रेलमा आगलागीको हल्लापछिको भागदौडमा चार नेपालीको पनि मृत्यु

शुक्रबार, ११ माघ, २०८१
डिजिटल संस्करण

भारतको महाराष्ट्रस्थित जलगाउँमा बुधबार साँझ रेलमा आगलागीको हल्ला भएपछिको भागदौडमा एकजना बालकसहित चार नेपालीको पनि मृत्यु भएको छ । घटनामा १३ जनाको मृत्यु भएको छ । चार नेपाली घाइते पनि छन् । 

भारतको उत्तरप्रदेशस्थित लखनउबाट मुम्बईतर्फ गएको पुष्पक एक्सप्रेस रेलमा आगलागी भएको हल्ला चलेपछि यात्रुहरू भाग्ने क्रममा विपरीत दिशातर्फबाट आएको कर्नाटक एक्सप्रेसमा ठोक्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा कुल १३ जनाको मृत्यु पुष्टि भएको छ । 

मृतक चारजना नेपालीको सनाखत भएको नेपाली राजदूतावासले बिहीबार पुष्टि गरेको छ । नेपाली राजदूतावासका काउन्सिलर सञ्जीव शर्मा दासका अनुसार नेपाली नागरिकहरू ४३ वर्षीया कमला भण्डारी, ४० वर्षीय लक्षीराम खत्रु पासी, ११ वर्षीय नन्दुराम विश्वकर्मा र ६० वर्षीया जाभाकला भाटको मृत्यु भएको छ । विश्वकर्मा कोशी प्रदेशका र भाट अछामकी रहेको पुष्टि भएको छ । 

‘परिवार घटनास्थलमा पुगिसकेको भन्ने जानकारी आएको छ । भारतीय प्रहरीले नजिकको सीमासम्म शव लैजाने व्यवस्था गर्ने जानकारी दिएको छ,’ काउन्सिलर दासले टेलिफोनमा नयाँ पत्रिकासँग भने । 

घटनामा घाइते भएकाहरूमा अछाम मंगलसेनका ३८ वर्षीय ह्युजला सावन्त र ८ वर्षीय धर्मबहादुर सावन्त छन् । यसैगरी, दैलेख दुल्लुका मञ्जु परियार र दुल्लुकै १८ वर्षीय दीपक थापा पनि घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ । घटनास्थल महाराष्ट्र प्रान्तको राजधानी मुम्बईबाट चार सय किलोमिटरको दूरीमा छ । 
 

See More On

सुझावित समाचार