सहकारीपीडितको पैसा राज्यले परिपूरण गर्न सक्दैन : कांग्रेस प्रमुख सचेतक

सोमबार, १४ माघ, २०८१
डिजिटल संस्करण

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सहकारीमा डुबेको पैसा राज्यले परिपूरण गर्न नसक्ने बताएका छन्।

सोमबार बसेको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै घिमिरेले यस्तो बताएका हुन्। सहकारीको रकम अपचलन गर्नेहरूबाटै पीडितलाई परिपूरण दिने गरी सरकारले अध्यादेश ल्याएको पनि उनले प्रस्ट पारे।

‘सहकारीमा पैसा डुबेका व्यक्तिहरूको पैसा राज्यले परिपूरण गर्न गाह्रो छ। राज्यकोषमा त्यति सम्पत्ति छैन,’ उनले भने, ‘तर, जसले मास्यो, जसले खायो, जसले अपचलन गर्यो त्यसैबाट भराएर लिने भन्ने कुरा हो। त्यसैका लागि सहकारी ऐनमा संशोधन हुने गरी अध्यादेश आएको छ।’

प्रमुख सचेतक घिमिरेले सातबुँदे सहमतिअनुसार नै कांग्रेस–एमाले गठबन्धन यो संसद्को पूरा अवधि रहने दाबी गरे। ‘सरकार चेन्ज हुने कुनै सम्भावना छैन। यो कोलिसन संसद्को बाँकी अवधि पूरै चल्ने वाला छ। सातबुँदे सम्झौताअनुसार नै आफ्नो गतिमा अघि बढ्छ। त्यो सम्झौतालाई हुबहु कार्यान्वयन गर्दै त्यसैलाई मार्गनिर्देशक सिद्धान्तको रूपमा लिएर यो संसद् अवधिभर चल्छ।’
 

सुझावित समाचार