आइसिसीमा प्रभावशाली प्रदर्शन गर्ने शीर्ष १० खेलाडीमा रहेकी नेपालकी कप्तान पूजा महतोले समग्र विश्वकपमा नौ विकेट, ७० रन र पाँच क्याच लिइन्
नेपालले आइसिसी यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत प्ले अफ खेलमा आयोजक मलेसियालाई सात विकेटले हराउँदै यात्रा टुंग्याएको छ । विश्वकपमा पाकिस्तान १३ र नेपाल १४औँ स्थानमा रहेका छन् । मलेसियामा चलिरहेको विश्वकपमा नेपाल समूह ‘डी’मा चौथो स्थानमा रहँदा सुपर ६ मा पुग्न नसकेको हो । त्यसपछि १३–१६ स्थानका लागि भएको खेलमा नेपालले शुक्रबार मलेसियामाथि जित निकाल्दै आफ्नो यात्रा सुखद बनाएको हो ।
गत कात्तिकमा एसियन छनोटमा युएईलाई हराउँदै पहिलोपटक विश्वकपमा स्थान बनाएको नेपाल सुपर सिक्समा पुग्ने अनुमान गरिएको थियो । तर, आफूबराबरकै प्रतिद्वन्द्वी स्कटल्यान्डसँग एक विकेटले पराजित हुँदा नेपाल समूह चरणबाटै बाहिरिन पुग्यो । यद्यपि, नेपालले बलिङमा अस्ट्रेलिया र बंगलादेशलाई कडा चुनौती नदिएको होइन । पहिलो सहभागितामा नेपाली खेलाडीको कमजोर पक्ष ब्याटिङ देखियो । समूह चरणका तीन खेलमा स्तरीय ब्याटिङ गर्न नसक्दा नेपालले पहिलो ब्याटिङ र लक्ष्य पछ्याउँदाको इनिङ्समा सय रन पनि कटाउन सकेन ।
साथसाथै खेलाडीबिचको रनिङ विट विन द विकेट पनि असाध्यै कमजोर देखिएको थियो । बंगलादेशविरुद्धको खेलमा नेपालका आधाजसो खेलाडी रनआउट नै भए । तर, बलिङमा भने नेपाल उत्कृष्ट रह्यो । कप्तान पूजा महतो ब्याटिङ र बलिङमा अब्बल देखिइन् । प्रत्येक खेलमा नेपाल उनीमाथि नै निर्भर देखिन्थ्यो । चाहे त्यो ब्याटिङ वा बलिङ नै किन नहोस्, पूजाको प्रदर्शनमै नेपाल अड्कियो । यसै असाधारण प्रदर्शनका कारण पूजा आइसिसी विश्वकपको बलिङ र ब्याटिङ वरीयतामा स्थान बनाउन सफल भएकी छिन् । अझ बलिङमा उनी शीर्ष स्थानमै छिन् । आइसिसीले प्रतियोगिताअघि विश्वकपमा चम्कन सक्ने खेलाडीको सूचीमा पूजालाई समावेश गरेको थियो ।
सर्वाधिक विकेट लिने बलर
प्रतियोगितामा नेपालको बलियो पक्ष बलिङ रह्यो । यसको नेतृत्व कप्तान पूजाले गरिन् । मलेसियामा नेपालको यात्रा समाप्त भए पनि पूजा अहिलेसम्म सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा छिन् । उनले चार खेलमा नौ विकेट लिएकी छिन् । दोस्रो स्थानमा श्रीलंकन खेलाडी र तेस्रो स्थानमा स्कटल्यान्डकी मासेरा छन् । दुवैले समान ६ विकेट हात पारेका छन् । पूजाले चार इनिङ्समा १४.३ ओभर बलिङ गर्दै नौ विकेट हात पारेकी हुन् । उनको उत्कृष्ट प्रदर्शन नौ रन खर्चेर चार विकेट लिनु रह्यो ।
उनले यो प्रदर्शन मलेसियाविरुद्ध गरेकी हुन् । पूजाले समग्रमा ९.६६ स्ट्राइक रेटमा बलिङ गरेकी छिन् । उनलाई साबिक विजेता भारतकी वैष्णवी शर्माले पछ्याइरहेकी छिन् । वैष्णवीले दुई खेलमा ६ विकेट हात पारेकी छिन् । प्रतियोगितामा सर्वाधिक विकेट लिने सूचीको शीर्ष १० मा नेपालका रचना चौधरी र सिमाना केसी छन् । रचनाले चार खेलमा ६ विकेट हात पारेकी थिइन् । सिमानाले चारै खेलमा ६ विकेट लिइन् ।
