दिल्लीमा केजरिवाललाई पछार्न अझै सहज छैन भाजपालाई

बुधबार, १६ माघ, २०८१
डिजिटल संस्करण

आगामी दिल्ली विधानसभा चुनावमा दुई यस्ता शक्ति प्रतिस्पर्धा गर्दैछन्, जो हार्न मन पराउँदैनन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ‘भारतीय जनता पार्टी (भाजपा)’ दिल्लीमा अरविन्द केजरिवालको ‘आम आदमी पार्टी (आप)’बाट लगातार तेस्रोपटक पराजित हुन चाहँदैन । त्यस्तै केजरिवाललाई थाहा छ कि यदि मोदीले उनलाई आफ्नै किल्लामा हराए भने यो उनको राजनीतिक करियरको अन्त्यको सुरुवात हुनेछ । दुवै नेताका लागि दिल्लीको विधानसभा चुनावमा जोखिम उच्च छ । मोदीको भाजपालाई दिल्ली विधानसभा चुनावमा केजरिवालले लगातार दुई पटक हराइसके । यस्तो हार भाजपालाई अरू कुनै राजनीतिज्ञले चखाएको छैन । राष्ट्रिय राजधानीको सत्ता भाजपाको पहुँचबाट बाहिर छ ।

केजरिवालले आफ्नो राजनीतिक करियर दिल्लीबाट सुरु गरेका थिए । राजधानीमा नै उनले पहिलोपटक चुनावी राजनीतिको प्रयोग गरेर देशलाई फरक किसिमको राजनीतिको सम्भावना देखाए । राष्ट्रिय मञ्चमा मोदीको उदय हुनुअघि नै केजरिवाल मिडिया र मध्यमवर्गका प्रिय थिए । सन् २०१५ को विधानसभा चुनावमा केजरिवालको नेतृत्वको आपले भाजपाको शक्तिशाली चुनावी मेसिनरीका बाबजुद जित हासिल ग¥यो, जुन कुनै चमत्कारभन्दा कम थिएन । भाजपाले ७० सिटमध्ये तीन सिट मात्र जित्न सक्यो । सन् २०२० मा जब मोदीले बदला लिन खोजे तर उनी फेरि हारे । केजरिवाल आफ्नो किल्लामा टिकिरहे ।

बदलिएका केजरिवाल
तर, सन् २०२० सम्म आईपुग्दा केजरिवाल उस्तै रहेनन् । परिवर्तनकामी नेता धूर्त राजनीतिज्ञमा परिणत भएका थिए । मुख्यमन्त्रीको पदमा कायम रहुन उनको एक मात्र उद्देश्य भएझैं देखिन थाल्यो । पन्जाब राज्यमा विजय र गुजरातमा आंशिक सफलतापछि आम आदमी राष्ट्रिय पार्टी बनेको थियो । ऊ भाजपा र कंग्रेसपछि भारतको प्रमुख राजनीतिक शक्तिमध्ये एक बनेको हो । क्षेत्रीय दलमध्ये आम आदमी पार्टीको बाहेक कसैको दुई राज्यमा सरकार छैन ।

अझै, आगामी दिल्ली चुनाव आम आदमीका लागि सबैभन्दा कठिन लडाइँ हुने सम्भावना छ । १० वर्षभन्दा बढी समयदेखि शासन गरिरहेको पार्टीका मुख्य नेता केजरिवाललगायतविरुद्ध गम्भीर भ्रष्टाचारको आरोप छ । यस्तोमा दिल्लीमा हार भए भाजपा र कंग्रेसले लगाएको भ्रष्टाचारको आरोपमाथि जनअनुमोदन भएझैं हुनेछ । जनतामा भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने उनको वाचा प्रहसन र चुनाव जित्ने अवसरवादी औजार थियो भन्ने परेको मानिनेछ ।

केजरिवाल जमानत पाएर तिहाड जेलबाट रिहा भएपछि निरन्तर चुनावी चालमा व्यस्त देखिन्छन् । सुरुका उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएर आफ्नो स्थानमा अतिशीलाई नियुक्त गरे । त्यसपछि उनी विवादित बनेको मुख्यमन्त्रीको बंगलाबाट बाहिरिए । भ्रष्टाचारको आरोपबाट आफूलाई टाढा राख्ने र जनताको नजरमा आफूलाई पीडितको रूपमा प्रस्तुत गर्ने उनको यो प्रयास थियो ।

