मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ

शनिबार, १९ माघ, २०८१
डिजिटल संस्करण

मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

मकवानपुरको कैलाश गाउँपालिका १० घर भई हाल काठमाडौंको माकलबारी बस्ने २२ वर्षीय विजय थिङ र काठमाडौँको बौद्ध बस्ने २८ वर्षीय चलान सिंह थिङलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पक्राउ गरेको हो।

वास्तविक नम्बर बागमती प्रदेश ०२–०२७ प ८३ ३४  रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०३–०३३ प ३ ५५३ राखेर काठमाडौंको चाबहिलमा चलाइरहेको अवस्था फेला पारी विजयलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। अनुसन्धानको क्रममा उक्त मोटरसाइकल चलान सिंहबाट विजयले लिएको भन्ने खुल्न आएपछि उनलाई समेत ट्राफिक प्रहरीले काठमाडौंको बौद्धबाट नियन्त्रणमा लिएको हो।

उक्त मोटरसाइकल अर्घाखाँची घर भएका आदर्श बेल्बासेले काठमाडौं महानगरपालिका ३२ पञ्चमुखीबाट हराएको  भनेर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए। नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। 

सवारीसाधन चोरीबाट जोगाउन सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक गर्न तथा सुरक्षा साइरनहरू जडान गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।  
 

सुझावित समाचार