गाजा युद्धविरामः शनिबार तीन इजरायली बन्धक रिहा, बदलामा १८० प्यालेस्टिनी बन्दी रिहा

शनिबार, १९ माघ, २०८१
डिजिटल संस्करण

हमासका लडाकु समूहले युद्धग्रस्त गाजापट्टीमा करिब १६ महिना बन्धक बनाएका इजरायली बन्धक यार्डेन बिबास, ओफर काल्डेरोन र किथ सिगेललाई शनिबार रिहा गरेको छ। युद्धविराम सम्झौताअनुसार इजरायलले बन्धक रिहाइको बदलामा १८० जनाभन्दा धेरै प्यालेस्टिनी बन्दीहरूलाई पनि छोडेको छ।

इजरायलले शनिबार छाड्नेमा एक सयभन्दा बढी प्यालेस्टिनी बन्दीहरू गाजाका छन् र ७० जनाभन्दा बढी लामो अवधिको सजाय वा आजीवन कारावास सजाय तोकिएका व्यक्ति हुन्।

इजरायल र प्यालेस्टिनी इस्लामिक समूह हमासबिच १९ जनवरीदेखि लागू भएको युद्धविराम र बन्धक-बन्दी आदानप्रदान सम्झौताअन्तर्गत मुक्त हुने बन्धकहरूको यो चौथो समूह हो। 

प्यालेस्टिनी समूह हमासले दक्षिणी गाजाको खान युनिसबाट रेडक्रसलाई बुझाइएका ३४ वर्षीय यार्देन बिबास र फ्रान्सको समेत नागरिकता भएका ५३ वर्षीय ओफर काल्दरोन इजरायल आइपुगेको इजरायली सुरक्षा बल (आइडिएफ)ले जनाएको छ।

अर्का बन्धक ६५ वर्षीय किथ सिगललाई भने शनिबार नै गाजासिटीबाट मुक्त गरिएको थियो । उनको इजरायल र अमेरिकाको दोहोरो नागरिकता रहेको छ। उनीहरू १९ जनवरीमा इजरायल र हमासबिच युद्धविराम सम्झौता भएयता चौथो चरणमा छाडिने बन्धक हुन्।

यसैबिच, बिबासकी श्रीमती र दुई छोराहरूको बन्धक अवस्थामै गाजामा मृत्यु भएको भनिएको घटनाबारे इजरायलले मध्यस्थकर्ताबाट स्पष्ट जानकारी मागेको छ । बन्धक बनाइँदा बिबासका एक छोरा चार वर्षका र अर्का १० महिनाका थिए।

हमासले इजरायली हवाइ हमलामा परेर सन् २०२३ नोभेम्बरमा उनीहरूको मृत्यु भएको दाबी गरे पनि इजरायलले त्यसको अझै पुष्टि गरेको छैन।
 

सुझावित समाचार