ट्रम्प फर्किएसँगै बदलिँदै छ चीन–भारत सम्बन्ध

सम्बन्धमा आएको सुधारसँगै भारतीय अधिकारीहरूले देशमा चिनियाँ लगानी आकर्षित गर्न नयाँ रुचि देखाएका छन्

मंगलबार, २२ माघ, २०८१
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस फर्कनुभन्दा केही अघि ब्रिक्स समूहका सदस्य राष्ट्रहरूलाई एउटा चेतावनी दिए । ट्रम्पले आफ्नो स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लाटफर्म ‘ट्रुथ सोसियल’मार्फत नौ सदस्य रहेको उक्त समूहलाई डलरको विश्वव्यापी प्रभुत्वलाई चुनौती दिने प्रयास नगर्न चेतावनी दिए । आफूले भनेजस्तो नभएर ती मुलुकका सामान अमेरिका आयात हँुदा १०० प्रतिशत भन्सार कर लगाउने उनको धम्की थियो । ब्रिक्सविरुद्ध आक्रोश पोख्दा ट्रम्पले आफ्नो सहयोगी मुलुक भए पनि यसको संस्थापक सदस्य भारतलाई पनि बाँकी छाडेका थिएनन् ।

हुन त हालसम्म भारतले डलरप्रतिको आफ्नो प्रतिबद्धतालाई दोहो¥याएर ट्रम्प प्रशासनसँगको सम्भावित टकरावबाट जोगिएको छ । तर, समय–समयमा हुने यस्तै नीतिगत फेरबदलका कारणले भारत सरकार अहिले चुपचाप चीनसँग नजिकिरहेको छ, जसले ठुलो भूराजनीतिक परिवर्तन निम्त्याउन सक्छ । हुन त ट्रम्पको आगमनदेखि नै चीन–भारत सम्बन्धमा देखिने गरी न्यानोपन बढ्न थालेको थियो । सम्बन्धले अहिले तीव्रता पाएको हो ।

गत अक्टोबरमा चीन र भारतले आफ्नो हिमाली सिमानामा वर्षौँदेखिको सैन्य गतिरोध अन्त्य गर्ने सम्झौता गरे । उक्त सम्झौताले रुसको काजानमा भएको ब्रिक्स शिखर सम्मेलनको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच बैठकको आधार तयार ग¥यो । सम्बन्धमा आएको सुधारसँगै भारतीय अधिकारीहरूले देशमा चिनियाँ लगानी आकर्षित गर्न नयाँ रुचि देखाएका छन् ।

चीनसँगको सम्बन्ध सुधारिँदै जाँदा अमेरिका–भारत सम्बन्ध भने चिसिँदै गएको देखिन्छ । गत अगस्ट महिनामा  जनआन्दोलनको बलमा भारतनिकट मानिने बंगलादेशी प्रधानमन्त्री शेख हसिना पदच्युत भइन् । यसलाई मोदीनजिकका सञ्चारमाध्यम, सामाजिक सञ्जालका व्यक्तित्व र हिन्दु अतिवादी समूहहरूले ‘सिआइए प्रायोजित सत्ता परिवर्तनको कदम’को रूपमा चित्रण गरे  । कतिपयले भारतलाई अस्थिर बनाउन अमेरिकाको ‘डिप स्टेट’बाट थप प्रयास हुने चेतावनीसमेत दिएका छन् ।

मोदी नेतृत्वको भारतीय सत्तारूढ दल ‘भारतीय जनता पार्टी(भाजपा)’ले त्यसवेलादेखि अमेरिकीविरोधी भावनालाई उचालिरहेको छ । त्यही समयतिर भारतीय अर्बपति व्यापारी गौतम अडानीलाई अमेरिकामा धितोपत्र ठगी र घुसखोरीको आरोप लाग्यो । मोदीनिकट मानिने अडानीमाथि लागेको यस आरोपलाई पनि भारत सरकारलाई कमजोर पार्ने प्रयासका रूपमा व्याख्या गरिँदै छ । अमेरिकाविरुद्ध भाजपाले प्रयोग गरिहेको बयानबाजी शीतयुद्धकालीन समयको सम्झना दिलाउने खालको छ । शीतयुद्धमा नामले मात्र ‘असंलग्न’ भनिने भारत अमेरिकी हस्तक्षेपको डरले सोभियत संघसँग नजिक थियो ।

