भारतले सन् २०४७ सम्ममा एक सय गिगावाट आणविक ऊर्जा विकास गर्ने

आइतबार, २० माघ, २०८१
डिजिटल संस्करण

भारत सरकारले सन् २०४७ सम्म कम्तीमा एक सय गिगावाट आणविक ऊर्जा विकास गर्ने जनाएको छ। अर्थमन्त्री निर्मला सीतारमणले सन् २०२५–२०२६ को लागि देशको वार्षिक बजेट प्रस्तुत गर्ने क्रममा उक्त घोषणा गरेकी हुन्। 

‘साना मोड्युलर रिएक्टर (एसएमआरएस) को अनुसन्धान र विकासको लागि २.३ अर्ब अमेरिकी डलर खर्च गरिनेछ,’ सीतारामनले भनिन्। एसएमआरएस उन्नत आणविक रिएक्टरहरू हुन्, जसको पावर क्षमता ३०० एमडब्लुप्रति एकाइ हुन्छ। यो परम्परागत आणविक ऊर्जा रिएक्टरहरूको उत्पादन क्षमताको लगभग एकतिहाइ हो। ‘कम्तीमा पाँच स्वदेशी एसएमआरएस सन् २०३३ सम्म सञ्चालन हुनेछ।’ 

मन्त्रीले सन् २०४७ सम्ममा कम्तीमा एक सय गिगावाट आणविक उर्जाको विकास भारतको ऊर्जा संक्रमण प्रयासहरूको लागि आवश्यक रहेको प्रकाश पारिन्। ‘उक्त लक्ष्य प्राप्त गर्न आणविक ऊर्जा ऐन र आणविक क्षतिको लागि नागरिक दायित्व ऐन परिमार्जन गरिनेछ,’ उनले भनिन्। 

गत वर्ष, भारत सरकारले देशमा कुल १५ हजार ३०० मेगावाट क्षमताका २१ आणविक रिएक्टर रहेको बताएको थियो।

सुझावित समाचार