वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले गैँडा संरक्षणमा सबैजना लाग्न आग्रह गरेका छन्। गैँडा हेर्न विश्वका विभिन्न मुलुकहरूबाट चितवन आउने बताउँदै मन्त्री ठकुरीले गैँडा हेर्नकै लागि चितवनबाट आउने पर्यटकहरूको पहिलो रोजाइ बनेको बताए।
शनिबार चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले उक्त कुरा बताएका हुन्। कार्यालयमा उद्धार गरेर ल्याइएका ४ वटा गैँडाको अवस्थाको बारेमा जानकारी लिँदै उनले संरक्षढमा सबै क्षेत्रको सहभागिता आवश्यक रहेको बताए।
सरकारले हालै गैँडा संरक्षणका लागि भनेर १० वर्षे कार्ययोजना ल्याएको उल्लेख गर्दै मन्त्री ठकुरीले समुदायमा आधरित संरक्षणलाई आफूले जोड दिएको उल्लेख गरे। 'संरक्षण मन्त्रालय एक्लैको प्रयासले मात्रै नभएर समुदायको पनि पनि सक्रिय भूमिका हामीले खोजेका छौँ,' मन्त्री ठकुरीले भने,'संरक्षणका लागि सबैजनाको सहयोग आवश्यक छ।'
कोषको सौराहस्थित कार्यालयमा हाल एउटा पोथी र ३ वटा भाले गरेर चारवटा गैँडा रहेको कोषका चितवनस्थित कार्यालयका प्राविधिक किरण रिजालले जानकारी दिए। उनका अनुसार हाल कोषमा २९ महिनाको पोथी गैँडा र अन्य ३ वटा गैँडाहरूको उमेर १९ महिना र करिब डेढ वर्षको रहेको प्राविधिक रिजालले बताए। उनका अनुसार ती गैँडाहरूलाई विभिन्न समयमा उद्धार गरेर ल्याइएको हो।
कोषका अध्यक्ष समेत रहेका मन्त्री ठकुरीले गैँडा संरक्षण तथा समस्याग्रस्त वन्यजन्तुको उद्धारमा कोषले महत्त्वपूर्ण काम गरेको उल्लेख गरे।
सन् २०२१ को गैँडा गणनाअनुसार नेपालमा ७५२ वटा गैँडा रहेको गैँडाविज्ञ नरेश सुवेदीले बताए । कोषका सदस्यसचिवसमेत रहेका सुवेदीका अनुसार चितवनमा मात्रै ६९४ वटा गैँडा छन्। यस्तै बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा ३ वटा गैँडा रहेको सदस्यसचिव सुवेदीले जानकारी दिए।
यस्तै, मन्त्री ठकुरीले चितवन राष्ट्रिय निकुञ्जको सौराह सेक्टरपरिसरमा रहेको नेपालको पहिलो वन्यजन्तु अस्पतालको समेत अवलोकन गरेका थिए। यस्तै,सौराहमै अवस्थित वन्यजन्तु अखेटोपहार संग्रहालय अवलोकन गर्दै उनले आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता जनाए।