मोरङ बेलबारी नगरपालिका– ९ डाँगीहाट बजारका खवासदम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोडेका छन् । स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया बेचिरहेका दम्पतीले सम्पत्ति जोड्दै सन्तानलाई उच्च शिक्षासमेत हासिल गराए ।
चिया बेचेर चारजनाको परिवारको जीविका चलाउँदै आएकी स्वामकुमारी खवासका अनुसार व्यापारको टुंगाे त हुँदैन, तर औसतमा दैनिक अढाईदेखि तीन सय कप चिया बिक्री हुन्छ । हाल ३० लिटर दुधको चिया बिक्री हुन्छ । सबै खर्च कटाएर मासिक कम्तीमा ५० हजार आम्दानी हुन्छ । २५ वर्षअघि पसल सुरु गर्दा दुई रुपैयाँ कपको चिया अहिले मूल्य बढेर २० पुगेको छ । त्यसवेला प्रतिलिटर १३ मा किनेको दुध हाल ८० पर्छ, महँगी धेरै बढ्यो ।
स्वामकुमारीले भनिन्, ‘त्यस समयमा जमिन सस्तो थियो, त्यही भएर नाफाले अलिअलि गर्दै एक बिघा जमिन जोड्न सफल भयौँ । त्यसवेला चिया दुई किसिमको बनाउनुपर्थ्याे, ‘लोकल’ अनि ‘स्पेसल’ । लोकलमा पानी मिसाइन्थ्यो भने स्पेसल दुधको मात्रको हुन्थ्यो ’ त्यसवेला लोकल चिया प्रतिकप दुई र स्पेसल रु. तीन थियो । छोराछोरीलाई काखैमा राखेर चिया बेचिन्थ्यो, अहिले उनीहरू जवान भए । यही पसलको कमाइले छोराछोरी दुवैलाई उच्च माध्यमिक तहसम्म पढाएको स्वामकुमारीका श्रीमान् सर्गे खवास बताए ।
‘कुनै पनि व्यवसाय इमानदारीपूर्वक निरन्तर गरिरहने हो भने एक दिन अवश्य सफलता मिल्ने रहेछ,’ स्वामकुमारीले बताइन्, ‘त्यसवेला जंगल गएर दाउरा ल्याइन्थ्यो, दुई सयमा एक रिक्सा दाउरा आउँथ्यो, अहिले ग्यास चुलोको प्रयोग गर्छौँ ।’
स्थानीय नेता, समाजका अगुवा सबै चिया खान आउनुहुन्छ । समाजका हरेक सूचना पनि थाहा पाइन्छ । चिया पकाउँदा आम्दानी मात्र होइन, आदत नै बनिसक्यो खवासदम्पतीको । अझै शरीरले साथ दिइन्जेल चिया व्यापार गर्ने उनीहरू बताउँछन् ।
स्थानीय बवलिराम राजवंशी ७६ वर्ष पुगिसकेका छन् । उनी आधा घण्टा हिँड्दै उक्त पसलमा चिया पिउन आए । ‘वर्षौँदेखि उक्त होटेलमा चिया खाने बानी परेकाले बुढो भए पनि घरको चियाले धित मर्दैन,’ राजवंशीले बताए । बुबाकै पालादेखि डाँगीहाटमा चिया खाइरहेको छु । बुबाको जमानामा भारु पैसा चल्थ्यो, त्यसवेला दुईआना कप चिया रहेको याद छ । बुबासँगै आएर चिया खाने बानी परेको राजवंशीले बताए ।