धेरै रन बनाउनेमा सातौँ
बलिङमा मात्र नभएर पूजाले ब्याटिङमा समेत नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्न सफल भइन् । यसै कारण उनी प्रतियोगिताकै व्यक्तिगत धेरै रन बनाउने सूचीको सातौँ स्थानमा रहेकी छिन् । उनले चार खेलमा एकपटक नटआउट रहँदै ७० रन जोडेकी छिन् । चार खेलमा १३५ बल सामना गरेकी पूजाले सात चौका प्रहार गरेकी छिन् । विश्वकपमा इंग्ल्यान्डकी पेरिन ११० रनका साथ शीर्ष स्थानमा छिन् । उनले प्रतियोगितामा एक अर्धशतकीय इनिङ्स खेलेकी छिन् । श्रीलंकाकी सेनेथमा ८८ रनका साथ दोस्रो स्थानमा रहेकी छिन् ।
धेरै क्याच लिने दोस्रो खेलाडी
नेपालकी कप्तान पूजाले डेब्यु विश्वकपमै आफूलाई सहभागी अन्य राष्ट्रविरुद्ध अब्बल साबित गर्न सफल भइन् । बलिङ र ब्याटिङमा चम्केकी उनले फिल्डिङमा समेत प्रेरणादायी प्रदर्शन गरेकी थिइन् । प्रतियोगितामा धेरै क्याच लिने सूचीमा उनी दोस्रो स्थानमा छिन् । पूजाले चारै इनिङ्समा पाँच क्याच लिँदै विपक्षी खेलाडीलाई क्रिजबाट हटाइन् । उनले एक खेलमा दुई क्याच लिएकी थिइन् । धेरै क्याच लिने खेलाडीमा श्रीलंकाकी वेलागी सासिनी छिन् । उनले तीन खेलमा पाँच क्याच समातेकी छिन् । तर, उनले पूजाको तुलनामा एक खेल कम खेलेकी छिन् । नेपालकी सावित्रा धामीले तीन क्याच लिएकी छिन् ।
जितका साथ घर फर्कियो नेपाल
सुपर ६ को स्थान बनाउन नसकेको नेपाल एक जितका साथ घर फर्किएको छ । प्रतियोगिताको प्ले अफ खेलमा नेपालले आयोजक मलेसियामाथि सात विकेटको सानदार जित निकाल्यो । पहिलो ब्याटिङ गरेको मलेसिया १६.५ ओभरमा ४५ रनमै समेटियो । प्रत्युत्तरमा नेपालले ११ ओभरमा तीन विकेट गुमाएर ४७ रन बनायो । नेपालको जितमा कप्तान पूजाले अलराउन्ड प्रदर्शन गरिन् । उनले ब्याटिङमा ३२ बलमा २३ रन र बलिङमा नौ रन खर्चेर सर्वाधिक चार विकेट लिइन् । खेलमा उनी नै म्यान अफ दी म्याच भइन् ।
लक्ष्य पछ्याएको इनिङ्समा नेपालका अन्य खेलाडीले गतिलो ब्याटिङ गर्न सकेनन् । ओपनर साना प्रबिनले एक रन र सावित्रा धामीले तीन रन बनाए । ज्योत्सिना मरासिनीले सात रन बनाइन् । यसअघिको बलिङका क्रममा नेपालकी रचना चौधरीले तीन ओभरमा पाँच रन खर्चेर तीन विकेट लिइन् । मलेसियाको ब्याटिङमा नुरिमाले सर्वाधिक १५ रन जोडिन् । सो इनिङमा चार खेलाडीले रन नै बनाएनन् ।
नेपालले तेस्रो संस्करणको यू–१९ महिला विश्वकप आफ्नै घरेलु मैदानमा खेल्नेछ । आइसिसी यू–१९ महिला विश्वकपको अर्को संस्करण सन् २०२७ मा नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्ने घोषणा गरिसकेको छ । आइसिसीका पदाधिकारीले काठमाडौं र पोखराका मैदान परीक्षण गरिसकेका छन् ।