यो परिवर्तन धेरै पक्षबाट निर्देशित छ । जसमा मुख्य भूमिका अमेरिकाको समर्थनमा आइरहेको क्षयीकरण र वैश्विक नेतृत्वप्रति उसको घट्दो इच्छाले खेलेको छ । त्यस्तै, आंशिक प्रभाव चीन र भारतबिच आफ्नो हित सबल बनाउने प्रयास पनि छ । विश्वव्यापीकरणले विश्व अर्थतन्त्रलाई नै पुनः आकार दिइरहेको समयमा, अमेरिकासँग अब भारतजस्ता देशहरूलाई दिन धेरै कुरा बाँकी छैन । यसविपरीत, आजको दिनमा विश्वव्यापी आपूर्ति शृंखलामा, चीन उत्पादनको महाशक्ति राष्ट्र हो । यसलाई, विश्वमा हुने कुल औद्योगिक उत्पादनको ३१ प्रतिशत हिस्सा चीन मात्र हुने तथ्यले देखाउँछ ।

औद्योगिक आधार विस्तार गर्ने भारतको प्रयासलाई चीनले सघाउन सक्छ । भारत सरकारको वार्षिक आर्थिक सर्वेक्षणले नै यस अनिवार्यतामाथि प्रकाश पारेको छ । सर्वेक्षणले ‘भारतीय उत्पादनलाई बढावा दिन र भारतलाई विश्वव्यापी आपूर्ति शृंखलामा जोड्न चीनको आपूर्ति शृंखलामा जोड्नुपर्ने’मा जोड दिएको छ । यसका लागि, प्रतिवेदनले चिनियाँ विदेशी प्रत्यक्ष लगानी (एफडिआई) आकर्षित गर्न केन्द्रित व्यावहारिक दृष्टिकोणको वकालत गरेको छ ।

केहीअघिसम्म भारतमा चीनसँग सहकार्य बढाउने विषयमा खुला सरकारी समर्थन कल्पनासमेत गर्न सकिँदैनथ्यो । सन् १९६२ मा चीनसँग युद्ध लडेदेखि भारतले सो छिमेकी मुलुकसँग शत्रुतापूर्ण सम्बन्ध कायम राख्दै आएको छ । सन् २०२० मा भारतको लद्दाख क्षेत्रमा चिनियाँ फौजसँग भएको झडपमा २० भारतीय सैनिक मारिएपछि नयाँदिल्लीले चिनियाँ लगानी र आयातमा झन् व्यापक कडाइ ग¥यो । उसले कार्यकारी भिसामा समेत सीमा तोक्यो । चिनियाँ एप भारतीय प्रयोगकर्ताका मोबाइलमा चल्न छाडे । तर, यी कदमले उल्टो चिनियाँ आयातमा निर्भर भारतीय व्यवसायलाई नै नोक्सान पु¥यायो । यसले भारतलाई आवश्यक रहेको महŒवपूर्ण लगानीबाट वञ्चित हुनपुग्यो । भारतले वैदेशिक प्रत्यक्ष लगानी (एफडिआई)मा गिरावट सामना गरिरहेकै समयमा चिनियाँ लगानीमा प्रतिबन्ध गरेको थियो ।

विश्वव्यापी आपूर्ति शृंखला चीनबाट अन्यत्र सर्न थालेको छ । चिनियाँ उत्पादक पश्चिमासँग सुमधुर सम्बन्ध भएका र पश्चिमसँग नजिक भूभागमा आफ्ना आधार सारिरहेका छन् । चीनले हरित परियोजनामा गर्ने लगानी सन् २०२३ मा एक वर्षअघिको भन्दा तीन गुणा बढेर १६० अर्ब डलर पुग्यो । त्यसको ठुलो हिस्सा भियतनाम, इन्डोनेसिया, हंगेरी र सर्बियाजस्ता देशहरूमा गयो । उच्च बेरोजगारी र युवाहरूमाझ उच्च बेरोजगारीसँग जुधिरहेको भारत यस प्रवृत्तिबाट फाइदा लिन उत्सुक छ ।

