त्रिभुवन विमानस्थल आजदेखि १६ घण्टा खुल्ने, १५ प्रतिशत उडान बढ्ने

वार्षिक एक करोड यात्रुलाई सेवा दिन सक्ने गरी धमाधम स्तरोन्नति

शनिबार, १९ माघ, २०८१
डिजिटल संस्करण
त्रिभुवन विमानस्थल आजदेखि १६ घण्टा खुल्ने, १५ प्रतिशत उडान बढ्ने

रातको समयमा त्रिभुवन विमानस्थल विस्तारको काम गर्दै ।

स्तरोन्नतिका लागि दैनिक १४ घण्टा मात्र सञ्चालन हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि १६ घण्टा सञ्चालनमा आउने भएको छ । धावनमार्गबाट ७५ मिटरभित्र पर्ने संरचना निर्माण कार्य सकिएकाले विमानस्थल सञ्चालन अवधि बढाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

‘शनिबारदेखि आठ घण्टा (राति ११ बजेदेखि बिहान ७ बजेसम्म) मात्र बन्द गरेर स्तरोन्नतिको काम गरिनेछ’ प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले भने । २३ कात्तिकदेखि दैनिक १० घण्टा (राति १० बजेदेखि बिहान ८ बजेसम्म) विमानस्थल बन्द गरेरै स्तरोन्नतिको काम हुँदै आएकोमा अहिले सञ्चालन अवधि बढाइएको हो ।

प्राधिकरणका अनुसार विमानस्थलमा ट्याक्सी वे, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जहाज पार्किङस्थल, ह्यांगरलगायतका पूर्वाधार निर्माण भइरहेको छ । स्तरोन्नतिका कारण त्रिभुवन विमानस्थलबाट राति १० बजेदेखि बिहान ८ बजेसम्म हुने उडानहरू अगाडि–पछाडि सारिएको छ भने ३३ प्रतिशत उडान कटौती गरेर भैरहवा डाइभर्ट गरिएको छ ।

धावनमार्गबाट ७५ मिटरभित्र पर्ने संरचनाको काम भने आगामी १८ चैतभित्र सक्ने लक्ष्य राखिएको छ । हालसम्म करिब ४० प्रतिशत काम सकिएको प्राधिकरणले जनाएको छ ।

विमानस्थलको पूर्वतर्फ सेना, वायुसेवा निगम, यती एयरलाइन्स, सौर्य एयरलाइन्सलगायतका लागि ह्यांगर निर्माण भइरहेको छ । पहिलो चरणको काम सकिएपछि वार्षिक एक करोड यात्रुलाई सेवा दिने पूर्वाधार तयार हुने  विमानस्थलमा क्षमता अभिवृद्धि परियोजनाले जनाएको छ ।

उडान थप्न वायुसेवा कम्पनीको माग
विमानस्थलमा दुई घण्टा उडान अवधि थपिएपछि करिब १५ प्रतिशत उडान थपिने प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए । ‘बिहानको एक घण्टा आन्तरिक र बेलुकाको एक घण्टा अन्तर्राष्ट्रिय वायुसेवाका लागि खुला गरेको जस्तै भएको छ,’ उनले भने, ‘दुई घण्टा अवधि थपिँदा आन्तरिक ५ प्रतिशत र अन्तर्राष्ट्रिय १० प्रतिशत हाराहारी उडान थपिने अनुमान गरिएको छ ।’

विमानस्थल १४ घण्टा मात्र सञ्चालन हुँदा दैनिक औसतमा २२० आन्तरिक उडान–अवतरण र ७८ वटा अन्तर्राष्ट्रिय उडान–अवतरण हुँदै आइरहेको छ । अब दुई घण्टा उडान अवधि थपिँदा आन्तरिक उडान २९० र अन्तर्राष्ट्रिय उडान करिब सयको संख्यामा पुग्ने सहप्रवक्ता भुलले जानकारी दिए । दुई घण्टा अवधि थपिएपछि वायुसेवा कम्पनीहरूले पनि उडान रि–सेड्युल गर्दै छन् । अगाडि र पछाडि धकेलिएका उडानहरू पहिलेकै समयमा सार्न प्राधिकरणलाई आग्रह गरेका छन् । ‘वायुसेवा कम्पनीहरूले उडान माग गरेपछि हामीले अनुमति दिने हो, उनीहरूले रि–सेड्युल गर्दै छन्, अब उडानहरू थपिँदै जान्छन्,’ भुलले भने ।

विमानस्थल विस्तारमा ४०% प्रगति भएको छ  : ज्ञानेन्द्र भुल, सहायक प्रवक्ता, नागरिक उड्डयन प्राधिकरण
२३ कात्तिकदेखि दैनिक १० घण्टा विमानस्थल बन्द गरेरै स्तरोन्नतिको काम हुँदै आएकोमा शनिबारदेखि आठ घण्टा (राति ११ बजेदेखि बिहान ७ बजेसम्म) मात्र बन्द गरेर स्तरोन्नतिको काम गरिनेछ । स्तरोन्नतिका कारण केही उडान अगाडि–पछाडि सारिएको छ भने ३३ प्रतिशत कटौती गरेर भैरहवा डाइभर्ट गरिएको छ ।

सुझावित समाचार