सिञ्चित नहुने जमिनमा सिँचाइ सुविधा पुर्याउन एक दशक अघिदेखि नजिकको नदी–खोलाको पानी सोलार प्रणालीबाट लिफ्ट गरी सिँचाइ गर्ने योजना ल्याइएको छ । संघीयतापछि पहिलो स्थानीय तहले गैरसरकारी संस्थासँगको साझेदारीमा सोलार प्रणालीमार्फत लिफ्ट सिँचाइ आयोजना निर्माण भए । विशेषगरी तिला, तातोपानी र हिमा गाउँपालिकामा यस्ता आयोजना निर्माण भएका हुन् ।
तिलामा चारवटा, हिमामा चारवटा र तातोपानीमा आठ गरी १६ वटा लिफ्ट सिँचाइका आयोजना निर्माण भएका छन् । प्रतिआयोजनामा कम्तीमा ५० लाख खर्च गरिएका यस्ता आयोजनामा कम्तीमा आठ करोड बजेट खर्च भएको छ । तर, अहिले चारवटा आयोजना मात्रै सञ्चालनमा रहेका छन् । १२ वटा लिफ्ट सिँचाइका आयोजना लथालिंग अवस्थामा छन् । तर, अध्ययन नै नगरी निर्माण गरिएका सोलार प्रणालीमार्फत पानी तान्ने सिँचाइ आयोजना असफल भएपछि विद्युतीय प्रणालीमार्फत सञ्चालित लिफ्ट सिँचाइ आयोजना निर्माण भएका छन् ।
तातोपानी गाउँपालिका– ६ धौलापानीमा विद्युतीय प्रणालीमार्फत सञ्चालन हुने लिफ्ट सिँचाइ आयोजना निर्माण भएको छ । वडाध्यक्ष विशाल खड्काले भने, ‘सिँचाइ सुविधाको अभावले हाम्रो धेरै खेतीयोग्य जमिन बाँझो छ । सुक्खा क्षेत्रका सिँचाइ सुविधा पुर्याउन लिफ्ट सिँचाइ आयोजनाले टेवा पुर्याउनेछ । पाखो बारीमा पनि खेतीपाती हुनेछ । आयोजनाको दिगो व्यवस्थापन, संक्षरण, सञ्चालनमा सबैले ध्यान दिन जरुरी छ ।’
विद्युतीय प्रणालीमार्फत सञ्चालन हुने लिफ्ट सिँचाइ आयोजना ५७ लाख ६१ हजार २३२ रूपैयाँ लगानीमा निर्माण भएको हो । तातोपानी गाउँपालिकाको तीन लाख ५२ हजार ४७१ रुपैयाँ लगानी छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ५४ लाख आठ हजार ७४१ रुपैयाँ लगानी भएको छ ।
२५ किलोवाटको मोटर जडान गरिएको छ । हाल जाल्पादेवी विद्युत् आयोजनाबाट १० किलोवाट विद्युतबाट लिफ्ट सिँचाइ आयोजना सञ्चालन गरिएको छ ।
त्यस्तै इलेक्ट्राेनिक सामग्रीतर्फ विद्युत् लाइन जडान, मोटर, पम्पलगायतका सामग्री खरिदमा २२ लाख ४७ हजार ६२६ रुपैयाँ र सिभिल संरचना निर्माणमा ३५ लाख १३ हजार ६०५ रुपैयाँ खर्च भएको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका सिभिल ओभरसियर लोकबहादुर डाँगीले बताए ।
उनका अनुसार उक्त लिफ्ट सिँचाइ आयोजनाबाट तातोपानी– ६ को पाँच हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । आयोजनाबाट ३५ घरधुरीका १४५ जनसंख्या प्रत्यक्ष लाभान्वित भएका छन् ।
योजना निर्माण ०८० चैत २२ गतेबाट सुरु भई ०८१ असार २५ गते सम्पन्न हुनुपर्ने भए पनि केही प्राविधिक कारणले ढिलाइ भएको हो ।
यस्तै, तातोपानी गाउँपालिका– १, गुठीचौर गाउँपालिका– ४ र चन्दननाथ नगरपालिका– १० गैरागाउँमा पनि विद्युतीय प्रणालीमार्फत लिफ्ट सिँचाइ आयोजना निर्माण गर्न थालिएको छ ।
यहाँको कुल क्षेत्रफल दुई लाख ५३ हजार एक सय हेक्टरमध्ये ३९ हजार चार सय ८६ हेक्टर जमिन खेतीयोग्य छ । खेतीयोग्य भूमिमा पनि सिञ्चित तीन हजार तीन सय ६४ हेक्टर र असिञ्चित (पाखो) २३ हजार ७१ हेक्टर रहेको कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जनाएको छ ।
तर, अहिले २६ हजार ४३५ हेक्टरमा मात्रै खेती भएको छ । जिल्लामा खतीका लागि सिँचाइ सुविधा पुगेकोभन्दा नहुने जमिन धेरै छ । सिँचाइ नहुने जमिनमा विशेषगरी कोदो, मकै, जौ, गहुँ, फापर, आलु, सिमी, चिनो र फलफूलतर्फ स्याउ, ओखर लगाइँदै आएको छ ।