नेपाल पहिलो खेलमै नेदरल्यान्ड्ससँग पराजित

बिहिबार, १७ माघ, २०८१
डिजिटल संस्करण
नेपाल पहिलो खेलमै नेदरल्यान्ड्ससँग पराजित

तस्बिर : क्यान

रुविन रिकेको अर्धशतकप्रेरित नेदरल्यान्ड्सले त्रिदेशीय टी–२० सिरिजको पहिलो खेलमा घरेलु टोली नेपाललाई २० रनले पराजित गरेको छ । 

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १५८ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा नेपालले २० ओभरमा सात विकेट गुमाउँदा मात्र १३७ रन बनायो । 

नेपाल र नेदरल्यान्ड्सबिच पहिलोपटक खेल भएको हो । सिरिजमा थाइल्यान्ड पनि सहभागी छ । नेपालले दोस्रो खेल शनिबार थाइल्यान्डसँग खेल्नेछ ।

नेपालका लागि ओपनर सीता रानामगरले ४५ बलमा तीन चौकासहित सर्वाधिक २८ रन बनाइन् । कविता जोशीले १७ बलमा एक चौका र दुई छक्कासहित २७ रनको योगदान गरिन् । 

छैटौैँ नम्बरमा क्रिजमा पुगेकी पूजा महताेले आक्रामक ब्याटिङ गर्दै २४ रन बनाइन् । यू–१९ टिमकी कप्तानसमेत रहेकी पूजाले १४ बलमा समान दुई चौका र छक्का प्रहार गरिन् । 

सीताबाहेक नेपालको माथिल्लो क्रम ब्याटिङ चल्नै सकेन । ओपनर सम्झना खड्काले ११ बलमा एक चौकासहित जम्मा नाै रन बनाइन् । कप्तान इन्दु बर्मा पनि १० बलमा सात रन बनाएर पेभेलियन फर्किएपछि नेपाल दबाबमा आयो । कविता कुँवरले आठ र पूर्वकप्तान रुविना क्षेत्रीले जम्मा ११ रन बनाइन् । 

नेदरल्यान्ड्सका लागि कारोलाइन डी लिन्गे र इभा लेन्चले समान दुई विकेट लिए । आइसिर ज्वालिङ र फ्रेडेरिको ओभरडाइजले समान एक विकेट हात पारेका हुन् ।  

यसअघि पहिलो इनिङ्समा नेदरल्यान्ड्सका लागि चौथो नम्बरमा क्रिजमा पुगेकी रुविन रिकेले ४८ बलमा आठ चौकासहित अविजित सर्वाधिक ५९ रन बनाइन् । आइरिस ज्वाइलिङले १३ बलमा ३१ रनको अविजित योगदान गरिन् । रुविन र आइरिसबिच पनि पाँचौँ विकेटका लागि अविजित ४७ रनको साझेदारी भएपछि नेदरल्यान्ड्स ठुलो स्कोर बनाउन सफल भयो । 

त्यस्तै, स्टेर कालिसले ३५ बलमा चार चौकासहित २९ रनको योगदान गरिन् । हेथर सिगेर्सले २३ रन बनाएकी हुन् । अन्य खेलाडीले ठुलो स्कोर बनाउन सकेनन् । 

नेदरल्यान्ड्सका लागि रुविन र सिगेर्सले चौथो विकेटका लागि ३४ बलमा सर्वाधिक ५४ रनको साझेदारी गरेका थिए । रुविन र कालिसले तेस्रो विकेटका लागि ५१ बलमा ४७ रनको दोस्रो ठुलो साझेदारी गरेका हुन् । 

यसअघि ओपनर फेबे मोइकेनबोइरलाई दुई बल खेल्दा कविता कुँवरले एलबिडब्लू धरापमा पारिन् । पूजा महतोले ६ बलमा पाँच रन बनाएकी कप्तान बाबेट डे लिडेलाई आउट गरेपछि १.६ ओभरमा नाै रन जोड्दा नेदरल्यान्ड्सले जम्मा नाै रन जोड्यो । 

नेपालका लागि कविता र पूजासँगै ईश्वरी विष्ट र सीता रानामगरले समान एक विकेट हात पारे । रविना क्षेत्री, इन्दु बर्मा र कविता जोशी भने विकेटविहीन रहे ।

सुझावित समाचार