कुनै समय ‘एफडिआई’को प्रमुख स्रोत अमेरिका अहिले घरेलु उत्पादनलाई बढाउन लागेकाले भारतसँग लगानीका लागि प्रतिस्पर्धा गरिरहेको छ । ट्रम्पको नेतृत्वमा यो प्रतिस्पर्धा थप तीव्र हुने अपेक्षा गरिएको छ । भारत अहिले कैयौँ चिनियाँ लगानी धमाधम अनुमोदन गरिरहेको छ । उसले चिनियाँ लगानी आकर्षित गर्नकै लागि चिनियाँ व्यवसाय र कार्यकारीहरूलाई द्रुत भिसासहितका छुटसमेत प्रदान गर्न थालेको छ । भारतको ‘मार्ग परिवर्तन’ चीनको स्वार्थसँग मिल्न जान्छ । चीनले आर्थिक मन्दी सामना गर्दा त्यहाँका व्यवसायीहरूले भारतको द्रुत रूपमा बढिरहेको बजारमा चासो दिन थालेका छन् ।

भारत यस दशकको अन्त्यसम्ममा विश्वको तेस्रो ठुलो अर्थतन्त्र बन्ने अनुमान गरिएको छ । भारतसँग लेनदेन बढाएर चीनले आफ्नो भूराजनीतिक वृद्धिलाई नियन्त्रण गर्ने अमेरिकी प्रयासविरुद्ध एक प्रमुख ‘बफर’ हासिल गर्नेछ । यसबाहेक, विश्वको ध्यान अमेरिका र चीनबिचको बढ्दो भन्सार युद्धमा केन्द्रित भए पनि भारतले अमेरिकाबाट आफ्नै कठिनाइ भोगिरहेको छ । भारतलाई बारम्बार ‘भन्सारको ठुलो दुरुपयोगकर्ता’को आरोप लगाउने गरेका ट्रम्पले आफ्नो पहिलो कार्यकालमा भारतले पाएको ‘प्राथमिक व्यापारको हैसियत’ खारेज गरिदिएका छन् । योसँगै भारतमाथि थप दण्डात्मक कदमको सम्भावना बढेको छ ।

उसो त अमेरिकाले ‘प्रमुख रक्षा साझेदार’ घोषणा गरेका भारतले चीनसँगको घनिष्ठ सम्बन्धका लागि अमेरिकासँगको रणनीतिक सम्बन्ध त्याग्ने सम्भावना कम छ । तर, ‘ग्लोबल साउथ’का अन्य उदीयमान शक्तिहरूजस्तै भारत पनि अमेरिका नेतृत्वको उदार अन्तर्राष्ट्रिय व्यवस्थामा अन्तरनिहित भेदभाव र डलरको प्रभुत्वबाट निराश छ । अमेरिकाले समय–समयमा अल्पसंख्यकहरूप्रति भारत सरकारको व्यवहार ठिक नभएको भनेर आलोचना गर्दा यो विषयले झन् प्रधानता पाउँछ । देशभित्र लोकतान्त्रिक संस्थालाई कमजोर बनाएको र मिडियामाथि कठोर नियन्त्रण कायम गरेको मोदी सरकार कुनै पनि अन्तर्राष्ट्रिय आलोचनाले रुष्ट हुने गर्छ ।

सौभाग्यवश, ट्रम्पको शासनकालमा मोदीले यी विषयमा तनाव झेल्नेछैनन् । आखिर, ट्रम्पले रुससँगको भारतको घनिष्टता, नयाँदिल्लीको मुस्लिमविरोधी नीति वा लोकतन्त्रको क्षयजस्ता विषयको विरोध गर्ने सम्भावना कमै छ । तैपनि, मोदीले भारतलाई हिन्दु राज्यका रूपमा बदल्ने प्रयास तीव्र पार्दै जाँदा, उनले अमेरिकासँगको वार्तामा आफूसँग (चीनका रूपमा) विकल्प खुला रहेको दाबी गर्न सक्छन् । त्यस अर्थमा, चीनप्रति भारतको बढ्दो नरमपनलाई ट्रम्पसँग सौदाबाजी गर्ने भूराजनीतिक चालको रूपमा पनि हेर्न सकिन्छ ।

(हङकङमा पत्रकारिता गरिरहेका चौधरीले मानव अधिकार प्रेस पुरस्कारलगायत धेरै अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् ।)
– प्रोजेक्ट सिन्डिकेटबाट

सुझावित समाचार