वरिष्ठ उपाध्यक्षसहित सात सदस्यले अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बोलाउन माग गरेका छन्। आइतबार सात सदस्यले आठ एजेन्डामा रहेर सामूहिक हस्ताक्षर गर्दै अध्यक्ष पंकजविक्रम नेम्वाङलाई पत्र लेखेका हुन्।
हस्ताक्षर गर्नेमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित दुई उपाध्यक्ष विराटजंग शाही तथा दीर्घबहादुर केसी छन्। सदस्यहरू रूपेश अधिकारी, रमेश व्यञ्जनकार, रविन्द्र चन्द र पेमा डोल्मा लामाले पनि हस्ताक्षर गरेका छन्।
उनीहरूको आठ एजेन्डामा सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारणसभाका लागि एन्फाको पत्राचार र तदर्थ कर्णाली प्रदेश फुटबल संघ सम्बन्ध, महिला लिग, महिला एकेडेमी, मिसन २०२७/२०३१ महिला फुटबल विकास रणनीति तथा जिम्मेवारी, सिस्नेरी घटना, घटनाको प्रतिवेदन र सिस्नेरी एन्फा एकेडेमी सञ्चालन, सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालन, खेलाडीलाई घोषणा गरिएको पुरस्कार वितरण, आन्तरिक लेखापरीक्षण प्रतिवेदन र अडिट रिपोर्ट, सहिद स्मारक ‘बी’ डिभिजन लिग र एन्फा प्रेसिडेन्ट लिग व्यवस्थापन, एन्फा महासचिवलगायत सचिवालय कर्मचारीको कार्यक्षमता मूल्यांकन तथा तलब, भत्ता, सेवा, सुविधाहरूको पुनर्मूल्यांकन सम्बन्ध समावेश छन्।
एन्फा विधानको धारा ३९ को व्यवस्थाअनुसार प्रत्येक वर्षमा चारपटक अनिवार्य रूपमा कार्यसमितिको बैठक बस्नुपर्ने प्रावधान छ। तर, लामो समयदेखि बैठक बस्न नसकेको सदस्य रुपेश अधिकारीले बताए। ‘छलफल गर्नुपर्ने धेरै विषय छन् । पछिल्लो समय मनोमानी ढंगले धेरै निर्णय भए, भएका निर्णय पनि कार्यान्वयन भएका छैनन्,’ सदस्य अधिकारीले भने, ‘कार्य सञ्चालन मनोमानी र विधानविपरीतका क्रियाकलाप भइरहेकाले बैठक बोलाउन माग गरेका हौँ।’
एन्फा विधानको धारा ३९ को उपधारा २ अनुसार कार्यसमितिका एकतिहाइ सदस्यले बैठक बोलाउन अनुरोध गरेपछि अध्यक्षले २१ दिनभित्र बैठक बोलाउनुपर्नेछ। यदि अध्यक्षले २१ दिनभित्र बैठक नबोलाए कार्यसमितिका अन्य सदस्यहरूले बैठक बोलाउन पाउने प्रावधान छ।
पछिल्लोपटक एन्फाको आपतकालीन कार्यसमिति बैठक २ साउनमा बसेको थियो। तर, असन्तुष्ट अधिकांश सदस्यले बैठक बहिष्कार गरेका थिए। नेम्वाङ अध्यक्ष चुनिएको दुई वर्ष भइसक्दा कुनै पनि बैठक विवादमुक्त हुन सकेको छैन। हरेक बैठकमा कार्यसमिति सदस्यबिच भनाभन हुँदै आएको छ। त्यस्तै, अध्यक्षले मनोमानी ढंगले बैठक सञ्चालन गरेको भन्दै बहुमत सदस्यले बैठक नै बहिष्कार गर्दै आएका छन्।