दोलखाको कालिञ्चोक गाउँपालिका–४ लामिडाँडास्थित हिलेपानी संस्कृत माध्यामिक विद्यालय स्वर्ण महोत्सवको तयारीमा जुटेको छ। विद्यालयले स्थापनाको ५० वर्ष पूरा गर्न लागेको अवसरमा विभिन्न कार्यक्रमका साथ पाँच दिनसम्म स्वर्ण महोत्सव मनाउन लागेको हो।
‘हामी सबैको ईच्छा : गुणस्तरीय, व्यवहारिक र प्रविधियुक्त शिक्षा’ भन्ने नाराका साथ विद्यालयले स्वर्ण महोत्सवको तयारी गरिरहेको छ। यही माघ १७ देखि २१ गतेसम्म विविध कार्यक्रमको आयोजना गरेर स्वर्ण महोत्सव मनाउन लागिएको प्रधानाध्यापक भीमकुमार पाण्डेले जानकारी दिए।
उनका अनुसार पहिलो दिन विविध साँस्कृतिक प्रस्तुतीहरुका साथ स्वर्ण महोत्सवको उद्घाटन हुनेछ। जिल्लाका संघीय सांसद गंगाकार्की ‘विश्व’ले कार्यक्रमको उद्घाटन गर्नेछन्। दोस्रो दिन जिल्लास्तरीय वतृत्वकला प्रतियोगिता, गाउँपालिकास्तरीय साँस्कृतिक नृत्य प्रतियोगिताको आयोजना गरिने छ।
त्यस्तै तेस्रो दिन गाउँपालिकास्तरीय हाजिरीजवाफ प्रतियोगिता, चौथो दिन गाउँपालिकास्तरीय छात्र भलिबल प्रतियोगिता हुनेछ भने पाँचौ दिन भलिबलको फाईनल खेलसहित सम्मान तथा पुरस्कार बितरणसँगै स्वर्ण महोत्सवको समापन गरिने विद्यालयले जनाएको छ।
सह–प्रधानाध्यापक डम्बरबहादुर थामीले सबै सरोकारवालाहरुको सहयोगमा विद्यालयले ५०औँ वर्ष पूरा गर्न लागेकाले शैक्षिक गुणस्तरलाई थप अभिबृद्धि गर्ने संकल्पका साथ स्वर्ण महोत्सव मनाउन लागिएको बताए। हिलेपानी माविमा अहिले विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायमा अध्यापन हुँदै आएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिराज घिमिरेले समस्या, चुनौतीहरुका बाबजुत विद्यालयले ५० वर्ष पूरा गर्नु खुसीको विषय भएको बताउँदै शैक्षिक गुणस्तर बढाउने प्रयास जारी रहेको बताए।
विद्यालयमा लामिडाँडा, लापिलाङ र बावरेका १७५ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने १९ जना शिक्षक÷कर्मचारी कार्यरत छन्। २०४८ सालदेखि एसएलसी परीक्षामा विद्यार्थी सामेल गराउँदै आएको यो विद्यालयले भौतिक पूर्वाधारको समस्या झेल्दै आएको छ। २४ सय वर्गमिटर क्षेत्रफलमा ८ कोठे र ६ कोठे पक्की भवन र ट्रस्टका दुई÷दुई कोठे ४ वटा भवनहरु छन्। साँघुरो क्षेत्रफल र भौतिक पूर्वाधार अभावका कारण विद्यालयले पठनपाठनमा समस्या झेल्दै आएको प्रअ पाण्डेले बताए।
०३१ सालमा स्थापना भएको हिलेपानी संस्कृत मावि जिल्लाको पुरानो शैक्षिक संस्थामध्यको एक हो। यो विद्यालय जिल्लाको संस्कृत विषय अध्यापन गराउने एक मात्र शैक्षिक संस्थाको रुपमा स्थापित थियो। द्वन्द्वकालमा हटाईएको संस्कृत विषय हाल विद्यार्थी अभावलगायतका कारण सुचारु हुन भने सकेको छैन।
विद्यालयलाई सहयोग जुट्दै
स्वर्ण महोत्सवको अबसरमा विद्यालयको शैक्षिक उन्नयनका लागि सहयोग प्रदान गर्न विद्यालयले सरोकारवालाहरुलाई आव्हान गरेको छ। जसअनुसार स्वर्ण महोत्वस सफल बनाउन आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको विद्यालयले जनाएको छ।
स्थानीय समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमी, समाजसेवी र अभिभावकहरुले विद्यालयलाई खुलेर आर्थिक सहयोग गरिरहेका छन्। आर्थिक एवं भौतिक सहयोग गर्ने व्यक्तिहरुको नामावली हिलेपानी स्वर्ण स्मारिकामा प्रकाशन हुने छ। दश हजार वा सोभन्दा बढी आर्थिक वा भौतिक सहयोग गर्ने व्यक्तित्वहरुको नामावली विद्यालयको स्वर्ण स्तम्भको शिलालेखमा उल्लेख हुने विद्यालयले जनाएको छ।