बाँदरले सखाप बनायो बाली, किसान चिन्तित

मंगलबार, १५ माघ, २०८१
डिजिटल संस्करण

बाँदरले खेतबारीमा लगाएको तरकारी बाली खान थालेपछि शुक्लाफाँटा नगरपालिका- ८ बेलडाँडीका किसान चिन्तित भएका छन् । बाँदर धपाउन स्थानीय किसानले दिनभर खेतबारीमा पहरा दिए पनि रातिको समयमा बाली नष्ट गर्न थालेपछि किसान चिन्तित भएका हुन् ।

बेलडाँडी क्षेत्रका अधिकांश किसानले तरकारीखेती गर्दै आएका छन् । ‘दिनमा खेतबारीमा बसेर बाँदर धपाउँदै आएका छौँ,’ स्थानीय वीरबहादुर चौधरीले भने, ‘दिउँसो बारीमा पस्न नपाएका बाँदर राति लगाइएको सबै तरकारी बाली खाएर सखाप पार्न थालेका छन् ।’

बाँदरले मूला, आलु, सिमी, काउली, गोलभेँडा, मटरलगायत तरकारीमा बढी क्षति पुर्याएको उनले बताए । दुई कट्ठा जग्गाको तरकारी बाँदरले खाएको उनले जानकारी दिए ।

तरकारीखेती गर्दा जोताइ, बिउविजन, गोडमेल, सिँचाइलगायतमा लागेको खर्च पनि नउठ्ने अवस्था आएको तेजबहादुर चौधरीले बताए। ‘तरकारी बेच्नका लागि तयार हुँदै गरेका वेला बाँदरको हुल बारीमा पसेर पूरै खाइदिन थालेपछि मार्कामा परेका छौँ,’ उनले भने, ‘पहिले दिउँसो मात्रै दुःख दिन्थे । अहिले राति खेतबारीमा पस्न थालेपछि पालैपालो पहरा दिनुपर्ने अवस्था सिर्जना भएको छ ।’ उनका अनुसार हालसम्म आठजना किसानको झन्डै एक बिघा जग्गाको तरकारी बाली बाँदरले सखाप पारेको छ ।

समूहमा आएका बाँदरले बारीको तरकारी मात्रै नभएर घरभित्रको पिठो, चामल, धान, गहुँलगायत अन्न खाइदिन थालेका चन्द्रप्रसाद चौधरीले उल्लेख गरे । बाँदर नियन्त्रणका लागि सम्बन्धित निकायसँग आग्रह गरिएको उनले बताए । सात सयभन्दा बढीको संख्यामा बाँदर रहेका भन्दै समूहमा बस्ती पस्ने गरेका उनले जानकारी दिए ।

गाउँनजिकैका रुखमा बस्ने बाँदरले रातभरि कराउने गरेकाले सुत्न नसकिने, अन्नबाली नष्ट गर्नेलगायत समस्या रहेको स्थानीय बच्चु चौधरीले बताए। ‘पहिले पनि बाँदर बस्तीनजिक आउँथे,’ उनले भने, ‘होहल्ला गरेर भगाउँदा बारीमा पस्दैनथे, संख्यामा थोरै हुन्थे, अहिले संख्या निकै बढ्दा आतंक मच्चाउन थालेका छन् ।’

सुझावित समाचार