उनले यसअघि जनताको अदालतमा सफाइ पाएपछि मात्रै मुख्यमन्त्रीमा फर्किने बताएका थिए । त्यसपछि उनले जनसम्पर्क कार्यक्रममा ध्यान केन्द्रित गरे । दिनहुँ मानिसलाई भेट्ने र घर–दैलो अभियान सञ्चालन गरे । उनले मतदातासँग प्रत्यक्ष सम्पर्कमा रहेर मोदी सरकारबाट आफू पीडित भएको र आफूमाथि लगाइएका भ्रष्टाचारको आरोप निराधार र षड्यन्त्र मात्र भएको सन्देश दिइरहेका छन् ।

केजरिवालले चुनावको मुखमा कैयौ वाचा गरेका छन् । उनले महिला मतदाताका लागि दुई हजार एक सय र ६० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारलगायत आकर्षक निःशुल्क प्याकेज ल्याएका छन् । भाजपाको हिन्दुत्व भाष्यको विरोध गर्न उनले आफू विजयी भएमा आफ्नो सरकारले हिन्दु पुजारी र सिख ग्रन्थीलाई मासिक तलब १८ हजार रुपैयाँ दिने वाचा गरेका छन् ।

‘द इन्डियन एक्सप्रेस’को समाचारअनुसार सहरी मतदाताको समर्थन जित्न फेब्रुअरी ५ को चुनावमा उनको पार्टी सत्तामा फर्किएमा सरकारले निजी गार्डहरू भाडामा लिन आवासीय कल्याण संघहरू (आरडब्लुएस) लाई रकम उपलब्ध गराउने उनले प्रतिबद्धता जनाएका छन् । केजरिवालले विगतमा निःशुल्क बिजुली र पानी वितरणको प्रतिज्ञा पुरा गरेर  बलियो रेकर्ड बनाएका छन् । जुन २०२० को विधानसभा चुनावमा आम आदमी पार्टीको उल्लेखनीय विजयको प्रमुख कारक बनेको छ । मोदीको गुजरात मोडेलजस्तै आम आदमीले शिक्षा र स्वास्थ्य सेवाको दिल्ली मोडेललाई बढावा दिइरहेको छ । तर, केजरिवाललाई थाहा छ कि राजनीतिमा १० वर्षको अवधि लामो समय हो र पुराना वाचा सत्तामा रहिरहनका लागि अपर्याप्त हुनेछन् । आफ्नो विद्यमान सामाजिक आधारलाई कायम राख्दै नयाँ मतदातालाई आकर्षित गर्न नयाँ वाचा आवश्यक छ । त्यस सन्दर्भमा निः शुल्क नवीनतम वाचा बुझ्नुपर्छ ।

द्विपक्षीय प्रतिस्पर्धा 
उता भाजपाले पनि आफ्ना विगतका गल्तीबाट पाठ सिकेको छैन । सन् १९९३ मा भाजापाले मदनलाल खुरानाको बलियो नेतृत्वको लाभ उठायो । पछि शिला दीक्षितको नेतृत्वमा कंग्रेस लगातार सरकार गठन गर्न सफल भयो । मदनलाल खुराना र साहिब सिंह बर्माको मृत्युपछि भाजपाले दिल्लीमा केजरिवालजस्तो कद वा करिस्मा भएको नेता उत्पादन गर्न सकेको छैन ।

कंग्रेसले यो निर्वाचनलाई त्रिकोणात्मक बनाउने प्रयास गरिरहेको छ । तर, पछिल्ला तीन चुनावमा उसको प्रदर्शन उत्साहप्रद रहेन । यसअघि सन् २०२० मा पार्टीले ४.२६ प्रतिशत मात्र मत पाएको थियो, यद्यपि संसदीय चुनावमा यसको प्रदर्शन राम्रो छ । के कंग्रेसले दिल्लीका मतदाता र राजनीतिक पण्डितलाई चकित पार्न सक्छ ? अति–आत्मविश्वासी पर्यवेक्षक पनि दिल्ली विधानसभाको चुनावको परिणामबारे भविष्यवाणी गर्ने जोखिम लिन अनकनाईरहेका छन् ।

(आशुतोष ‘हिन्दु राष्ट्र’ पुस्तकका लेखक तथा सत्य हिन्दी डटकमका सह–संस्थापक हुन् ।)
– एनडिटिभीबाट

सुझावित समाचार