलले सार्वजनिक बहसलाई विषाक्त बनाउनेछ, जसले लोकतान्त्रिक संस्थालाई कमजोर पार्नेछ । यी संस्थाले अहिलेसम्म आक्रामक नेता र सैन्य कमान्डरलाई केही हदसम्म नियन्त्रणमा राख्ने क्षमता राखेका थिए ।
तेस्रो क्लाउड पुँजीले युरोपलाई यति कमजोर बनाएको छ कि अब उसले शीतयुद्धको समयमा खेलेको समन्यायको भूमिका पनि निभाउन सक्दैन । यसको मुख्य कारण अधिकांश क्लाउड पुँजी अमेरिका र चीनमा केन्द्रित हुनु हो । किनभने ठुलो मात्रामा क्लाउड पुँजीको उपस्थिति आर्थिक र राजनीतिक शक्ति हासिल गर्ने पूर्वसर्त बनिसकेको छ र युरोप क्रमशः अप्रासंगिक बन्दै गएको छ । चौथो, चीनमा क्लाउड पुँजीले अमेरिकाको अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा रहेको लगभग एकाधिकारलाई चुनौती दिने शक्तिशाली प्रतिस्पर्धी सिर्जना गरेको छ । यसले लामो समयसम्म अमेरिकी सरकारलाई इच्छाअनुसार कुनै पनि देश वा व्यक्तिमाथि प्रतिबन्ध लगाउने छुट दिएको थियो । यो चुनौती चिनियाँ एआई कम्पनी ‘डिपसिक’को उदयले अमेरिकाभित्र निम्त्याएको तनावभन्दा धेरै महŒवपूर्ण छ । डिपसिकको पछिल्लो प्रविधिले अमेरिकी सेयर बजारमा १० खर्ब डलरको घाटा गराए पनि यो अमेरिकी वित्तीय प्रभुत्वमाथि परिरहेको गहिरो चुनौतीको तुलनामा सानो हो ।
चीनको मुख्य चुनौती प्रविधिसँग नभई अमेरिकासँगको गहिरो असन्तुलनबाट उत्पन्न हुन्छ । वाल स्ट्रिट (अमेरिकी सेयर बजार) ले सिलिकन भ्याली (अमेरिकाको प्रमुख प्रविधि उद्योग भएका स्थान) लाई आफ्नो वित्तीय आम्दानी खोस्न सक्ने प्रतिस्पर्धीका रूपमा हेर्छ, जहाँ संघीय बैंक फेडरल रिजर्भको समर्थन वाल स्ट्रिटलाई प्राप्त हुन्छ । तर, चीनको वित्तीय क्षेत्र, केन्द्रीय बैंक र ठुला प्रविधि कम्पनी एउटै लक्ष्यमा मिलेर काम गर्छन् । नतिजा निजी तथा सार्वजनिक सहकार्यमा आधारित, सहज र निःशुल्क डिजिटल भुक्तानी प्रणाली पश्चिमा राष्ट्रले प्रतिस्पर्धा गर्न नसक्ने स्तरको छ ।
हाल चीनको भुक्तानी प्रणाली सुगम र बहुप्रवाहयुक्त राजमार्गजस्तै देखिन्छ, जसलाई देशबाहिरका थोरैले मात्र प्रयोग गर्छन् । तर, यसले डलर–आधारित अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको एकाधिकारलाई दीर्घकालीन रूपमा चुनौती दिने खतरा सिर्जना गरेको छ । त्यसैगरी यसले चिनियाँ सरकार र त्यसका साझेदारलाई अमेरिकी प्रतिबन्धको भय कम गर्ने विकल्प उपलब्ध गराएको छ । निरन्तर दोहोरिने नकारात्मक प्रतिक्रिया चक्रभित्र चीनको यो नयाँ आत्मविश्वासले अमेरिकालाई झन् कठोर रूपमा उसलाई दबाउन प्रेरित गरिरहेको छ । आजकल शान्तिभन्दा युद्धको संकेत धेरै देखिन्छ । यसले केवल पहिलेका प्रसिद्ध रणनीतिक पासाको प्रभावलाई मात्रै झल्काउँदैन, तर हामीलाई ती पासोभित्र धकेलिरहेको प्रविधि–सामन्तवादको उदयलाई पनि उजागर गर्छ ।
(ग्रिसका पूर्वअर्थमन्त्री भारुफाकिस एथेन्स विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन्)
प्रोजेक्ट सिन्डिकेटबाट